यसपटक मनसुन ढिला भित्रिने – Naya Bikalpa
June 16, 2026, Tuesday      Epaper

यसपटक मनसुन ढिला भित्रिने


काठमाडौं : जल तथा मौसम विज्ञान विभागले यस वर्ष ढिला मनसुन भित्रने जानकारी दिएको छ। प्रशान्त महासागरमा एलनिनो प्रणाली विकास भइसकेकाले नेपालको मौसमी प्रणालीमा पनि त्यसको प्रभाव देखिएको विभागले बताएको छ।

एलनिनो भएको वर्ष नेपालमा ढिला मनसुन भित्रिएको विभागले बताएको छ। नेपालमा सरदर जुन १३ अर्थात् जेठ ३० गतेतिर मनसुन नेपाल भित्रन्छ। अघिल्लो वर्ष सरदरभन्दा १५ दिन अगावै नेपालमा मनसुन आएको थियो।

तर एलनिनो भएको वर्ष २७ जुन अर्थात असार १३ गतेसम्म लागेको छ।

यद्यपि अहिले नेपालको मौसमी प्रणालीमा प्रश्चिमी वायु सक्रिय छ। चैतको पहिलो हप्तादेखि नै पश्चिमी वायु सक्रिय भएकाले नेपालमा प्रि–मनसुन याममा सरदरभन्दा २५ प्रतिशतसम्म बढी पानी पर्‍यो।

मनसुन याममा एलनिनोको प्रभावका कारण सरदरभन्दा कम वर्षा हुने सम्भावना ६५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ।
एल निनो मौसममा आउने एउटा यस्तो फेरबदल हो। जसले विश्वभरिकै मौसमै प्रणालीमा फेरबदल ल्याउँछ।

सामान्य अवस्थामा प्रशान्त महासागरको पश्चिमी भाग (एसिया र अस्ट्रेलिया वरपर) को पानी तातो र पूर्वी भाग (दक्षिण अमेरिका वरपर) को पानी चिसो हुने हुन्छ। तर, एलनिनो सक्रिय भएको वर्ष यो प्रक्रिया उल्टो हुन्छ। प्रशान्त महासागरको केन्द्रीय र पूर्वी भागको सतहको पानी असामान्य रूपमा तातो हुन थाल्छ।

यसरी समुद्रको पानी तातो हुँदा विश्वभरिको वायुमण्डलको चक्रमा फेरबदल आउँछ।

जसका कारण कतै अत्यधिक खडेरी पर्छ त कतै ठूलो बाढी आउने मौसमी घटना देखापर्ने मौसमविद्हरूले बताउँछन्।

एलनिनो स्पेनी भाषाबाट आएको हो। जसको अर्थ ‘सानो बालक’ हुन्छ।

नेपाल र दक्षिण एसियामा वर्षा गराउने मुख्य कारक मनसुनी वायु हो। यो हावा हिन्द महासागर बाट जमिनी भागतर्फ बहन्छ। तर एल निनोले यो सम्पूर्ण प्रणालीलाई नै कमजोर बनाइदिन्छ।

सामान्य वर्षहरूमा प्रशान्त महासागरको तातो पानीका कारण दक्षिण एसियाली क्षेत्रमा न्यूनचापीय प्रणाली (क्षेत्र) बन्छ, जसले हिन्द महासागरको आर्द्र र पानी पर्ने हावालाई आफूतिर तान्छ। तर एल निनो चल्दा तातो पानी पूर्वतिर (दक्षिण अमेरिकातिर) सर्छ। यसले गर्दा बादल र पानी पार्ने वायुमण्डलीय प्रणाली पनि एसियाबाट टाढा सर्छ।

एल निनोले हिन्द महासागरबाट दक्षिण एसियातर्फ बहने ओसिलो र जलवाष्पयुक्त हावा को गतिलाई सुस्त वा कमजोर बनाइदिन्छ। हावाको गति नै कमजोर भएपछि मनसुनी बादललाई नेपाल र भारतको मुख्य भूभागसम्म आइपुग्न सामान्यभन्दा बढी समय लाग्छ। अहिले भइरहेको त्यही हो।

मनसुन बलियो हुनका लागि जमिन धेरै तातो र समुद्र चिसो हुनुपर्ने मौसमविद् बताउँछन्। जसले गर्दा समुद्रको ओसिलो हावा जमिनतिर तानिन्छ। तर एलनिनोका कारण समुद्रको तापक्रम पनि बढ्ने र वायुमण्डलीय चक्र नै खल्बलिने हुँदा मनसुन ढिलो गरी भित्रिन्छ र वर्षा पनि औसतभन्दा कम हुने सम्भावना रहन्छ।

मौसमविद् विनोद पोखरेलले एल निनो भएको वर्ष पहिला पनि ढिला मनसुन भित्रिएको बताएका छन्। र, यस वर्ष पनि त्यही प्रक्रिया दोहोरिन लागेको उनको भनाइ छ।

यसपालि अर्को हप्ता मनसुन नेपाल भित्रने सम्भावना रहेको उनले बताएका छन्। दुइवोटा मोडलले पश्चिम नेपाल पुग्ने मिति भने अर्को हप्ताको अन्त्य अर्थात् असार १६ देखि १७ सम्म देखाएको पोखरेलको भनाइ छ।

सम्बन्धित समाचार

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८३ असार २, ०७: २१

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...

राहदानी विभागका महानिर्देशक र निर्देशकलाई थुनामा राख्न अनुमति
राहदानी विभागका महानिर्देशक र निर्देशकलाई थुनामा राख्न अनुमति
  • २०८३ असार २, ०७: २१

काठमाडौँ : विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न...

समिति बैठकमा मन्त्री अनुपस्थित भएपछि स्पष्टीकरण माग्ने तयारी
समिति बैठकमा मन्त्री अनुपस्थित भएपछि स्पष्टीकरण माग्ने तयारी
  • २०८३ असार २, ०७: २१

काठमाडौँ : प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै यस विषयमा मन्त्रालयसँग औपचारिक...