हाम्रो विदेश नीति भनेको कसैको विरुद्ध कसैलाई प्रयोग गर्ने हुनुहुँदैन तर आफ्नो स्वतन्त्रताको भने रक्षा गरिनु पर्छ – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

हाम्रो विदेश नीति भनेको कसैको विरुद्ध कसैलाई प्रयोग गर्ने हुनुहुँदैन तर आफ्नो स्वतन्त्रताको भने रक्षा गरिनु पर्छ

hfd

नयाँ विकल्प,

काठमाडौं

१.यता केही समयदेखि नेपालको परराष्ट्र नीतिका बारेमा बहस सुरु भएको छ । स्वाभाविकै हो बहस हुनुपर्छ तर त्यस्तो बहस हुँदा नेपालको पक्षमा हुनुपर्छ । नेपालको यथार्थ तर सत्य तथ्यका आधारमा हुनुपर्छ । कुनै पनि देशको विदेश नीति भनेको त्यो देशको गृहनीतिको विस्तारित रुप हो जुन अरु देशमा आफ्नो पहिचानका लागि कार्यान्वयन गरिन्छ । तयारीका साथ । त्यस्ता मानिसहरु पठाइन्छ जसले मुलुकको प्रतिनिधित्व गरोस् । सामान्यतया त्यस्ता मानिसहरुलाई कूटनीतिज्ञ भनिन्छ । आफ्नो देशको पहिचानलाई विस्तार गर्नका लागि गरिएको दौत्य सम्बन्धको आधारशिलामा उभिएर विनम्रताका साथ आफ्नो देशका पक्षमा गरिने प्रचार, प्रसार र ती देशहरुमा भएका गरेका आफ्ना देशका बारेका सम्पूर्ण सन्देश मुलुकमा गोप्य तरिकाले सम्प्रेषण गर्ने पनि हो ।
२.कूटनीति भनेको कला पनि हो । विज्ञान पनि हो । कला यसकारण हो कि यसमा किन त्यो देशसँग दौत्य सम्बन्ध स्थापना गरेको हो, त्यसले आफ्नो देशलाई कुन कुन विषयमा फाइदा पु¥याउँछ । दृष्टिकोणको अभावमा कतिपय देशहरुमा खोलिएका दूतावासहरुको कार्यविहीन देखिन्छन् भने कतिपय देशहरुमा तत्काल दूतावास खोल्नुपर्नेमा पनि त्यहाँ खोलिएको देखिँदैन ।
३. कूटनीति भन्ने शब्दका बारेमा बृहत् नेपाली शब्दकोशले नै भन्छ: १.राष्ट्र राष्ट्रका बिचको राजनीतिक सम्बन्ध वा त्यस्तो सम्बन्ध दक्षतापूर्वक सञ्चालन गर्ने नीति । २. व्यक्ति व्यक्ति वा राष्ट्र राष्ट्रका बिच पारस्परिक व्यवहारमा दाउपेच गर्ने नीति । ३. रहस्य बुझ्न गाह्रो पर्ने र अरुलाई अलमल्याउने तथा आफूलाई सधैँ ओबानुु रहन सक्ने राजनीतिको बाठो चाल, गुप्त चाल । ४.जसरी पनि आफ्नै अनुकुल अर्थ लाउन सकिने वचन वा शैली ।
४. कूटनीतिमा सिधा काममात्र हुँदैन । भनिने काममात्र हुँदैनन् । आफ्नो देशका पक्षमा कसरी कुन तरिकाले सूचना प्राप्त हुने हो , ती सबै काम हुने हुनाले कहिलकाहीँ यतिजना कूटनीतिज्ञहरुलाई फलानो देशले निकाल्यो भन्ने सुनिन्छ । कतिपय विषयमा अनौपचारिक जानकारीका आधारमा औपचारिक व्यवहारको छनौट गरिन्छ । त्यहाँ भाषाको ठुलो अर्थ हुन्छ, गरिने सामान्य व्यवहारमा समेत अर्थ लगाइन्छ । त्यसैले हाम्रो सामान्य जीवनमा पनि घुमाइरो कुरा गर्ने, कसैलाई पनि भनी नबिझाउने र आफ्ना कुरा विनम्रताका साथ भनी भ्याउने मानिसलाई कस्तो कूटनीतिक कुरा गर्छ भनिन्छ । अर्थात् कूटनीतिक व्यक्ति भनेको जसलाई पायो, त्यसैलाई बनाउने पनि होइन रहेछ र जसले पनि कूटनीतिक सेवाको काम दायित्वपूर्ण भावले गर्न सक्छ नै भन्ने पनि होइन रहेछ ।
५. त्यसैले सबै देशमा कूटनीतिक कार्यका लागि कूटनीतिक सेवा नै गठन गरिन्छ जसलाई विदेश मन्त्रालयले समन्वय गरेको हुन्छ । त्यहाँँ काम गर्ने सबैको ज्ञान भनेको कूटनीति गर्नका लागि सिकाइन्छ । सिद्धान्त र व्यवहारमा कसरी आफ्नो मुलुकको शान , इज्जत राख्न सकिन्छ भनेर सिकाइन्छ । त्यसैले कूटनीतिक सेवाको मानिसहरुलाई राजदूतावासमा राजदूत, उसको निकटतम सहयोगी बनाएर पठाएको हुन्छ ।
६. मेरो विचारमा कूटनीति विज्ञान यसकारणले हो कि यो यथार्थ सूचनाका आधारमा नीति तयार गरिन्छ र प्राप्त सूचनाहरुको प्रशोधन गरेरमात्र बोलिन्छ, व्यवहार गरिन्छ र आवश्यक सूचना सम्प्रेषण गरिन्छ । कुनै देशको परराष्ट्र नीति एउटै आधारशिलामा उभिएको हुन पनि सक्छ र आफ्नो देशसँगको अर्को देशको व्यवहारको आधारमा कस्तो अपनाउने भन्ने पनि नीति तयार गरिएको हुन्छ तर नीतिले आफ्नै देशको पक्षमा, फाइदामा काम गरेकै हुनुपर्छ । गलत सूचनाको सम्प्रेषणले दुई देशका बिचमा युद्धसमेत हुनसक्छ, दौत्य सम्बन्ध तोडिन सक्छ र आपसमा सधैँ तनाव भइरहन्छ । त्यसैले परराष्ट्र मन्त्रालयको कूटनीतिक जानकारी पाएको व्यक्तिले नै राजदूतावासको जिम्मा पाएको हुन्छ । मैले थाहा पाउन थालेदेखि भारतबाट नेपालमा आएका राजदूतहरुमध्ये प्रोफेसर विमल प्रसाद बाहेक सबै नै विदेश मन्त्रालयका कूटनीतिक सेवाका कूटनीतिज्ञहरुमात्र आएको देखेको छु र चीनबाट सायदै कुनै राजनीतिक व्यक्ति वा सामाजिक सेवाको व्यक्ति राजदूत भएको जानकारीमा लिएको छु ।
७. मैले यी माथिका कुराहरुको पृष्ठभूमि दिएको कारण हो, अहिले नेपालको विदेश नीतिको बारेका बहस सरकार भित्र, सरकार बाहिर, दलहरुका बिचमा र सामाजिक क्षेत्रमा समेत उठ्न थालेको छ —नेपालको विदेश नीतिको आधारशिला भनेको कुनै छिमेकी देशको सुरक्षाको बारेमा बढी चिन्ता लिने खालको हुनुपर्छ कि नेपालको हितका लागि हुनुपर्छ ? अनि नेपालको हित कसरी हुन्छ भन्ने कुरा दल विशेषको नीतिमा भर पर्छ कि मुलुकको अवस्थाको आधारमा तयार गरिनु पर्छ ? नेपा
८. नेपालको परराष्ट्र नीति के साँच्चै असंलग्न रहँदै आएको छ त ? हिजोको शीतयुद्धताका पनि हामी असंलग्न थियौँ कि रुसी धुरीमा बढी लहसिएका थियौँ किनभने असंलग्न आन्दोलनका प्रणेताहरु सामान्यतया अमेरिका विरोधी थिए र अफ्रिका , एसिया, दक्षिण अमेरिकाका देशहरुको झुन्डको रुपमा असंलग्न देशहरुको संख्या देखिन्छ र आज पनि त्यो असंलग्न आन्दोलनको सम्मेलन यसो भेटघाट गर्ने थलोको रुपमा पाइन्छ । जस्तो कि जुत्ता लगाउनेले थाहा पाउँछ मेरो कुन खुट्टामा कति पीडा भएको छ, त्यस्तै तरिकाले उसले जुत्ताको व्यवस्थापन गर्ने गर्छ ।
९. मेरो विचारमा असंलग्नता भनेको कसैसँग पनि वैरभाव नगर्ने तर नेपालको हित कसरी हुन्छ भनेर तयार गरिने विदेश नीति हो । यो घोषणा गरेरमात्र हुने होइन रहेछ । नेपालले पाउन लागेको विकास प्याकेज नलिएर त्यही कामका लागि तत्कालै कडा व्याजमा ऋण लिँदा भने विदेश नीति असल हुने होइन । मिलेनियम च्यालेन्ज कर्पोरेसनको प्याकेजको कारणले बेल्ट एन्ड रोड परियोजनाको बारेमा चर्चा चल्ने गरेको देखिन्छ । सायद हाम्रालागि कुनचाहिँ तत्कालका लागि आवश्यक हो भन्ने बारेमा सडकमा उभिएर आन्दोलन गरेर कूटनीतिक सम्बन्ध न त सप्रन्छ , न त अर्कोदेशको आवश्यकता पूरा गर्नका लागि हामीले सडक तताउँदा मुलुकको हित हुन्छ ।
१०. अमेरिकासँगको नेपाली सम्बन्ध ७५ वर्ष हुन लागेको छ । अहिले हामी ७५वर्ष मनाउँदै छौँ । चीन र भारतसँग नेपाल सीमा जोडिएको देश हो । हाम्रो कूटनीतिक सम्बन्ध करिब १२० देशहरुसँग पुग्न लागेको छ । ती देशहरुसँग भारत, चीन र अमेरिकाको सम्बन्ध कस्तो छ भन्ने सोच्ने काम नेपालको होइन , जानकारी राख्ने काम भने हो । नेपालमा अमेरिका र चीनको सम्बन्धका बारेमा हामीले सोचेका हुँदैनौँ । हाम्रो बारेमा हामीले सोच्ने हो । अमेरिकाका बारेका अमेरिकाले सोच्ने हो । चीनका बारेमा चीनले सोच्ने हो । भारतका बारेमा भारतले सोच्ने हो । नेपालमा नेपालले चीनसँगको सम्बन्ध, भारतसँगको सम्बन्ध हाम्रा आवश्यकताका आधारमा सोच्ने हो, तयार गर्ने हो । अमेरिका र भारतको सम्बन्ध कस्तो छ, अमेरिका र चीनको सम्बन्ध कस्तो छ भनेर सोच्ने हो भने ती सम्बन्धहरु चिसिने र तात्ने काम छिनछिनमा हुन्छन् र उनीहरुको खबौँको व्यापारका आधारमा बन्ने बिग्रने गरेको पाइन्छ । हामीले बुझ्ने कुरा के मात्र हो भने हाम्रो सम्बन्ध सबैसँग राम्रो हुनुपर्छ तर अरुदेशको सम्बन्धलाई आधार बनाएर उनीहरुको चासोलाई मात्र सम्बोधन गर्न थाल्यौँ भने कसैले पनि हामीसँग सम्बन्ध राख्न चाहँदैनन् होला । मैले बुझ्न नसकेको कुरा के हो भने भारत, चीन र अमेरिकाको सुरक्षा चासो हामीले कसरी पूरा गर्न सकौँला ? भारत र चीनको नेपालसँग हजाराँै किलोमिटर खुला सीमा छ । भारत र चीन एकप्रकारले युद्धको मैदानमा नै छन् । पाकिस्तान र भारत युद्धको मैदानमा नै छन् । भारतमा गोर्खा सेनाको बटालियन छ र नेपाली सेनापति अनि भारतीय सेनापति एकअर्का देशका मानार्थ महारथी छन् ।
११. र अन्त्यमा, नेपाल एउटा सार्वभौमसत्तासम्पन्न र प्रजातान्त्रिक देश हो । नेपालको आवश्यकताअनुसार जुनसुकै देशसँग सम्बन्ध विस्तार गर्न र आफ्ना आवश्यकता पूरा गर्न सहयोग लिन सक्छ र हाम्रो मुख्य जिम्मा जस्तो रहेको शान्तिसेनामा जाने कामका कारणले धेरै देशहरुसँग सैनिक सहकारिता गर्नुपर्छ । नेपालले कोसँग कहिले सैनिक सहयोग लिने, कोसँग अनुदान लिने, कोसँग ऋण लिने , कोसँग कहिले कस्तो सम्बन्ध राख्ने भन्ने कुराचाहिँ आवश्यकता र विश्व आवश्यकताका आधारमा हुने कुरा हो । स्वतन्त्ररुपमा गरिने व्यवहार हो । नेपालले असंलग्न नीतिका नाममा कुनै अमुक छिमेकीका लागि आफ्ना सबै अन्तराष्ट्रिय सम्बन्धहरुको बलिदान दिन सक्दैन भन्ने कुरा सबै नेपालीले बुझेका छन् । एउटा कुरा पक्का हो, हामी कसैको विरुद्धमा कसैलाई प्रयोग गर्दैनौँ र आफ्नो आवश्यकताको पूर्तिका लागि कसैको घुर्की र धम्कीको वास्ता पनि गर्दैनौँ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७९ श्रावण २, १४: १९

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७९ श्रावण २, १४: १९

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७९ श्रावण २, १४: १९

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...