विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो रहेकाले अहिले उनीहरूलाई राज्यको साथ र भरोसा चाहिएको बताएका छन् । उनले पीडितहरूका गुनासा र मागलाई आलोचना नसम्झी समस्या समाधानको संकेतका रूपमा बुझ्न पनि आग्रह गरेका छन् ।

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरी राजधानी काठमाडौं फर्केपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

राष्ट्रपति पौडेलले बाढीपीडितहरूको उद्धार, खोज, राहत, पुनर्निर्माण र पुनर्स्थापनाका सबै कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउन सरकारबाट राज्यका स्थानीयलगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले नेपालीहरू अत्यन्त गहिरो शोक र पीडाबाट गुज्रिरहेको यस कठिन तथा दुःखद् क्षणमा आफू नागरिकहरूमाझ केही भन्न उपस्थित भएको उल्लेख गर्दै यो दुःखको घडीमा आफू पनि सबैको साथमा रहेको बताए ।

“यस प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो छ । अहिले उनीहरूलाई राज्यको साथ चाहिएको छ; भरोसा चाहिएको छ र सरकार, राजनीतिक दल एवम् सम्पूर्ण नागरिक सङ्घसंस्था त्यसका लागि क्रियाशील छन् भन्ने मैले ठानेको छु । यो दुःखको घडीमा म आफू पनि सबैको साथमा रहेको विश्वास दिलाउन चाहन्छु”, राष्ट्रपति पौडेलले भने ।

उनले यतिबेलाको गहिरो पीडालाई कम गर्न सक्ने शब्दहरू आफूहरूसँग नभएको उल्लेख गर्दै भने, “परिवारका सदस्य तथा साथीभाइहरूको खबरको प्रतीक्षामा रहनुभएका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा विश्वस्त पार्न चाहन्छु । तपाईँहरूले अनुभव गरिरहनुभएको अनिश्चितताको यो क्षणको पीडा सिंगो राष्ट्रले नै महसुस गरिरहेको छ ।’

उद्धार गरिएका प्रत्येक व्यक्तिको खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए । अहिले बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका र विशेष संरक्षण आवश्यक पर्ने नागरिकहरूप्रति विशेष ध्यान दिन आवश्यक रहेको तथा अस्थायी आश्रयस्थलहरू सुरक्षित तथा मर्यादित हुनुपर्छ भन्ने विषयमा हामी विशेष रूपमा सचेत र संवेदनशील रहनुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८३ भाद्र २२, १६: ०६

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८३ भाद्र २२, १६: ०६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८३ भाद्र २२, १६: ०६

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...