
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सामाजिक सञ्जालमार्फत पार्टीभित्र देखिएको विवादका विषयमा सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई संयमित र सभ्य बन्न आग्रह गरेका छन्।
विपी स्मृति दिवसका अवसरमा प्रज्ञा भवनमा आयोजित कार्यक्रममा कांग्रेस इतर पक्षीय नेताहरूले गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध अभद्र टिप्पणी गरेपछि सोही दिन खड्का आफ्नो सम्बोधनमै असन्तुष्ट देखिएका थिए। उनले कार्यक्रममै प्रस्तावित भेलाको मिति घोषणा गर्न अस्वीकार गरेका थिए भने त्यसपछि आयोजक समितिले गरेको पत्रकार सम्मेलनमा समेत सहभागी भएका थिएनन्।
यसै सन्दर्भमा खड्काले पछिल्ला घटनाक्रमपछि दुवै पक्षका नेताहरूले सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्यक्त गरेका टिप्पणीहरूले अग्रज नेताहरूको मानमर्दन हुनुका साथै पार्टीलाई थप क्षति पुगिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै पार्टीका अग्रज, जिम्मेवार नेता, भातृ तथा शुभेच्छुक संस्थाका सदस्य, समर्थक तथा आम कार्यकर्तालाई सम्बोधन गर्दै पार्टीभित्र देखिएको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्। सर्वोच्च अदालतबाट पार्टीको आधिकारिकता सम्बन्धी पुनरावलोकनका लागि निस्सा प्राप्त भएको केही दिनमै सामाजिक सञ्जालमा आफ्नै साथीहरूबाट भएका टिप्पणीहरूले आफू अत्यन्त चिन्तित बनेको उनले उल्लेख गरेका छन्।
खड्काका अनुसार वर्तमान समयमा देशको राष्ट्रियता चुनौतीपूर्ण अवस्थामा पुगेको, लोकतान्त्रिक संविधानमाथि विभिन्न षड्यन्त्र भइरहेको र नेपाली कांग्रेस स्वयं कमजोर अवस्थामा रहेको सन्दर्भमा पार्टीको एकता अत्यन्त आवश्यक छ। उनले सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको भावना विकास गर्दै संवाद र सहमतिमार्फत सुदृढ एकता कायम गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्।
उनले व्यक्तिगत महत्वाकांक्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुन्ठाबाट मुक्त भई सामूहिक भावनाका साथ पार्टी एकताका लागि निर्णायक पहल गर्न सबैलाई आग्रह गरेका छन्। सर्वोच्च अदालतको पूर्ण इजलासबाट प्राप्त निस्सालाई पार्टी एकताका लागि अन्तिम अवसरका रूपमा लिनुपर्ने उनले उल्लेख गरेका छन्।
खड्काले विशेष रूपमा पार्टी सभापति गगन थापालाई सम्बोधन गर्दै साहसका साथ पार्टी एकताको नेतृत्व लिन आग्रह गरेका छन्। “निर्णायक तपाईं हुनुहुन्छ,” भन्दै उनले अन्य सबै नेताहरू सहयोग गर्न तयार रहेको सन्देश दिएका छन्।
अन्त्यमा उनले सामाजिक सञ्जालमा भइरहेको आरोप-प्रत्यारोप र गालीगलौजले पार्टीलाई कुनै लाभ नपुग्ने उल्लेख गर्दै यस्तो प्रवृत्ति तत्काल अन्त्य गर्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्। उनले राष्ट्रियता, लोकतन्त्र र पार्टी जोगाउन सबैले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...
काठमाडौं : नेपाली कांग्रेसभित्र चुलिँदै गएको गुटगत तिक्तता र विभाजनको मानसिकताप्रति चिन्ता व्यक्त गर्दै नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व पदाधिकारी...
काठमाडौं : यही साउन २३ गते बिहान १० देखि २४ गते बिहान १० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन्...