मन्त्री लम्साल भन्छन्- ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँच्दिनू’ – Naya Bikalpa
June 15, 2026, Monday      Epaper

मन्त्री लम्साल भन्छन्- ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँच्दिनू’

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल निर्माणाधीन नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमनका क्रममा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । काममा ढिलाइ गर्ने ठेकेदारलाई ‘खुट्टा भाँचेर भए पनि काम लगाउनू’ भन्ने आशयको निर्देशन सार्वजनिक भएपछि उनको आलोचना भइरहेको छ ।

आइतबार मुग्लिङदेखि नागढुंगासम्मको सडकखण्डको स्थलगत निरीक्षणका क्रममा मन्त्री लम्सालले सडक विस्तारमा अवरोध बनेका बिजुलीका पोल समयमै नसारिएको भन्दै आक्रोश व्यक्त गरेका थिए । निरीक्षणका बेला मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय, प्रहरी उपरीक्षक सुमित खड्कालगायत सरोकारवाला अधिकारी उपस्थित थिए ।

भिडियोमा मन्त्री लम्सालले बिजुलीको पोल सार्ने जिम्मा पाएको ठेकेदारलाई खोजेर ल्याउन निर्देशन दिँदै काम नगरे ‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्ति दिएको देखिन्छ । उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ र मन्त्रीको अभिव्यक्तिप्रति विभिन्न कोणबाट प्रतिक्रिया आएका छन् ।

मन्त्री लम्सालले स्थानीयवासीले लामो समयदेखि सडक निर्माणमा ढिलाइका कारण सास्ती भोग्नुपरेको उल्लेख गर्दै पोल हटाउने काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । उनले निर्माण सामग्रीको व्यवस्थापन तथा अन्य प्रशासनिक सहजीकरणका विषयमा समेत चाँडो निर्णय गर्न आग्रह गरेका थिए ।

नागढुंगा–मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) की आयोजना प्रमुख तथा प्रमुख जिल्ला इन्जिनियर सजना अधिकारीका अनुसार सडक विभाग र नेपाल विद्युत प्राधिकरणबीच करिब तीन वर्षअघि नै बिजुलीका पोल स्थानान्तरण गर्ने सहमति भएको थियो । तर प्राधिकरणले नियुक्त गरेको ठेकेदार कम्पनीले हालसम्म सबै पोल नहटाएकाले सडक निर्माण प्रभावित भएको छ ।

मन्त्री लम्साल आइतबार बुटवलबाट काठमाडौं फर्किने क्रममा सडक आयोजनाको अनुगमन गर्न पुगेका थिए। तर अनुगमनकै क्रममा दिएको अभिव्यक्तिले भने राजनीतिक तथा सामाजिक वृत्तमा बहस सिर्जना गरेको छ ।

सम्बन्धित समाचार

काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा बजेट प्रस्तुत हुने
काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा बजेट प्रस्तुत हुने
  • २०८३ असार १, १३: ०९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित...

लुम्बिनीको बजेट ३७ अर्ब ३८ करोड
लुम्बिनीको बजेट ३७ अर्ब ३८ करोड
  • २०८३ असार १, १३: ०९

लुम्बिनी : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट...

कोशीको बजेट ४० अर्ब ४४ करोड
कोशीको बजेट ४० अर्ब ४४ करोड
  • २०८३ असार १, १३: ०९

विराटनगर : कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको...