नेबिसंघ महाधिवशेन फेरि भाँडभैलो – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

नेबिसंघ महाधिवशेन फेरि भाँडभैलो

काठमाडौं । नेपाली कांग्रेसले नेविसंघलाई पत्राचार गर्दै पुरानो लोकतान्त्रिक फोरमनिकट विद्यार्थी संगठनलाई समावेश गर्न निर्देशन दिएपछि १६देखि १८ कात्तिकमा हुने भनिएको नेविसंघको १२ औं महाधिवेशन अन्योलमा परेको छ ।

पार्टी सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको सहजीकरण समितिको निर्देशनबमोजिम नेविसंघको माध्यमिक विद्यालय र क्याम्पस एकाइ अधिवेशन चालु रहेका बेला मुख्यसचिव कृष्णप्रसाद पौडेलले अकस्मात अर्को पत्र पठाएपछि दुवै तहका अधिवेशन अन्योलमा परेका हुन् ।

पार्टी केन्द्रीय कार्यालयले कांग्रेससँग २९ कात्तिक ०७४ मा एकीकरणमा आएको नेपाल लोकतान्त्रिक फोरमनिकटको विद्यार्थी संगठनलाई समेत समावेश गरेर मात्र अधिवेशनमा जान निर्देशन दिँदै पत्र प्राप्त भएको नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए । पार्टीले पठाएको पत्रमा लोकतान्त्रिक फोरमनिकट विद्यार्थी संगठनका तत्कालीन केन्द्रीय अध्यक्ष कपिलेश्वर यादवसहित १५ जनालाई केन्द्रीय समितिमा राख्न निर्देशन दिइएको छ ।

पत्रमा यादवलाई तत्काल महामन्त्रीमा मनोनयन गरी १४ जनालाई केन्द्रीय सदस्यमा चयन गर्न भनिएको छ । नेविसंघको वर्तमान केन्द्रीय समितिले ३२ वर्षे उमेर हद हटाउने प्रवाधान राखेर नेविसंघको विधान अनुमोदनका लागि पार्टी केन्द्रीय कार्यसमितिमा पठाए पनि २८ भदौमा बस्ने भनिएको बैठक स्थगित भएको थियो । सहजीकरण समितिको सल्लाहबमोजिम नेविसंघले ७–१० असोजमा सबै माध्यमिक विद्यालय र क्याम्पस एकाइको अधिवेशन गरिसक्ने कार्यसूची प्रकाशित गरेको थियो ।

मावि र क्याम्पस एकाइको अधिवेशन ५० प्रतिशतभन्दा बढी स्थानमा भइसके पनि बाँकीमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको अध्यक्ष महरले बताए । उनले विवादास्पद जिल्लाको हकमा भनेपछि निर्णग गरिने बताए। मावि र क्याम्पसमा अधिवेशन शुरु भए पनि केन्द्रीय प्रतिनिधि भने नपठाइएको उनले जानकारी दिए । दुई साताअघि नेविसंघ केन्द्रीय समितिको बैठकमा जिल्ला प्रतिनिधिहरू क कसलाई खटाउने भन्ने विषयमा सहमति भएको थियो ।

तर, महरले विवाद भएका बाहेक धेरै जिल्लाको मावि र क्याम्पसमा अधिवेशन भए पनि के गर्ने भन्ने विषयमा स्पष्ट जवाफ दिएनन् । बुधबारसम्ममा सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइने भनिए पनि सोही दिन पार्टी कार्यालयबाट फोरम लोकतान्त्रिक निकटका विद्यार्र्थीलाई समेत समेटेर अधिवेशनको प्रक्रिया अघि बढाउनु भनेपछि अधिवेशन प्रकृया अन्योलमा परेको हो ।

नेविसंघको १२ औं महाधिवेशनका लागि केन्द्रीय समितिले पारित गरी पार्र्टीमा बुझाएको विधान अनुमोदन नहुँदा संगठनको सदस्य बन्न ३२ वर्षे उमेर हद लगाउने वा नलगाउने भन्ने विषयलाई लिएर विवाद कायमै छ । ११ औं महाधिवेशनले आगामी महाधिवेशनमा संगठनमा ३२ वर्ष उमेर कटेकाले सदस्य बन्न नपाउने प्रावधान राखेको थियो ।

३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा रहेका सह(महामन्त्री महतले नेविसंघ अध्यक्ष महरलाई विधान अनुमोदन नभएसम्म अधिवेशनका प्रकृया तीन महिना पछाडि धकेल्न दबाब दिएका थिए। तर, महरले केन्द्रीय समितिले गरेको निर्णय उल्टाउन लिखित निर्णय आए मात्र रोक्न सक्ने जवाफ दिएको स्रोतले बतायो ।

दक्षिण कोरियाको भ्रमण पूरा गरी मंगलबार नेपाल फर्किएका महतले अध्यक्ष महरलाई महाधिवेशन गर्नका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने कार्य तत्काल रोक्न पार्टीबाटै लिखित निर्देशन दिएका हुन् ।

जिल्ला सभापति खाली भएका करिब ३२ जिल्ला र विवाद भएका जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउनु जरुरी भएको केन्द्रीय सदस्य सुशील भट्टले बताए । अन्योलका बीचमा करिब ३० प्रतिशत मावि र क्याम्पस एकाइको मात्र अधिवेशन भएको उनले जनाए । कांग्रेसका शीर्ष र प्रभावशाली नेताहरूको चासो र सरोकार राख्ने नेविसंघको महाधिवेशनमा संस्थापन पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षका विद्यार्र्थीबीच प्रतिष्पर्धा देखिन्छ । नेविसंघको महाधिवेशनमा करिव दुई हजार तीन सय केन्द्रीय प्रतिनिधि हुने देखिन्छ ।

अघिल्लो महाधिवेशनमा तीन हजार नौ सय प्रतिनिधि थिए । नेविसंघले प्रकाशित गरेको महाधिवेशनको कार्यसूची अनुसार शुक्रबार सबै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन गर्नुपर्ने थियो । सोमबार सबै प्रदेश निर्वाचन क्षेत्र अधिवेशन गर्न नेविसंघ अध्यक्षले सबै एकाइमा पत्राचार गरिसकेका छन् ।

पार्टी कार्यालयका मुख्यसचिव पौडेलले १ असोजमा नेविसंघलाई पत्राचार गर्दै नेविसंघले जारी गर्ने नियमावली मुताविक हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी), मावि र क्याम्पस एकाइको अधिवेशन प्रचलित विधान र नियमावलीबमोजिम सम्पन्न गर्नु गराउनु भनी निर्देशन दिएका छन् । मुख्यसचिव पौडेलको निर्देशनले पनि क्याम्पस र माविमा नेविसंघको अधिवेशन गर्न समस्या भएको केन्द्रीय उपाध्यक्ष उर्मिला थपलियाले बताइन् ।

उनले भनिन, ‘संघको प्रचलित विधान र नियमावलीबमोजिम मावि र क्याम्पस एकाइको अधिवेशन गर्नसमेत अन्योल छ। पुरानो ऐनले ३२ वर्ष पूरा भएको विद्यार्थी सदस्य हुन पाउँदैन तर संघले पारित गरेर अनुमोदनका लागि पठाएको विधानमा उमेरहद हटाइएको छ ।’

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७५ आश्विन १५, ०७: ४६

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७५ आश्विन १५, ०७: ४६

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७५ आश्विन १५, ०७: ४६

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...