
काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा व्यक्त गरेको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल स्पष्टीकरण दिन माग गरेको छ।
कांग्रेसका प्रवक्ता देवराज चालीसेले आइतबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा ‘हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ’ भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसलाई गैरजिम्मेवार, आपत्तिजनक र राष्ट्रिय हितविपरीत भएको बताएका छन्।
कांग्रेसले देशको कार्यकारी प्रमुखले संसद्जस्तो गरिमामय मञ्चमा ऐतिहासिक तथ्य र प्रमाणबिना राष्ट्रिय स्वार्थ प्रतिकूल हुने अभिव्यक्ति दिनु अक्षम्य भएको उल्लेख गरेको छ। उक्त भनाइले राष्ट्रिय स्वाभिमान, कूटनीतिक विश्वसनीयता तथा सीमा सम्बन्धी नेपालको स्थापित अडानलाई कमजोर बनाएको दाबी गरिएको छ।
विज्ञप्तिमा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित ३७२ वर्ग किलोमिटर नेपाली भूमिमाथिको अतिक्रमणको विषयलाई सामान्य प्राविधिक सीमा विवादसँग जोडेर प्रस्तुत गर्नु गलत भएको उल्लेख गरिएको छ। कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाल–भारतबीच कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने सहमतिमा समेत असर पुर्याउने र नेपालको दाबी कमजोर बनाउने काम गरेको आरोप लगाएको छ।
त्यस्तै, प्रधानमन्त्री शाहले सीमा समस्याका विषयमा बेलायतसँग पनि कुरा भइरहेको दाबी गरेको प्रसंगलाई कांग्रेसले थप आपत्तिजनक र हास्यास्पद भनेको छ। स्थापित कूटनीतिक संयन्त्रलाई बेवास्ता गर्दै गरिएको यस्तो अभिव्यक्तिले नेपालको कूटनीतिक परिपक्वतामाथि नै प्रश्न उठाएको कांग्रेसको भनाइ छ।
कांग्रेसले प्रधानमन्त्रीको भनाइ सरकारको आधिकारिक धारणा हो, राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा हो वा प्रधानमन्त्रीको व्यक्तिगत विचार हो भन्ने विषय स्पष्ट पार्न माग गरेको छ। साथै प्रधानमन्त्री र सरकारले संसद् तथा आम नेपाली जनतासमक्ष अविलम्ब स्पष्टीकरण दिनुपर्ने जनाएको छ।
विज्ञप्तिमा कांग्रेसले ऐतिहासिक तथ्य, सन्धि तथा प्रमाणका आधारमा राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षा गर्दै सीमा समस्यालाई वार्ता र कूटनीतिक पहलमार्फत समाधान गर्न प्रतिबद्ध रहेको दोहोराएको छ।
प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिलाई राष्ट्रहितविरोधी र कूटनीतिक मर्यादाविपरीतको भन्दै कांग्रेसले त्यसप्रति खेद व्यक्त गर्दै घोर भर्त्सना गरेको छ।


काठमाडौं : प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न चर्चाबारे परराष्ट्र मन्त्रालयले...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका दुई वटा महत्वपूर्ण समिति र ब्युरोमा सह–संयोजक मनोनयन गरेका छन् । पार्टी...
काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । प्रतिनिधि सभाबाट...