
काठमाडौं : नेपाली कांग्रेसभित्र चुलिँदै गएको गुटगत तिक्तता र विभाजनको मानसिकताप्रति चिन्ता व्यक्त गर्दै नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व पदाधिकारी एवं श्रमिक नेताहरूले पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन् । मुलुक लोकतन्त्र र संविधानको रक्षा गर्ने गम्भीर मोडमा उभिएको बेला पार्टीभित्र सिर्जित आन्तरिक द्वन्द्वले आम कार्यकर्ता र श्रमजीवी वर्गमा निराशा पैदा गरेको भन्दै उनीहरूले सानेपास्थित केन्द्रीय कार्यालयमार्फत पार्टी सभापतिलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
विशेष महाधिवेशन र नियमित महाधिवेशनको नाममा सिर्जित पक्ष, विपक्ष तथा पार्टी विभाजनको भयानक संघर्षले नेपाली जनता र पार्टी पंक्तिमा त्रास पैदा गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । “पार्टी विभाजन हुनु भनेको राष्ट्रियता, लोकतन्त्र, समाजवाद र समग्र श्रमजीवी वर्गको भाग्य र भविष्यमा अपूरणीय क्षति पुग्नु हो,” पत्रमा भनिएको छ ।
जननायक बीपी कोइराला, सर्वोच्च नेता गणेशमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र साहसी एवं समन्वयकारी नेता शेरबहादुर देउवा जस्ता शीर्ष नेताहरूको त्याग र बलिदानबाट निर्मित ऐतिहासिक पार्टी सधैं संकटको साथी बनेको दाबी ध्यानाकर्षण पत्रमा गरिएको छ । इतिहास साक्षी रहेको उल्लेख गर्दै पत्रमा चेतावनी दिइएको छ, “जब-जब नेपाली कांग्रेस कमजोर वा विभाजित अवस्थामा पुगेको छ, तब-तब मुलुकमा अधिनायकवाद, निरंकुशता र अस्थिरताले टाउको उठाउँदै आएको छ।”
मुलुकको यो संवेदनशील घडीमा विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर दुवैतर्फका वरिष्ठ तथा प्रभावशाली नेतृत्व वर्गलाई विभाजनको मानसिकताबाट माथि उठ्न आग्रह गरिएको छ। पार्टीको वर्तमान नेतृत्व र शीर्ष नेताहरू एकै ठाउँमा बसेर खुला, भ्रातृत्वपूर्ण, सार्थक र परिणाममुखी संवाद प्रारम्भ गर्न श्रमजीवीहरूको तर्फबाट जोडदार माग गरिएको छ। सानातिना विवादभन्दा माथि उठेर साझा बिन्दु पहिल्याउन र पार्टीको एकता अक्षुण्ण राख्न उनीहरूले जोड दिएका छन्।
यस संयुक्त ध्यानाकर्षण पत्रमा नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष खिला नाथ दाहाल, पूर्व उपाध्यक्षद्वय अयोध्या प्रसाद यादव र बमबहादुर डी सी, पूर्व कोषाध्यक्ष डीपी अर्याल तथा पूर्व उप-महासचिवहरू ऋषभदेव घिमिरे, डा. संजय मिश्र, ललितकला गुरुङ र नेपाल ब्युटिसियन संघकी संस्थापक अध्यक्ष भगवती खड्काले हस्ताक्षर गरेका छन् ।


काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...
काठमाडौं : यही साउन २३ गते बिहान १० देखि २४ गते बिहान १० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन्...
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सामाजिक सञ्जालमार्फत पार्टीभित्र देखिएको विवादका विषयमा सबै तह र तप्काका नेता...