अर्थतन्त्रको आकार ६६ खर्ब – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

अर्थतन्त्रको आकार ६६ खर्ब

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्‍मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।

आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताए ।

उनले प्रस्तुत गरेको आर्थिक  सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा खुम्चने प्रक्षेपण भइरहेका बेला नेपालको यो वृद्धि दरलाई सकारात्मक मानिएको छ ।

मुलुकको अर्थतन्त्रको कुल आकार ६६ खर्ब पुग्ने र नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । प्रदेशगत रूपमा वागमती र गण्डकी प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहे पनि अन्य प्रदेशको वृद्धिदर भने औसतभन्दा न्युन रहने देखिएको छ ।

अर्थमन्त्रीले संसद्‍मा पेस गरेको सर्वेक्षणअनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर–कृषि क्षेत्रको ७६ प्रतिशत रहने अनुमान छ । आर्थिक गतिविधिमा वागमती प्रदेशको दबदबा कायम छ, जसले कुल गार्हस्थ्य उत्पादनमा ३६.७ प्रतिशत योगदान पुर्‍याएको छ । यद्यपि, प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा भने ४.२० प्रतिशतले संकुचन आई ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको सर्वेक्षणले देखाएको छ ।

अर्थमन्त्री वाग्लेले सांसद्‍मा आर्थिक सर्वेक्षण पेस गर्दै चालु आर्थिक वर्षको फागुनसम्ममा संघीय राजस्व ३.२ प्रतिशतले वृद्धि भएको जानकारी दिए । उनका अनुसार सरकारी खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्च (विकास खर्च) मा भने उल्लेख्य सुधार हुन सकेको छैन । सरकारको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत हो । यसै वर्ष सरकारले ३ खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ ।

वाग्लेले सर्वेक्षण पेश गर्दै देशको बाह्य क्षेत्र निकै बलियो देखिएको बताए । उनका अनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब पुगेको छ । विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । यद्यपि, व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब पुग्नु अर्थतन्त्रको लागि चुनौती बनेको छ ।

आर्थिक सर्वेक्षण अनुसार प्रविधिमैत्री भुक्तानीमा उल्लेख्य प्रगति भएको छ । फागुन महिनासम्म क्यूआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब नाघेको छ । मुद्रास्फीति (महँगी) भने नियन्त्रणमै रहेको छ, जुन औसत २.१३ प्रतिशत छ ।

मानव विकासका सूचकहरूमा नेपालले प्रगति गरेको छ । मानव विकास सूचकांक ०.६२२ र नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ । स्वास्थ्य क्षेत्रमा मातृ मृत्युदर प्रति लाख १५१ र ५ वर्ष मुनिको बाल मृत्युदर प्रति हजार ३३ मा झरेको छ ।

शिक्षातर्फ आधारभूत तहको खुद भर्ना दर ९७.८ प्रतिशत पुगेको छ भने स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषमा नागरिकको आबद्धता बढ्दो क्रममा रहेको आर्थिक सर्वोक्षणमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

दुध किसानलाई १२ करोड भुक्तानी
दुध किसानलाई १२ करोड भुक्तानी
  • २०८३ जेष्ठ १३, १३: ३९

काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...

तोलामा एक हजारले घट्यो सुनको मूल्य
तोलामा एक हजारले घट्यो सुनको मूल्य
  • २०८३ जेष्ठ १३, १३: ३९

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...

कि प्रधानमन्त्रीलाई संसद्‍मा बोलाउनुपर्‍यो, नभए मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ
कि प्रधानमन्त्रीलाई संसद्‍मा बोलाउनुपर्‍यो, नभए मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ
  • २०८३ जेष्ठ १३, १३: ३९

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन् ।...