थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति

गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बुढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ । यसबाट चुमनुब्रीवासी समस्यामा परेका छन् । पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गका दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको स्थानीय लाक्पा डुण्डुप लामाले जानकारी दिए ।

थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढीले बुढीगण्डकीको बहाव बढ्न गई नाम्रुङभन्दा तल जंगलस्थित पुल पनि बगाएको जनाइएको छ । “बाढी पहिरोले हामीलाई जोखिममा पार्‍यो”, उनले भने, “गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि लग्योे । कतै जान पनि नमिल्ने भयो ।”

साथै स्थानीयले उपभोग गर्दै आएका दुईवटा लघुजलविद्युत् आयोजनामा  क्षति पुर्‍याएको उनले बताए । उनले भने, “एउटा भर्खर सात करोड रुपैयाँ खर्चेर निर्माण सम्पन्न भएर परीक्षण प्रसारण भएको १०० किलोवाटको जलविद्युत् थियो त्यो पनि लग्यो । अर्को पहिल्यैदेखि बालिरहेको २२ किलोवाटको जलविद्युत् थियो त्यो पनि नामेट पारेर लग्यो । आवातजावत र विद्युत ठप्प हुँदा जनजीवन समस्यामा परेको छ ।”

विद्युत नहुँदा बत्ती, सञ्चार सेवा तथा विद्युत्बाट चल्ने सबै सेवा ठप्प भएको छ । पुल बगाएपछि भर्खर सुरु हुँदै गरेको मनास्लुको पर्यटक आवागमन प्रभावित भएको छ । लार्केपासका लागि गएका सयौं पर्यटक बुढीगण्डकीको पुल नहुँदा समस्यामा परेका छन् । पहिरोसँगै आएको बाढीले राति स्थानीय चारजनाको घर बगाएको प्रहरीले जनाएको छ । बाढीले स्थानीय नुर्वु ओङ्ग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

“भूकम्प आएजस्तो गरी गाउँ थर्काएछ । सबै बिउँझिएछन् । अनि बाढी आएको थाहा पाएपछि भागेर ज्यान जोगाएका रहेछन्,” वडाअध्यक्ष पेमाग्याल्बो लामाले भने, “नत्र सबैलाई बढारेर लैजान्थ्यो ।”

बाढीपीडित चार घरलाई तत्काल अल्पकालीन राहत दिने लामाले बताए । “घरको केही पनि जोगिएन त्यसैले तत्काल आज नै खाद्यान्न र लुगा कपडाका लागि रु २० हजारका दरले राहत दिन्छौं”, उनले भने, “केही दिनमा गाउँपालिकाका तर्फबाट रु एक लाख बराबरको राहत दिनेछौं,” अन्यत्रबाट आउने राहतका लागि पनि पहल गर्ने उनले बताए ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८३ भाद्र २१, ११: ५४

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८३ भाद्र २१, ११: ५४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८३ भाद्र २१, ११: ५४

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...