लामो समय भारतमा जेल जीवन बिताएका दुर्गाप्रसाद उपचारको पैसा तिर्न नसक्दा अस्पतालमै अलपत्र – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

लामो समय भारतमा जेल जीवन बिताएका दुर्गाप्रसाद उपचारको पैसा तिर्न नसक्दा अस्पतालमै अलपत्र

इलाम । इलामको माई नगरपालिका-१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छन् । उनले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो ।

२०७७ सालमा स्वदेश फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका-११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए । छ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि घर ल्याउन नसकिएको परिवारजनले गुनासो गरेका छन् ।

दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले भने ‘महिनाअघि नै ठूलोबुबा (दुर्गाप्रसाद) लाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिएपनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको छ ।’ गोपालले दुर्गाप्रसादको थप उपचारका लागि काठमाडौँलगायत विभिन्न स्थानबाट सहयोगको प्रस्ताव आइरहे पनि अहिले राखिएको अस्पतालबाट निकाल्न नसकिएको बताएका छन् ।

ुउपचारमा त्यहाँ सात लाख १५ हजार खर्च भएको थियो । गोपालले भने, ‘तीन लाख रुपैयाँ त बुझायौँ, बाँकी चार लाख १५ हजार रुपैयाँ नहुँदा ठूलोबुबा अस्पतालमै बस्नुपरेको छ । पैसा नतिरी उहाँलाई अस्पतालबाट ल्याउन सकिँदैन ।’

अस्पतालमा छ महिनाअघि नै चार लाख १५ हजार रुपैयाँ बाँकी भएको जनाउँदै उनले अहिले हिसाब–कति पुग्यो थाहा थाहा नभएको बताए । अस्पतालले बारम्बार फोन गरिरहेको छ,ु उनले भन्छन्, ‘ठूलोबुबालाई भारतीय ‘हाइकोर्ट’को आदेशअनुसार दिइएको रकम पनि यसअघिकै उपचारमा धेरै खर्च भइसकेको छ ।’ थप उपचारका लागि इलामस्थित मानवअधिकार मञ्चले समेत दुर्गाप्रसादलाई अस्पतालसम्म लैजान सहयोग गरेको तर अहिले रकम नहुँदा अस्पतालबाट निकाल्न नसकिएको गोपालको भनाइ छ ।

ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनका अध्यक्ष डा। गिरिराज भन्टानाले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको बताए । ‘दुर्गाप्रसादमा देखिएको रोग सिजिफोर्नियाँ हो’, उनले भने, ‘शतप्रतिशत निको भएको त होइन तर उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको छ ।’ उनले दुर्गाप्रसाद अब पहिलाभन्दा सामान्य जीवन बिताउनसक्ने र अरूले भनेको काम गर्नसक्ने भएको जानकारी दिए ।

दुर्गाप्रसाद जेलबाट छुटेर आएपछि उनीमा मानसिक समस्या देखिएकाले विराटनगरमा समेत १७ दिन उपचार गरिएको गोपालले बताएका छन् । ‘विराटनगरमा गरिएको उपचारले समेत निको नभएपछि चितवन लगिएको हो,’ उनले भने, ‘अहिले चाहिँ निको भइसकेको बिरामीलाई अस्पतालबाट निकाल्न सकिएको छैन ।’

इलामको माई नगरपालिका १०, लुम्बाक घर भएका दुर्गाप्रसादलाई २०७७ साल चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो । उनी २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता भएका छन् । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी २०७७ साल फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला परे । विभिन्न संघसंस्थाको पहलमा उनलाई २०७७ साल चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो । अहिले उनकी आमाको निधन भइसकेको छ ।

इलामस्थित जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो । कोशी प्रदेश सरकारले उनको केही उपचार निःशुल्क गरिदिएको थियो । उनको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन ५० हजार रुपैयाँ नगद प्रदान गरेको थियो ।

उपचारपछि घर आएका दुर्गाप्रसादमा पुनः सामाजिकीकरणको समस्या दोहोरिएको थियो । लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारमा लगिएको स्थानीय रोहित आचार्यले बताए ।

सम्बन्धित समाचार

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८० पुष १८, ११: ३४

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

मनसुन थप चार प्रदेशमा विस्तार
मनसुन थप चार प्रदेशमा विस्तार
  • २०८० पुष १८, ११: ३४

काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
  • २०८० पुष १८, ११: ३४

काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...