खोटाङबाट मुम्बईसम्म : दीपेश कार्कीको छात्रवृत्तिदेखि फिनटेक सफलतासम्मको यात्रा – Naya Bikalpa
June 15, 2026, Monday      Epaper

खोटाङबाट मुम्बईसम्म : दीपेश कार्कीको छात्रवृत्तिदेखि फिनटेक सफलतासम्मको यात्रा

काठमाडौं : खोटाङको दुर्गम गाउँ हौचुरमा हुर्किएका दीपेश कार्की आज भारतको अग्रणी फिनटेक कम्पनी ‘लेन्देनक्लब’का सहसंस्थापकका रूपमा स्थापित छन्। भारत सरकारको कम्पेक्स छात्रवृत्तिमार्फत प्राप्त शैक्षिक अवसरले उनको जीवनको दिशा परिवर्तन मात्र गरेन, त्यही अनुभव र प्रेरणाले करोडौँ मानिसलाई वित्तीय पहुँच दिलाउने डिजिटल प्लेटफर्म निर्माण गर्नसमेत आधार तयार गर्‍यो।

हाल ३ करोडभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको लेन्देनक्लब विश्वका प्रमुख ‘पियर–टु–पियर लेन्डिङ’ प्लेटफर्ममध्ये एक मानिन्छ। नेपालस्थित भारतीय दूतावाससँग आफ्नो अनुभव साझा गर्दै कार्कीले छात्रवृत्ति, शिक्षा र उद्यमशीलताको यात्राबारे चर्चा गरेका छन्।

शिक्षक परिवारमा जन्मिएका कार्कीका बुवाआमा दुवै विद्यालयमा अध्यापन गर्थे। तर शिक्षकको आम्दानीले मात्र परिवारको आवश्यकता पूरा गर्न कठिन भएकाले उनीहरू खेतीपातीमा पनि संलग्न थिए। विद्यालयमा पढाउने र बाँकी समय खेतबारीमा काम गरेर अतिरिक्त आम्दानी जुटाउँदै उनीहरूले आफ्ना सन्तानको शिक्षामा लगानी गरेका थिए।

बाल्यकालको धेरै समय छात्रावास र घरबाट टाढाका विद्यालयमा बिताएका कार्की अनुशासन, इमानदारी र शिक्षाले जीवन परिवर्तन गर्न सक्छ भन्ने विश्वासका साथ हुर्किएको बताउँछन्। सानैदेखि मेसिन, इलेक्ट्रोनिक्स र विशेषगरी हवाईजहाजप्रति उनको विशेष रुचि थियो। पाइलट वा एरोनोटिकल इन्जिनियर बन्ने सपना भए पनि आर्थिक अभावले त्यो लक्ष्य सहज देखिँदैनथ्यो।

उनको जीवनमा निर्णायक मोड सन् २००७–०८ मा आयो, जब उनले कम्पेक्स छात्रवृत्ति प्राप्त गरे। छात्रवृत्ति परीक्षामा २०औँ स्थान हासिल गर्दै उनले भारतको नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी (एनआईटी) कुरुक्षेत्रमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाए। उनी आफ्नो परिवार र आफन्तको घेरामा पूर्ण छात्रवृत्तिमा उच्च शिक्षा हासिल गर्ने पहिलो व्यक्तिमध्ये एक बने।

छात्रवृत्तिको तयारीका क्रममा आफूले दैनिक तीन घण्टामात्र सुत्दै कडा मेहनत गरेको स्मरण गर्दै कार्की छात्रवृत्तिको सबैभन्दा ठूलो महत्व आर्थिक सहयोगभन्दा पनि आत्मविश्वास रहेको बताउँछन्। उनका अनुसार यसले सानो ठाउँका विद्यार्थीलाई आफ्नो क्षमता प्रमाणित गर्ने अवसर दिन्छ।

एनआईटी कुरुक्षेत्र पुगेपछि उनको सोच र दृष्टिकोण अझ फराकिलो बन्यो। विभिन्न राज्य र पृष्ठभूमिका विद्यार्थीहरूसँगको सहकार्यले नयाँ अनुभव दिलायो। अध्ययनसँगै उनी ‘सूर्यकिरण एरोमोडेलिङ क्लब’का संस्थापक सदस्य बने र कलेजकै पहिलो प्रमाणित आरसी (रिमोट कन्ट्रोल) फ्लायरसमेत बने। विभिन्न प्राविधिक, सांस्कृतिक र नेतृत्वसम्बन्धी गतिविधिमा सक्रिय सहभागिताले नेतृत्व क्षमता, टिमवर्क र समस्या समाधानका सीप विकास गर्न मद्दत गरेको उनको भनाइ छ।

कार्कीका अनुसार लेन्देनक्लबको अवधारणा कुनै व्यवसायिक योजनाबाट होइन, आफ्नै गाउँको सामाजिक अभ्यासबाट जन्मिएको हो। खोटाङको गाउँमा बैंक तथा वित्तीय संस्थाको पहुँच नहुँदा मानिसहरू आवश्यकता पर्दा आफन्त, छिमेकी र समुदायका विश्वासिला व्यक्तिमार्फत आर्थिक सहयोग लिने गर्थे। यही विश्वासमा आधारित आर्थिक संस्कृतिले उनलाई गहिरो प्रभाव पारेको थियो।

“फाइनान्स बुझ्नुभन्दा धेरै अघि मैले सम्बन्ध र विश्वासमार्फत पुँजीको प्रवाह भइरहेको देखेको थिएँ,” कार्की भन्छन्। इन्जिनियरिङ अध्ययन र प्रविधिको ज्ञानसँगै उनले यही परम्परागत अवधारणालाई डिजिटल माध्यमबाट ठूलो स्तरमा विस्तार गर्न सकिने सम्भावना देखे।

त्यसपछि उनले सहसंस्थापक भाविन पटेलसँग मिलेर मुम्बईमा लेन्देनक्लब स्थापना गरे। उनका अनुसार यो प्लेटफर्म ऋण उपलब्ध गराउने माध्यम मात्र नभई अवसरमा पहुँच विस्तार गर्ने प्रयास पनि हो।

लेन्देनक्लबअघि उनले ‘पाइपआइसो’ नामक इन्जिनियरिङ सफ्टवेयर कम्पनीको पनि सहस्थापना गरेका थिए। उक्त अनुभवले प्रविधि विकास गर्नुभन्दा त्यसलाई बजारमा स्थापित गर्न अझ कठिन हुने पाठ सिकाएको उनी बताउँछन्।

भारतको डिजिटल रूपान्तरण, डिजिटल पहिचान प्रणाली, वित्तीय समावेशीकरण तथा डिजिटल भुक्तानी पूर्वाधारले फिनटेक क्षेत्रलाई तीव्र गतिमा विस्तार गर्न मद्दत गरेको कार्कीको भनाइ छ। भारतीय रिजर्भ बैंकले पियर–टु–पियर लेन्डिङका लागि बनाएको नियामकीय संरचनाले पनि नवप्रवर्तनलाई प्रोत्साहन दिएको उनले बताए।

नेपालका युवाहरूलाई सम्बोधन गर्दै कार्की छात्रवृत्तिलाई केवल डिग्री हासिल गर्ने माध्यमका रूपमा मात्र नहेर्न सुझाव दिन्छन्। “विश्वस्तरमा सिक्न, निर्माण गर्न र अन्ततः आफ्नै समाजलाई योगदान दिन छात्रवृत्तिलाई अवसरका रूपमा उपयोग गर्नुपर्छ,” उनले भने।

नेपाललाई अब सगरमाथा, बुद्ध र गोर्खालीको देशका रूपमा मात्र नभई अनुसन्धानकर्ता, नवप्रवर्तक र उद्यमी उत्पादन गर्ने राष्ट्रका रूपमा स्थापित गर्नुपर्ने उनको धारणा छ। शिक्षा, अनुसन्धान र उद्यमशीलतालाई आगामी पुस्ताको प्रमुख आधार बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

खोटाङको एक सामान्य शिक्षक परिवारबाट सुरु भएको उनको यात्रा आज करोडौँ मानिसलाई वित्तीय सेवासँग जोड्ने डिजिटल पूर्वाधार निर्माणसम्म पुगेको छ। कार्कीको अनुभवले अवसर र शिक्षाले व्यक्तिको मात्र होइन, समाजकै भविष्य बदल्न सक्ने सन्देश दिन्छ।

सम्बन्धित समाचार

काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा बजेट प्रस्तुत हुने
काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा बजेट प्रस्तुत हुने
  • २०८३ असार १, ११: ५३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित...

लुम्बिनीको बजेट ३७ अर्ब ३८ करोड
लुम्बिनीको बजेट ३७ अर्ब ३८ करोड
  • २०८३ असार १, ११: ५३

लुम्बिनी : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट...

कोशीको बजेट ४० अर्ब ४४ करोड
कोशीको बजेट ४० अर्ब ४४ करोड
  • २०८३ असार १, ११: ५३

विराटनगर : कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको...