विपद् व्यवस्थापनमा सरकार परिणाममुखी कामभन्दा प्रचारमा बढी केन्द्रित : कांग्रेस – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

विपद् व्यवस्थापनमा सरकार परिणाममुखी कामभन्दा प्रचारमा बढी केन्द्रित : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी र त्रिशूली नदीको बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार परिणाममुखी कामभन्दा प्रचारमा बढी केन्द्रित भएको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार र राहत अभाव भएको बताए। विपद्को घडीमा नेपाली कांग्रेस सरकारको साथमा रहेको स्पष्ट पार्दै उनले कमजोरीप्रति खबरदारी भने जारी रहने उल्लेख गरे।

आङ्देम्बेले विशेषगरी सुरुङभित्र फसेका नागरिकको उद्धारमा भएको ढिलाइलाई ‘अमानवीय’ भन्दै आलोचना गरे। उनका अनुसार उद्धारका लागि महत्वपूर्ण मानिने ७२ घण्टाको ‘गोल्डेन आवर’मै पर्याप्त पहल नभएकाले थप मानवीय क्षति भएको दाबी गरे। आवश्यक परे निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग तत्काल परिचालन गर्नुपर्नेमा सरकार त्यसमा चुकेको उनले बताए।

उनले मन्त्रीहरू प्रभावित क्षेत्रमा पुगेर काम गर्नुभन्दा प्रचारमुखी गतिविधिमा व्यस्त रहेको आरोप लगाउँदै भने, “सरकारको साथमा हुनुको अर्थ कमजोरीमा मौन बस्नु होइन। जहाँ सरकार बाटो बिराउँछ, त्यहाँ हाम्रो प्रश्न र खबरदारी जारी रहन्छ।”

विपद् व्यवस्थापनमा संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव रहेको उनले औंल्याए। स्थानीय तहलाई पर्याप्त अधिकार र स्रोत नदिँदा राहत वितरण र उद्धार कार्य प्रभावित भएको भन्दै पीडितको पहिचान र सहायता वितरण स्थानीय सरकारमार्फत गर्नुपर्नेमा उनले जोड दिए।

आङ्देम्बेले विपद् व्यवस्थापन, राहत, पुनर्निर्माण तथा सरकारी कामको अनुगमनका लागि ‘संसदीय उच्चस्तरीय विशेष समिति’ गठन गर्न सभामुखमार्फत माग गरेका छन्। साथै विपद्लाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाई राष्ट्रिय एकताका साथ सामना गर्नुपर्ने उनको धारणा छ।

यसैबीच, उनले बाढी आएको एक साता बितिसक्दा पनि खोज तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै प्रश्न उठाए। हालसम्म ६२ जिल्लाका ३ हजार ९ सय १६ जना नागरिक सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको उल्लेख गर्दै उनले यो संख्या अझ बढ्न सक्ने चेतावनी दिए।

“यो प्रचार गर्ने होइन, नागरिकको जीवन बचाउने समय हो,” उनले भने, “विपद्का विषयमा उठाइएका प्रश्न पूर्वाग्रह होइनन्, जिम्मेवारी र खबरदारी हुन्।”

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ भाद्र १७, १५: १२

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ भाद्र १७, १५: १२

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ भाद्र १७, १५: १२

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...