
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट आएको गगन/विश्वको नेतृत्वले १५औँ महाधिवेशनका लागि असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गरेर नगर हुँदै १६ गते क्षेत्रीय अधिवेशन सम्पन्न गरी १८ गते खुलामञ्चमा केन्द्रीय महाधिवेशनको उद्घाटन सत्र भव्य रूपमा सम्पन्न गरेको थियो ।
उद्घाटन सत्रपछि संशोधित विधानलगायत विभिन्न प्रस्तावहरू पारित गर्दै असोज २२ गते केन्द्रीय समितिको निर्वाचन सम्पन्न गरेर कांग्रेसको इतिहासमा पहिलो पटक यति ठूलो समावेशी कार्यसमिति निर्माण गर्न सफल भएको छ । तत्पश्चात् कात्तिक १२ गते नेपाली कांग्रेसका निर्वाचित २२७ जना (४ जना सदस्यबाहेक) केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले विधिवत् रूपमा शपथग्रहण गरेपछि ऐतिहासिक विशेषता बोकेको १५औँ महाधिवेशनको म्यान्डेटअनुरूप संस्थागत रूपमा जिम्मेवारीपूर्ण क्रियाशीलता प्रारम्भ भएको छ ।
यद्यपि, केन्द्रीय नेतृत्वले पूर्णता पाउन भने बाँकी नै छ । ६६ जना समावेशी केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्न बाँकी रहे पनि नेतृत्व हस्तान्तरण, पुस्तान्तरण, रूपान्तरण र परिवर्तनलाई आत्मसात् गर्दै जनभावनाअनुरूप लोकतान्त्रिक पद्धति र पार्टी विधानबमोजिम भएको महाधिवेशनको जिम्मेवारी र चुनौती भने निकै ठूलो छ ।

नेपालको पछिल्लो राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसमा ३५ हजारभन्दा बढीको संख्यामा नयाँ पुस्ता पार्टीका विभिन्न तहमा समावेश हुँदा उत्साहजनक जनजागरणले कांग्रेसभित्र तरंग फैलिएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले धेरै वर्षअगाडिदेखि कांग्रेसमा ‘वैचारिक पुनर्जागरण’ को पक्षमा बहस (Advocacy) गर्दै आउनुभएको थियो । १५औँ महाधिवेशनले त्यसलाई मूर्तरूप दिन सक्ने आकलन गरिएको छ । तर, परिवर्तित राजनीतिक घटनाक्रमले परिवर्तन र सफलताको गुणगान गाएर मात्र वर्तमान अवस्थामा लक्ष्य हासिल हुन सक्ने देखिँदैन । विधि, विधान, लोकतान्त्रिक पद्धति र पार्टीभित्रको अनुशासनलाई आत्मसात् गर्न सके उपलब्धि हासिल हुन सक्छ ।
२९७ जनाको केन्द्रीय कार्यसमितिको आकार ठूलो मात्र होइन, विभिन्नताको व्यापकतालाई समेटेर अभिन्नतामा सुसंगठित गर्नु र अनेकतालाई एकताको सूत्रमा आबद्ध गराउनु पनि चुनौतीपूर्ण छ । यसका लागि सर्वमान्य पदाधिकारीका रूपमा अहिले सभापति गगनकुमार थापा रहनुभएको छ । पार्टी सभापति गगनकुमार थापाको काँधमा ८० वर्षीय टेकप्रसाद गुरुङदेखि २४ वर्षीय गौरव पाण्डेसम्मको भावना र सिद्धान्तको जिम्मेवारी बहन गर्नुपर्ने असाधारण र विविधतापूर्ण चुनौतीका खुड्किला तेर्सिएका छन् ।
उचाइमा पुग्न र उपलब्धि प्राप्त गर्नुभन्दा उचाइ र उपलब्धिलाई टिकाइराख्ने कार्य कठिन हुन्छ । तर पनि कुनै पनि चुनौतीले सभापति थापालाई असफल हुने र गल्ती गर्ने छुट छैन । सभापति थापाले नेपाली कांग्रेसको सिद्धान्त र आदर्शलाई शिरोपर गर्दै पार्टी संगठनको जिम्मेवारीदेखि आमनेपालीको आकांक्षासमेतलाई आत्मसात् गर्ने अठोटका साथ काम गर्न सक्नुपर्दछ । सबैलाई भूमिका दिन र क्रियाशील राख्न सके मात्र लक्ष्य हासिल गर्न सकिन्छ ।

कहालीलाग्दो कालो दिन २०१७ सालदेखिका पुस्तादेखि जेनजी पुस्तासम्म चार पिँढीका व्यक्तिहरू केन्द्रीय कार्यसमितिमा समावेश हुनुले अनुभव र विज्ञताले भरिपूर्ण हुनुका साथै कांग्रेसभित्र व्यवहारमै रूपान्तरण र पुस्तान्तरण भएको देखिन्छ । धेरै अग्रजहरूका लागि सभापति थापा उमेरमा छोरा पुस्ताका भए पनि जिम्मेवारीमा बाबु पुस्ताको भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ । त्यसैले विशेष अवस्थामा विशेषबाट नियमित महाधिवेशन सम्पन्न गरेर नेतृत्वमा आइपुग्दा सबैको अपनत्व, साथ र सहयोग जुटाउन ठूलो कसरत र साधनाको आवश्यकता पर्ने देखिन्छ । धेरै नेताहरूको सुखद उत्थान र दुःखद बहिर्गमन भएको इतिहास रहेकाले सभापति थापा सधैँ चनाखो हुन सके सफलता र सम्भावनाहरू उनीसँगै सुरक्षित रहेका छन् ।
हालसम्म विकसित घटनाक्रमले कांग्रेसलाई सफलतातिर पुर्याउने लक्ष्यहरू प्राप्त भइरहेका छन् । जनतामा कांग्रेसप्रति आकर्षण र अपेक्षा गाढा रूपमा पलाउँदै गएकाले कांग्रेसको वृक्षमा चिल्ला पातहरू देखिन थालेका छन् । सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको कार्यशैलीमा सबैमा आकांक्षाको ठाउँमा जिम्मेवारी र सफलताको चिन्तन अनिवार्य भएको छ ।
शपथग्रहण गरेका सबै पदाधिकारी र सदस्यहरूलाई हार्दिक बधाई दिँदै सफलताका लागि सहकार्य, सामूहिक प्रयास र एकताको हात बढाउन डा. केदार नरसिंह केसीले आग्रह गरेका छन् ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै शक्ति र अधिकारको स्वेच्छाचारी प्रयोग भइरहेको आरोप...
काठमाडौं : बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आइतबार बिहान...
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले...