परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ ।

परराष्ट्र मन्त्रालयमा आज भएको द्विपक्षीय भेटवार्ताका क्रममा यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका गणतन्त्र कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका विषयमा पनि गम्भीर छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन अन्तरनिकाय द्रुत प्रतिकार्य टोली तथा कोरियाको ‘डिजास्टर रिलिफ टिम’ पठाउनुभएकामा गणतन्त्र कोरिया सरकारप्रति आभार व्यक्त गरे । उनले बाढीपीडित नागरिकका लागि गणतन्त्र कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्रीप्रति धन्यवाद व्यक्त गरे ।

विपद्पछिको पुनर्निर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले भविष्यमा यस्ता विपद्‍बाट कम क्षति हुनेगरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाइने बताए । यस कार्यमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वाससमेत उनले व्यक्त गरे ।

भेटवार्तामा गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री ह्युनले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री ह्युनले जलवायु परिवर्तनका असर र त्यसबाट सिर्जित विपद्का विषयमा विश्वसमुदायलाई थप संवेदनशील बनाउन नेपाल र गणतन्त्र कोरियाले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

उनले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप) लगायतका अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेका चुनौती र क्षतिका विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने धारणा व्यक्त गरे ।

साथै, नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि अन्तरराष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका विषयमा गणतन्त्र कोरियाले आफ्नोतर्फबाट आवाज उठाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

भेटवार्ताका क्रममा दुवै मन्त्रीहरूले नेपाल र गणतन्त्र कोरियाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास, समझदारी र सहकार्यलाई अझ सुदृढ एवं व्यापक बनाउँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन निकट सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल र गणतन्त्र कोरियाबीच श्रम, विकास साझेदारी, व्यापार, लगानी, प्रविधि तथा जनस्तरको सम्बन्धलगायत विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ । पछिल्लो विपद्का समयमा गणतन्त्र कोरियाबाट प्राप्त खोज तथा उद्धार सहयोग, मानवीय सहायता र राहत सामग्रीले दुई देशबीचको मित्रता र ऐक्यबद्धतालाई थप सुदृढ बनाएको छ ।

सम्बन्धित समाचार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेनाको उद्धार तथा राहत अभियान तीव्र
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेनाको उद्धार तथा राहत अभियान तीव्र
  • २०८३ भाद्र २१, १७: ३३

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, राहत वितरण तथा स्वास्थ्य सेवा सञ्चालनलाई तीव्रता दिएको छ...

मनास्लु पदमार्गमा यात्रा नगर्न आग्रह
मनास्लु पदमार्गमा यात्रा नगर्न आग्रह
  • २०८३ भाद्र २१, १७: ३३

काठमाडौं : जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु तथा लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न पदयात्री र सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ...

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै
रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै
  • २०८३ भाद्र २१, १७: ३३

रसुवा : भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामन कोरला नाकाबाट...