नेपाली कांग्रेस एकताबद्ध रहने हो भने आपसमा बसेर समस्या समाधानको सूत्र खोजून् – Naya Bikalpa
August 19, 2026, Wednesday      Epaper

नेपाली कांग्रेस एकताबद्ध रहने हो भने आपसमा बसेर समस्या समाधानको सूत्र खोजून्

१. भेला जब सम्मेलन हुनपुग्यो………
अहिले नेपाली कांग्रेस कतिवटा छन् ? बीपी कोइराला,गणेशमान सिंह, कृष्णप्रसार भट्टराई, सुवर्ण समशेर राणाको अगुवाइमा गठित नेपाली कांग्रेस एउटै छ । १४औँ महाधिवेशनबाट संगठित नेपाली कांग्रेसमा त्यसबेला धाँजा फाट्यो जब महामन्त्री दुवैले विशेष अधिवेशनका लागि प्राप्त निवेदनलाई स्वीकार गरी नेकां विधानको दफा १७.२ अनुसारको बाध्यकारी अधिवेशन गराए र १४औँ महाधिवेशनको समिति विघटन भई नयाँ कामचलाउ समिति गठन भयो जसको नेतृत्व तत्कालीन महामन्त्री गगनकुमार थापाले गर्न थालेका हुन् । त्यो समितिमा कोको छन् भन्ने कुरा गौण हो तर चौधौँ महाधिवेशनको अस्तित्व कति छ भन्ने कुरामा अब सर्वोच्च अदालत प्रवेश गर्ने अवस्था आएको देखिन्छ । त्यसैपनि विशेष अधिवेशनको नेतृत्वलाई अस्वीकार गर्नेहरुबाट नेपाली कांग्रेसका नाममा नै राष्ट्रिय भेला गर्ने निधो गरेका थिए साउन २९ देखि ३१सम्मका लागि । तर हारेको मुद्दामा सुरुदेखि नै सुनुवाइ हुने भएपछि आफूलाई मुख्य कांग्रेस ठान्ने तर विशेष अधिवेशनमा भाग नलिएका नेता तथा कार्यकर्ताहरुको भेलाले वैधानिकता प्राप्त गर्न भनेर भेलालाई सम्मेलनको नाम दिइयो ।

कांग्रेस अहिलेसम्म एउटै छ तर आपसमा मत नमिलेर छिन्नभिन्न हुने अवस्थामा पुगेको देखिन्छ । भन्नेले त के पनि भन्छन् भने चाहे आफूलाई मूल धारा मान्नेहरु हुन् या विशेष परिस्थितिमा विशेष अधिवेशन गरेर पार्टी जोगायौँ भन्नेहरु हुन् दुवै पक्षलाई आफूमा मिल्न नसक्नेहरुले निस्सा पाऊन् या भोलि निर्वाचन जितेर हस्तिनापुरको राज्य लिऊन् या सानेपामा रजगज गरुन्, तिनले कसरी मुलुकलाई मिलाएर शासन गर्लान् ? विशेष अधिवेशन गर्ने पनि उनै कांग्रेस हुन्, राष्ट्रिय भेला गर्ने पनि उनै कांग्रेस हुन् अनि विवाद गर्नुभन्दा आपसमा बसेर सूत्र निकाल्ने र आगामी महाधिवेशनलाई एकताबद्ध महाधिवेशन गर्ने नीति आवश्यक छ । अहिले वामपन्थीहरु सरकारमा घुस्ने, रास्वपाको नजिक पुगेर विश्वासिलो हुने, वाम एकताको नाममा एकीकृत हुने र बीपीले इन्डोनेसियाको उदाहरण दिँदा कामरेड अडिटको कुरा गरेजस्तै गरी संगठित हुने प्रयासमा देखिन्छन् ।

तर गैर वामपन्थीहरु भने आपसमा खिँचातानी गर्ने, गैरवाममध्ये सबैभन्दा विश्वसनीय र ठुलो दल नेपाली कांग्रेस आफैँमा यदुवंशीजस्तै हुने र आफ्नो संगठनभित्र गर्ने कुरा अदालतमार्फत् प्राप्त गर्ने अभीष्टता राख्ने ? अनि कोही पनि आफ्नो इगोभन्दा दललाई ठुलो नमान्ने ? भन्ने बेलामा बीपी, गणेशमानजी, किसुनजीको त्यागको कुरा गरेर आफू त्यसैको अनुयायी मान्नेहरु दलभन्दा आप्mनो व्यक्तिगत पद र स्वार्थको पक्षमा वकालत गर्दै पार्टी एकताको कुरा गर्ने ? प्रजातन्त्रवादीहरुसँग साझा मुद्दामा एकता गर्नु पर्ने बेलामा आफ्नै पार्टीमा धाँजा फटाएर अर्थात् घर जलाएर आगो ताप्ने र त्यही घरको खरानीमा लुगा धुने काम भइरहेको बाहिरबाट देखिन्छ । विशेष अधिवेशनले जस्तोसुकै विधान पारित गरेको होस्, भेलाबाट सम्मेलन भएको भेलाले जस्तोसुकै प्रस्ताव पारित गरेर जनताको आँखामा वैधानिकताको लेपन लगाउन खोजून्, नेपाली जनताले चाहेका हुन् एउटा नेपाली कांग्रेस । सवैतिरबाट संविधानमाथि धाबा बोलिएको बेला छ, हिजो आफूले मानेको संविधानमाथि आफैँ प्रश्न उठाउनेहरुको जमात छ अनि त्यस्तो बेलामा एकताबद्ध प्रजातान्त्रिक शक्तिको सिंगो नेतृत्व गर्ने बेलामा आफूमा फुट र गुट देखाएर अनि वैधानिकताको विवादमा अदालत धाएर के होला ? धुजा धुजा पार्टींभित्र बाइसे चौबिसे राज्य चलाउने होला ? लाज लाग्ने बेला भयो ती मतदाताहरुलाई जसले २०८२सालको अप्ठेरो बेलामा पनि १८लाख मत दिए ।

११लाख मत विशेष अधिवेशनका कारणले हरायो कि त्यसकै कारणले बच्यो भन्ने कुराको अहिले निर्कौल हुँदैन, यो काल्पनिक कुरा हो । बरु माघ ४गते गगनको नेतृत्वलाई निर्वाचन आयोगले मान्यता नदिएर झुलाएको भए नेपाली कांग्रेस निर्वाचनमा शून्यमा झथ्र्यो र समानुपातिकतर्फको मत गणना हुँदैनथ्यो किनभने नेपाली कांग्रेस भन्ने दलको वैधानिकताको नै विवाद रहेको हुन्थ्यो, कोही पनि उठ्न पाउँदैनथे दलको नाममा । कम्तीमा अहिले ३८जना त छन् प्रतिनिधि सभामा । सायद यही भएर होला, सांसदहरु राष्ट्रिय भेलामा देखिएनन् । त्यसो त राष्ट्रिय भेला पनि कांग्रेसकै थियो, सानेपा पनि कांग्रेसकै हो । आम मतदाता चाहन्छन् आपसमा बसेर त्यस्तो निर्णय गरुन् जसले सर्प पनि मरोस् र लौरो पनि नभाँचियोस् । अब विवाद आयो, आपसमा मन माझामाझ गर्नैपर्ने भयो भने दुई पक्षका बिचमा समझदारी हुने गरी मध्यस्थता गर्ने प्रजातन्त्रवादीहरुको समूह तयार गरौँ र आगामी निर्वाचनको लागि एकताको सूत्र निकालौँ । महाधिवेशन छिटो गरौँ, भावी नेतृत्व सहमतिमा तयार गरौँ भनेर भन्नेहरुको आवाज हराएको देखिन्छ । अहंकारभन्दा दुवैतर्फ सहिष्णुता देखाउने काम गरौँ । पार्टी एकताको लागि जुनसुकै त्याग गर्न पनि तयार हुने हो भने कतिबेर लाग्छ र एकताको सन्देश प्रवाह गर्न ? वैधानिकताको एउटा पाटो आपैmँ तयार हुन्छ यदि एकता भएमा । यसमा महत्वपूर्ण भूमिका रहने छ पूर्व प्रधानमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवाको जो भर्खरै विदेशबाट स्वस्थ भएर नेपाल फर्कनु भएको छ र राष्ट्रिय भेलाको नेतृत्वसमेत गर्नुभएको छ । अदालतको निर्णयभन्दा आपसका बसेर गरेको निर्णय स्थायी हुन्छ भन्ने कुरा जति देउबाजीलाई थाहा छ, त्यति अरु कसैलाई थाहा छैन पनि ।

२. जब चुलो बल्न छाड्छ, जनता सडकमा निक्लने छन् ……
तलब वृद्धि भयो कसलाई भने जो राष्ट्रसेवामा समर्पित छन् । पेन्सन तिनको मात्र पाक्छ जो हिजो राष्ट्रसेवामा थिए । भनिन्छ तलबमा पनि विभेद गरिएको छ, पेन्सनमा पनि विभेद गरिएको छ । पेन्सनमा बसेकाहरुलाई महङ्गी बढेकै छैन जस्तो छ । आम नागरिक महङ्गीबाट प्रताडित छन् । नेपाल राष्ट्र बैंकले पनि फुकी फुकी निर्णय गर्दासमेत महङ्गी बढेकै भनेको छ । ग्याँस पाइँदेन, तेलको भाउ बढेकै छ , खाद्यान्नको भाउले सगरमाथा चुमेको छ ।

बालेन्द्र सरकारको उदयपछि मात्र महङ्गी बढेको होइन, तर सरकार चलाउने ढंग नपुग्दा भने कृत्रिमरुपमा महङ्गी बढेको हो तर त्यसको नियन्त्रणमा स्टन्टमात्र भयो, रोकिएन । त्यसका लागि कुनै प्रभावकारी कदम चालिएन । व्यापारीहरुले कृत्रिम अभाव देखाउने पुरानै चलनमा आपूmलाई अभ्यस्त राखे किनभने बालेन्द्र सरकारले निजी क्षेत्रलाई विश्वासमा लिन सकेको देखिएन जवकि भेटघाटको क्रम भने खुबै हल्ला गरेर प्रचार गरियो । मुलुक अत्यन्त संवेदनशील अवस्थामा छ भनिन्छ आफ्नै स्वार्थमा तर संवेदनशीलताको पक्षमा कुनै छलफल हुँदैन दलहरुका बिचमा । सरकारभन्दा रास्वपा सक्रिय भएको छ जसलाई मुखले पिउनु पर्ने पानी नाकले पिएको भनेर उदाहरण दिन थालेको छन् राजनीतिक पर्यवेक्षकहरुले ।

अनि के पनि बुझ्नु पर्छ भने जब चुलो बल्न छोड्छ, जनता पोहोर भदौ २३, २४भन्दा अझ कडारुपमा देखिने छन् । त्यसको संकेत पाइन थालेको छ । सरकार असफल हुने छुट छैन, तर आफ्ने ढंगले असफलतातर्फ तीब्र गतिमा रकेटको गतिमा दौडिरहेको देखिन्छ । जस्तो अवस्था आउँछ, त्यसको मूल्य देशले बेहोर्नु पर्ने हुन्छ । अब यो देशले धेरै समस्या झेल्न सक्दैन, बरु सरकारको नेतृत्व पक्ष परिवर्तन गरेर भए पनि रास्वपाले स्थितिलाई सहजीकरण गर्न भने सक्छ । रास्वपाका सांसदहरुको ताल हेर्दा यो दल पाँचवर्ष होइन, दुई वर्षसम्म पनि एकताबद्ध रहला या नरहला भन्ने शंका उत्पन्न हुन थालेको छ ।

सम्बन्धित समाचार

नेपालीकांग्रेस एकताबद्ध रहने हो भने आपसमा बसेर समस्या समाधानको सूत्र खोजून्
नेपालीकांग्रेस एकताबद्ध रहने हो भने आपसमा बसेर समस्या समाधानको सूत्र खोजून्
  • २०८३ भाद्र १, १६: ०४

    १. भेला जब सम्मेलन हुनपुग्यो……… अहिले नेपालीकांग्रेस कतिवटा छन् ?बीपी कोइराला,गणेशमान सिंह, कृष्णप्रसार भट्टराई, सुवर्ण समशेर राणाको अगुवाइमा...

मुलुक, संविधान र लोकतन्त्रका लागि कांग्रेसमा एकता
मुलुक, संविधान र लोकतन्त्रका लागि कांग्रेसमा एकता
  • २०८३ भाद्र १, १६: ०४

काठमाडौं । मुलुककै सबैभन्दा पुरानो र लोकतन्त्रको पर्यायबाची पार्टी नेपाली कांग्रेस यतिबेला इतिहासकै गम्भीर मोडमा उभिएको छ । कांग्रेसको इतिहास...

विद्यालयमा आजका विद्यार्थी: बदलिँदो समय, प्रविधि र विद्यार्थी जीवनका केही पक्ष
विद्यालयमा आजका विद्यार्थी: बदलिँदो समय, प्रविधि र विद्यार्थी जीवनका केही पक्ष
  • २०८३ भाद्र १, १६: ०४

नेपाली शब्दकोशले विद्यार्थी भन्नाले “कुनै विषयबारे खोज गर्ने अध्येता, विद्वान्”, “नियमित रूपमा विद्या आर्जनमा लागिरहने व्यक्ति, शिक्षण संस्थामा अध्ययन गर्ने...