गिरिजाबाबुको विचार- समयमै महाधिवेशन कांग्रेस एकताको आधार : सहमहामन्त्री डा. संग्रौला – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

गिरिजाबाबुको विचार- समयमै महाधिवेशन कांग्रेस एकताको आधार : सहमहामन्त्री डा. संग्रौला


विराटनगर : कांग्रेसको विपी कोइरालादेखि गिरिजाप्रसाद हुँदै सुशील कोइरालासम्मको कालखण्ड नेपालको राजनीतिक इतिहासले सधैं सम्झिने समय हो। किनकि उनीहरूमा राजनीतिक संस्कार, त्याग, समर्पण र उच्च नेतृत्व क्षमता थियो, जसका कारण नेपाली कांग्रेस नेपालको राजनीतिक परिवर्तनको प्रमुख शक्ति रहँदै आएको थियो।

तर, विगत १० वर्षयता कांग्रेसभित्र नेतृत्व क्षमताप्रति देखिएको असहिष्णुताका कारण कांग्रेस इतिहासकै संवेदनशील मोडमा उभिएको छ। उत्तराधिकारी दाबी गर्ने जीवित कोइरालाहरू त्याग, समर्पण र नेतृत्वदायी भूमिकाबाट विमुख हुँदै गएका छन्। तीन नेता तीनतिर फर्किएका छन्।

भविष्यमा सिंगो कांग्रेसको प्रमुख नेतृत्व लिन सक्ने आधारस्तम्भहरू भत्किँदै गएको उनीहरूले पत्तै पाएका छैनन्। न उनीहरूमा निर्णय क्षमता छ, न सहमति, सहकार्य र एकताको स्पष्ट खाका। तर, गिरिजाप्रसाद कोइरालामा निर्णय क्षमता, सहमति, सहकार्य र एकता पार्टीभित्र सधैं अपरिहार्य रहेकाले कांग्रेसका नेताहरूले उनलाई सम्झने गरेका छन्। गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा पुनः सहमति, सहकार्य र एकताको बहस गरिएको छ।

नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको आन्तरिक सुदृढीकरण, क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण, र समयमै १५औँ महाधिवेशन सम्पन्न गर्नु नै अहिलेको मुख्य आवश्यकता भएको बताएकी छन्। मोरङमा शनिबार आयोजित कार्यक्रममा सहमहामन्त्री डा. संग्रौलाले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक र नयाँ सदस्यता वितरणको काम तीव्र गतिमा अगाडि बढिरहेको जानकारी गराइन्।

उनले पार्टीभित्र पटक–पटक समय थप्दा नकारात्मक सन्देश जाने भएकाले समयमै काम सक्नुपर्नेमा जोड दिइन्। नयाँ पुस्ता, विशेषगरी युवा तथा महिलाहरूलाई पार्टीमा जोड्नका लागि नयाँ सदस्यता वितरणलाई अझै केही समय प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने धारणा राखिन्। उनले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्नु नै पार्टी एकताको बलियो आधार भएको स्पष्ट गरिन्।

क्रान्तिनायक एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री डा. संग्रौलाले गिरिजाबाबुले अघि सारेको ‘सहमति, सहकार्य र एकता’को सिद्धान्त अहिलेको राजनीतिक परिवेशमा झन् सान्दर्भिक बनेको उल्लेख गरिन्।

गिरिजाबाबुको दृढ इच्छाशक्तिका कारण तत्कालीन समयमा ऐतिहासिक बृहत् शान्ति सम्झौता सम्भव भएको र देश रक्तपातपूर्ण अवस्थाबाट जोगिएको स्मरण गर्दै उनले वर्तमान परिप्रेक्ष्यमा नेपाली कांग्रेस सोही जगमा उभिएर देश र पार्टीलाई निकास दिन तयार रहेको बताइन्। गिरिजाबाबुमा युवा जोश र महिलाहरूलाई नेतृत्वदायी भूमिकामा अगाडि बढाउने दूरदर्शी सोच रहेको उल्लेख गर्दै उनले त्यही सोच र भावनालाई आत्मसात् गरी वर्तमान नेतृत्वले संगठनलाई मिलाएर अगाडि बढाइरहेको बताइन्।

पार्टीको आन्तरिक संगठन र आगामी कार्यदिशाबारे स्पष्ट पार्दै डा. संग्रौलाले कोशी प्रदेशका जिल्लाहरूमा पार्टीको काम धमाधम भइरहेको र यसले संगठनमा नयाँ ऊर्जा थपेको बताइन्। पार्टीलाई जगैदेखि बलियो बनाउन तल्लो तहका कार्यकर्ता र आम नागरिकको भावना समेट्नुपर्नेमा जोड दिँदै उनले भनिन्, “समयमै महाधिवेशन र इमानदारितापूर्वक सांगठनिक अध्यावधिक नै पार्टी एकताको असली आधार हो। गिरिजाबाबुले अघि सार्नुभएको सहमति, सहकार्य र एकताको नीति सधैं अपरिहार्य रहनेछ।”

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०८३ असार २४, ०८: ०१

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०८३ असार २४, ०८: ०१

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ असार २४, ०८: ०१

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...