हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ – Naya Bikalpa
November 1, 2026, Sunday      Epaper

हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको विपद्को जोखिम न्यूनीकरण गर्न अन्तरिक्ष प्रविधिको उपयोग, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (ईएससीएपी) र थाइल्यान्ड सरकारको संयुक्त आयोजनामा बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।

सम्बोधनका क्रममा उनले नेपालमा हालै भएका हिमपहिरो तथा पहिरोजन्य विपद्ले जनधन, भौतिक पूर्वाधार र जलविद्युत् आयोजनामा गम्भीर क्षति पुर्‍याएको उल्लेख गरे । यस्ता विपद्को प्रभाव न्यूनीकरण गर्न क्षेत्रीयस्तरमा सूचना आदानप्रदान तथा पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए ।

मन्त्री श्रेष्ठले गत अगस्ट २६ मा लाङटाङ लिरुङ क्षेत्रमा चट्टान तथा हिमनदीको बरफ खस्दा भोटेकोशी र त्रिशूली नदीमा ठूलो बहाव उत्पन्न भएको र अक्टोबर ११ मा बूढीगण्डकी क्षेत्रमा पहिरो जाँदा निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको जानकारी दिए ।

उनका अनुसार द्रुत क्षति तथा आवश्यकता आकलनले उक्त विपद्बाट करिब २.७ अर्ब अमेरिकी डलर बराबरको क्षति तथा प्रभाव परेको र पुनःस्थापना एवं पुनर्निर्माणका लागि करिब ४.८ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ ।

हिमाली क्षेत्रमा उत्पन्न विपद् केही घण्टामै तल्लो तटीय क्षेत्र हुँदै सीमापारिसम्म फैलिन सक्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले वर्षाको पूर्वानुमानमा मात्र निर्भर नभई हिमनदी, हिमताल तथा अस्थिर भिरालो भूभागको नियमित अनुगमन गर्नुपर्ने बताए ।

उनले उपग्रहबाट प्राप्त तथ्याङ्कलाई जमिनमा गरिने मापन र स्थानीय ज्ञानसँग एकीकृत गरी जोखिम पहिचान, विश्लेषण तथा पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।

सम्मेलनमा प्रस्तुत बैंकक मन्त्रीस्तरीय घोषणापत्रको मस्यौदाको स्वागत गर्दै मन्त्री श्रेष्ठले सन् २०२६ देखि २०३० सम्मको तेस्रो चरणमा उपग्रहबाट प्राप्त तथ्याङ्कको साझेदारी, डिजिटल प्रविधिको उपयोग, प्राविधिक सहायता र पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउन आग्रह गरे ।

दुर्गम तथा हिमाली क्षेत्रमा उपग्रह सञ्चारको पहुँच विस्तार गर्नु र सबैका लागि पूर्वसूचना प्रणाली विकास गर्नु नेपालका लागि विशेष महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । अन्तरिक्ष प्रविधिको प्रयोगले जलविद्युत् विकास, सिँचाइ आयोजना, जलाधार व्यवस्थापन तथा ऊर्जा पूर्वाधारको सुरक्षामा समेत योगदान पुर्‍याउन सक्ने उनले बताए ।

मन्त्री श्रेष्ठले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान करिब ०.०१ प्रतिशत मात्र रहे पनि नेपालले सन् २०४५ सम्ममा खुद शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य लिएको उल्लेख गरे ।

राष्ट्रिय अनुकूलन योजना (२०२१–२०५०) र तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) कार्यान्वयनमार्फत स्वच्छ ऊर्जा तथा जलवायु उत्थानशील विकासलाई प्राथमिकता दिने नेपालको प्रतिबद्धता पनि उनले दोहोर्‍याए ।

नेपाल जलवायु परिवर्तन तथा बहुविपद्सम्बन्धी अनुसन्धान, अनुभव आदानप्रदान र जोखिम न्यूनीकरणका लागि एसिया तथा प्रशान्त क्षेत्रीय सहकार्यको केन्द्रका रूपमा काम गर्न तयार रहेको मन्त्री श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

सरकारको स्वेच्छाचारिताले सीमा नाघ्यो, हामीले जे बोल्यौं त्यो नै हुकुम हो भन्ने साेच चिन्ताजनक : सभापति थापा
सरकारको स्वेच्छाचारिताले सीमा नाघ्यो, हामीले जे बोल्यौं त्यो नै हुकुम हो भन्ने साेच चिन्ताजनक : सभापति थापा
  • २०८३ कार्तिक १२, १३: ५१

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै शक्ति र अधिकारको स्वेच्छाचारी प्रयोग भइरहेको आरोप...

अम्बे स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते
अम्बे स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते
  • २०८३ कार्तिक १२, १३: ५१

काठमाडौं : बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आइतबार बिहान...

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
  • २०८३ कार्तिक १२, १३: ५१

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले...