कोप–३१ मा पर्वतीय राष्ट्रका मुद्दालाई प्राथमिकताका साथ उठाउँछौँ : परराष्ट्रमन्त्री खनाल – Naya Bikalpa
November 1, 2026, Sunday      Epaper

कोप–३१ मा पर्वतीय राष्ट्रका मुद्दालाई प्राथमिकताका साथ उठाउँछौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षण, जलवायु वित्तमा सहज पहुँच र जलवायु न्यायलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्रमुख प्राथमिकता बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय जलवायु सम्मेलन २०२६ लाई सम्बोधन गर्दै मन्त्री खनालले टर्किए (टर्की) को अन्तालियामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालले पर्वतीय राष्ट्रका सरोकारलाई सशक्त रूपमा उठाउने बताए ।

नेपालजस्ता पर्वतीय मुलुकले जलवायु परिवर्तनका कारण भोगिरहेका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य, पर्याप्त वित्तीय स्रोत र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो ।

‘जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षण, जलवायु वित्तमा सहज पहुँच र जलवायु न्यायलाई नेपालले अन्तर्राष्ट्रिय जलवायु वार्तामा प्राथमिकताका साथ उठाउनेछ,’ मन्त्री खनालले भने, ‘कोप–३१ मा पर्वतीय राष्ट्रका सरोकारलाई सशक्त रूपमा प्रस्तुत गर्दै जलवायु परिवर्तनबाट प्रभावित मुलुकका लागि पर्याप्त वित्तीय स्रोत, अन्तर्राष्ट्रिय सहकार्य र प्रभावकारी कार्यान्वयनमा नेपालले जोड दिनेछ ।’

मन्त्री खनालले हालैका बाढी, पहिरो तथा अन्य जलवायुजन्य विपद्ले नेपालको पूर्वाधार, जनजीविका र अर्थतन्त्रमा गम्भीर क्षति पुर्‍याएको बताए । गत अगस्ट २६ मा भोटेकोशी करिडोरमा आएको विनाशकारी विपद् र त्यसपछिका करिब छ सातासम्म विभिन्न नदी करिडोरमा भएका बाढी तथा पहिरोले ठूलो मानवीय र आर्थिक क्षति निम्त्याएको उनले उल्लेख गरे ।

उनका अनुसार, प्रारम्भिक मूल्याङ्कनअनुसार अगस्ट महिनामा भएका विपद्पछिको पुनर्निर्माण तथा पुनरुत्थानका लागि मात्रै करिब ४.७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने देखिएको छ । यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत बराबर हो ।

जलवायुजन्य विपद्ले हिमाली पारिस्थितिकीय प्रणालीको संवेदनशीलता र विश्वव्यापी तापक्रम वृद्धिका दूरगामी असर उजागर गरेको उल्लेख गर्दै मन्त्री खनालले हिमालको संरक्षणलाई नेपालको राष्ट्रिय हितसँगै साझा विश्वव्यापी जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले कोप–३१ मा नेपालले हिमालको सुरक्षा, जलवायु न्याय र प्रभावित समुदायको हितलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालले आफ्ना समस्या र क्षतिको विवरण प्रस्तुत गर्नेमा मात्र सीमित नभई ठोस उपलब्धि हासिल गर्ने लक्ष्यसहित सहभागी हुनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु न्यायलाई नारामा मात्र सीमित राख्न नहुने बताइन् । विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि देशले जलवायु परिवर्तनको चर्को मूल्य चुकाउनुपरिरहेको उनले उल्लेख गरिन् । जलवायु परिवर्तनबाट प्रभावित समुदायका लागि ऋणभन्दा अनुदानमा आधारित वित्त उपलब्ध गराउन उनले अन्तर्राष्ट्रिय समुदायसँग माग गरिन् ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षण नेपालको मात्र नभई क्षेत्रीय र विश्वव्यापी महत्त्वको विषय भएको बताए । जलवायु परिवर्तनको समस्या सिर्जना गर्न सबैभन्दा कम योगदान गर्ने देश तथा समुदायले नै यसको सबैभन्दा ठूलो भार बोक्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

सम्मेलनमा सहभागी विभिन्न सरोकारवालाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका लागि थप प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका थिए ।

सम्मेलनले हिमाली जलवायु न्याय, क्षति तथा नोक्सानी, जलवायु वित्तमा न्यायोचित पहुँच, अनुकूलन, विपद् उत्थानशीलता, दिगो कृषि, प्रकृतिमा आधारित समाधान तथा जलवायु उत्थानशील पूर्वाधारका विषयमा साझा धारणा निर्माण गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचार

सरकारको स्वेच्छाचारिताले सीमा नाघ्यो, हामीले जे बोल्यौं त्यो नै हुकुम हो भन्ने साेच चिन्ताजनक : सभापति थापा
सरकारको स्वेच्छाचारिताले सीमा नाघ्यो, हामीले जे बोल्यौं त्यो नै हुकुम हो भन्ने साेच चिन्ताजनक : सभापति थापा
  • २०८३ कार्तिक १३, १६: १५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै शक्ति र अधिकारको स्वेच्छाचारी प्रयोग भइरहेको आरोप...

अम्बे स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते
अम्बे स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते
  • २०८३ कार्तिक १३, १६: १५

काठमाडौं : बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आइतबार बिहान...

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
  • २०८३ कार्तिक १३, १६: १५

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले...