कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकको प्रारम्भमै देशका विभिन्न जिल्लामा आएको अकल्पनीय बाढीका कारण उत्पन्न मानवीय संकट र त्यसपछिको अवस्थाबारे विस्तृत छलफल केन्द्रित हुने जनाइएको छ ।

बैठकमा सभापति गगनकुमार थापाले बाढीपीडितहरूको अवस्था, राहत तथा उद्धारको प्रगति र सरकारको भूमिकालगायत विषयमा गम्भीर छलफल हुने बताए । उनले विपद् व्यवस्थापनमा सबै पक्षको समन्वय आवश्यक रहेकोमा जोड दिए ।

बैठकलाई सम्बोधन गर्दै सभापति थापाले भोटेकोशी बाढीका कारण उत्पन्न महाविपत्तिका बेला नागरिकलाई भौतिक राहत र पुनर्निर्माणका साथै भावनात्मक सहानुभूति र कानूनी सहजता आवश्यक रहेको बताए । आफ्नो पछिल्लो स्थलगत भ्रमणको अनुभव र वस्तुस्थिति प्रस्तुत गर्दै सभापति थापाले नुवाकोट र रसुवाका अति प्रभावित क्षेत्रहरूको अवस्था अत्यन्तै हृदयविदारक रहेको जानकारी दिए ।

उनले विपद्को यस कठिन घडीमा नेपाली कांग्रेस पूर्ण रूपमा सरकार र पीडित नागरिकको साथमा रहेको प्रतिवद्धता व्यक्त गरे । स्थलगत अवलोकनका क्रममा देखिएका मार्मिक घटनाहरू स्मरण गर्दै थापाले रसुवा र नुवाकोटमा धेरै परिवारले आफ्ना सदस्यहरू गुमाएको र कतिपयको परिवार नै सखाप भएको बताए ।

बेत्रावती, उत्तरगया र स्याफ्रुबेँसी लगायतका क्षेत्रमा सडक सञ्जाल विच्छेद भएका कारण राहत तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको उनको भनाइ छ । उनले नौकुण्ड र गुम्बाडाँडा जस्ता क्षेत्रको स्थलगत भ्रमण गर्दा स्थानीयले भोग्नुपरेको अपार पीडा र शोकले आफूलाई स्तब्ध बनाएको उल्लेख गरे ।

सभापति थापाले मुलुकी देवानी संहितामा रहेको बेपत्ता सम्बन्धी कानूनी प्रावधानका कारण पीडित परिवार थप अन्योल र समस्यामा परेको औँल्याए । १२ वर्षसम्म बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानुनी व्यवस्थाले गर्दा मृतकको संस्कार गर्न र सरकारी सुविधा तथा अधिकारबाट वञ्चित हुने डर स्थानीयमा देखिएको उनले बताए । यस समस्यालाई तत्काल सम्बोधन गर्न कानुन संशोधन गरी स्थानीय सरकारलाई मृत्यु प्रमाणित गर्नसक्ने अधिकार दिनुपर्नेमा उनले सरकारको ध्यानाकर्षण गराए ।

बैठकलाई सम्बोधन गर्दै रसुवा–१ का सांसद मोहन आचार्यले भावुक हुँदै रसुवाको अवस्था अत्यन्त दयनीय रहेको बताए । उनका अनुसार बाढीले जिल्लाभरि व्यापक क्षति पुर्‍याएको छ, धेरै घरपरिवार विस्थापित भएका छन् भने हजारौं नागरिक अझै सम्पर्कविहीन रहेको आशंका गरिएको छ । जिल्लाका जलविद्युत् आयोजना समेत गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् ।

त्यस्तै, नुवाकोटका सांसद अर्जुननरसिंह केसीले बाढीलाई “हिमालयन सुनामी”को संज्ञा दिँदै अहिलेसम्म १,२७३ जनाको ज्यान गएको जानकारी दिए । उनले उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । “यो महाविपत्तिमा दोषारोपणभन्दा पनि सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ,” उनले भने, “तर सरकारको तत्परता पर्याप्त देखिएको छैन ।” उनका अनुसार करिब ७५ हजार परिवार विस्थापित भएका छन् र अर्बौं रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। उनले संसद्बाट उच्चस्तरीय छानबिन तथा समन्वय समिति गठन गर्नुपर्ने माग समेत राखे ।

कांग्रेसका सहमहामन्त्री बहादुर लामाले उद्धार कार्यमा ढिलाइ भएको भन्दै चिन्ता व्यक्त गरे । “सामान्य अवस्थामा २७ मिनेटमा पुगिने स्थानमा ११ घण्टा लाग्ने अवस्था छ,” उनले भने, “यही ढिलाइका कारण धेरै नागरिकले ज्यान गुमाउनुपरेको छ ।” उनले सरकारको उदासीनताका कारण बाढीपीडितहरूको अवस्था झन् कष्टकर बनेको आरोप लगाए ।

नेता डा. गोविन्द पोखरेलले बैठकमा बाढी प्रभावित क्षेत्रको निरीक्षणपछिको अवस्थाबारे जानकारी गराएका थिए । उनले प्रभावितहरु राज्यसँग नजोडिएको बताउँदै राज्यले त्यहाँको कोलाहाल नै नसुनेको बताए ।

उनले कानुनी कुरा सरकारले नमिलाउने हो भने ठुलो मानवीय त्रुटि हुने सभावना रहेको उल्लेख गरे ।

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
  • २०८३ भाद्र २१, १४: ५८

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ । बोर्डले आज विज्ञप्ती जारी गर्दै यही...

विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
  • २०८३ भाद्र २१, १४: ५८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त...

बाढी प्रभावितलाई कांग्रेसको एक करोड सहयोग
बाढी प्रभावितलाई कांग्रेसको एक करोड सहयोग
  • २०८३ भाद्र २१, १४: ५८

काठमाडौं : रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...