भोटेकोशी बाढीपछि उद्धार र पुनर्निर्माणबारे विज्ञसँग कांग्रेसको छलफल, सरकारको कार्यशैलीप्रति प्रश्न – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

भोटेकोशी बाढीपछि उद्धार र पुनर्निर्माणबारे विज्ञसँग कांग्रेसको छलफल, सरकारको कार्यशैलीप्रति प्रश्न

ललितपुर : भोटेकोशी क्षेत्रमा आएको विपद्‌पछि उद्धार, राहत तथा भौतिक पुनर्निर्माणको अवस्थाबारे नेपाली कांग्रेसले प्राविधिक विज्ञहरूसँग विस्तृत छलफल गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत पूर्वाधार विकास अवधारणा, संवाद तथा दृष्टि उपसमितिको संयोजनमा बी.पी. स्मृति भवन, ललितपुरमा आयोजित छलफलमा वरिष्ठ इञ्जिनियर, योजनाविद् तथा प्राविधिक विज्ञहरूको सहभागिता रहेको थियो।

छलफलका क्रममा जलविद्युत् सुरुङमा फसेकाहरूको उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ। प्रयास भइरहेको भनिए पनि परिणाम शून्यजस्तै देखिएको निष्कर्ष निकालिएको छ।

त्यस्तै, हराइरहेका तथा फसेकाहरूको उद्धारमा अन्तर्राष्ट्रिय तथा स्थापित प्राविधिक सहयोग समयमै नलिइएको आरोप लगाइएको छ। सुरक्षा निकायको मात्र परिचालन गरेर अन्य दक्ष जनशक्तिलाई बेवास्ता गरिएको विज्ञहरूको भनाइ छ।

सरकारी निकाय, सुरक्षा संयन्त्र, आयोजना सञ्चालक र स्थानीय तहबीच समन्वयको अभाव देखिएको पनि छलफलमा उठाइएको छ। प्रदेश र स्थानीय सरकारलाई योजनाबद्ध रूपमा सहकार्यबाट टाढा राखिएको आरोपसमेत लगाइएको छ।

राहत वितरणमा असमानता र सञ्चारमा कमजोरी देखिएको भन्दै पीडितसम्म पर्याप्त राहत नपुगेको निष्कर्ष निकालिएको छ। सूचना प्रवाहमा राज्य संयन्त्र सीमित हुँदा प्रभावकारी समन्वय हुन नसकेको बताइएको छ।

छलफलले प्राविधिक विज्ञ, उपकरण र स्रोत साधनको उचित प्रयोग नभएको पनि औंल्याएको छ। सत्तारूढ पक्षसँग नजिक जनशक्तिलाई प्राथमिकता दिँदा अन्य दक्ष जनशक्तिको अवमूल्यन भएको आरोप लगाइएको छ।

विज्ञहरूले सरकारलाई तत्काल उद्धार कार्यलाई तीव्र बनाउँदै दक्ष जनशक्तिको भेदभावरहित परिचालन गर्न, साथै स्थानीय सरकारलाई सक्रिय रूपमा संलग्न गराउन सुझाव दिएका छन्।

कार्यक्रममा प्रा. डा. इन्द्र आचार्य, पवन भट्टराई, सुवासचन्द्र बराल, लक्ष्मण के.सी., डा. मुकेश काफ्ले, दिनेश भट्ट, विनोद देवकोटा, सुदर्शन भण्डारी, गोपाल निउरे, उमेश धिताल र कागडा प्रसाईंलगायत इञ्जिनियरहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका उपप्रमुख विश्वप्रकाश शर्माले विपद्को समयमा सरकार मानविय ढंगले प्रस्तुत हुनुपर्ने र घटनालाई राजनीतिकरण नगर्नुपर्ने बताए। उनले उद्धार, राहत र पुनर्स्थापनामा प्रभावकारी कदम चाल्न दबाब सिर्जना गरिने विश्वास व्यक्त गरे।

कार्यक्रमको सञ्चालन उपसमितिका संयोजक इञ्जिनियर अमृत ज्ञवालीले गरेका थिए।

सम्बन्धित समाचार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र
  • २०८३ भाद्र १५, १९: ०७

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि...

माथिल्लो त्रिशूली–१ आयोजनामा ६ शव फेला
माथिल्लो त्रिशूली–१ आयोजनामा ६ शव फेला
  • २०८३ भाद्र १५, १९: ०७

काठमाडौं : बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनास्थलमा खोजी तथा उद्धारका क्रममा ६ जनाको शव फेला परेको छ । स्वतन्त्र...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ भाद्र १५, १९: ०७

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...