
काठमाडौं : नेपाली थकाली परिकार अब भारतीय बजारमा पनि औपचारिक रूपमा प्रवेश गर्ने भएको छ। काठमाडौंमा स्थापित लोकप्रिय ब्रान्ड जिम्बु थकालीले भारतको हरियाणास्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शाखा सञ्चालनमा ल्याउँदैछ।
कम्पनीका अनुसार गुरुग्रामको सेक्टर–६५ मा अवस्थित एम–३–एम व्यावसायिक परिसरमा साउन १५ गतेदेखि रेस्टुरेन्ट सञ्चालनमा आउनेछ। उक्त शाखालाई सामान्य व्यापारिक विस्तारभन्दा फरक रूपमा नेपाली खानासंस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने केन्द्रका रूपमा विकास गर्ने योजना रहेको छ।
जिम्बु थकालीका परिकल्पनाकार विवेकमान शेरचनका अनुसार भारतीय बजारमा नेपाली परिकारप्रतिको आकर्षण पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी नेपाल भ्रमणपछि थकाली स्वादको खोजी गर्ने ग्राहकको संख्या वृद्धि भएपछि भारतबाट अन्तर्राष्ट्रिय विस्तार सुरु गरिएको उनले बताए।
सन् २०१६ मा स्थापना भएको जिम्बु थकालीले हाल काठमाडौंका कालीमाटी, नयाँ बानेश्वर, झम्सिखेल र टंगालमा चार शाखा सञ्चालन गर्दै आएको छ। कम्पनीले अहिलेसम्म २० लाखभन्दा बढी ग्राहकलाई सेवा दिइसकेको दाबी गरेको छ। अब भारतबाट सुरु भएको अन्तर्राष्ट्रिय विस्तारलाई आगामी वर्षहरूमा अन्य देशसम्म विस्तार गर्ने रणनीति रहेको कम्पनीले जनाएको छ।
गुरुग्राम शाखामा थकाली खाना सेटसँगै ढिँडो, फापरका परिकार, गुन्द्रुक, सुकुटी, चटामरी, बारा, मःमः, सेकुवा, गुन्द्रुकको झोल, जुजु धौबाट बनेका मिठाइ तथा खुवा यमरीलगायत परम्परागत नेपाली परिकार उपलब्ध गराइनेछ। अन्तर्राष्ट्रिय ग्राहकको स्वादलाई ध्यानमा राख्दै केही परिकारलाई नयाँ शैलीमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।
परिकारको मौलिक स्वाद जोगाइराख्न जिम्बु, टिमुर, फापरजस्ता नेपाली मसला नेपालबाटै निर्यात गरिनेछ भने अन्य ताजा सामग्री स्थानीय बजारबाट व्यवस्थापन गरिनेछ। यस पहलले नेपाली कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
रेस्टुरेन्टको आन्तरिक सजावटमा नेपाली काष्ठकला, परम्परागत झ्याल, थकाली संस्कृतिसँग सम्बन्धित सामग्री तथा नेपाली वास्तुकलाका विशेषता समेटिनेछन्। आधुनिक सुविधा र नेपाली पहिचानको संयोजनमार्फत ग्राहकलाई नेपालकै अनुभव दिलाउने लक्ष्य राखिएको छ।
करिब ९० जना ग्राहकले एकैपटक भोजन गर्न सक्ने उक्त शाखामा नेपाली कफी ब्रान्ड हिमालयन जाभा को आउटलेट पनि सञ्चालनमा रहनेछ। साथै व्यवस्थापन प्रणालीका लागि आईएमएस सफ्टवेयर को प्रविधि प्रयोग गरिनेछ, जसलाई कम्पनीले अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डबीचको सहकार्यको उदाहरणका रूपमा प्रस्तुत गरेको छ।
काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...
वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगन्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला...
काठमाडौँ : परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित ब्रड पिकमा भएको हिम पहिरोमा परेका नेपालीसहितका आरोहीको खोज तथा उद्धारका लागि पाकिस्तान सरकारसँग समन्वय...