हिमाली जिल्ला मनाङको शैक्षिक सत्र सुरु नै नभई सकियो – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

हिमाली जिल्ला मनाङको शैक्षिक सत्र सुरु नै नभई सकियो

नयाँ विकल्प्

काठमाडाैं- हिमाली जिल्ला मनाङको शैक्षिक सत्र शुरु नै नभई सकिन लागेको छ।कोरोना सङ्क्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर झोला बोकेर विद्यालय नगएको पनि वर्ष दिन हुन लागेको छ।

हिमाली जिल्ला मनाङमा मङ्सिर महिनाको अन्तिम सातामा शैक्षिक सत्र सकिने र फागुन, चैतमा नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ।गत चैतमा शैक्षिक सत्र शुरु हुनासाथ कोरोना महामारीका कारण जिल्लाका सबै विद्यालय ठप्प भए। यो शैक्षिक सत्रमा मुस्किलले १५ दिन मात्र विद्यार्थी विद्यालयमा हाजिर भएका थिए।

जिल्लाभरका २८ विद्यालयमा जम्मा ६०२ विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ।“दुर्गम क्षेत्रमा पर्याप्त भौतिक पूर्वधारदेखि अन्य सामग्री पाउन फलामको चिउरा चपाएझैँ हुन्छ, तर बाध्यता र विवशताका बीच सबै कुरा नपुगे पनि पुगेझैँ गरी काम गर्नुपर्ने बाध्यता छ”, नार्पाभूमि गाउँपालिकास्थित फू आधारभूत विद्यालयका प्रधानाध्यापक मुखीय विकले भने।

नार्पाभूमि गाउँपालिकामा दुई आधारभूत विद्यालय छन् । यहाँ खाद्यान्नलगायत विकास निर्माणका सामग्री मानिस र खच्चडमार्फत ओसारपसार गर्नुपर्छ।त्यस्तै मनाङ ङिस्याङ गाउँपालिकामा नौवटा विद्यालय छन्।

अघिल्लो वर्षको मङ्सिर मसान्तदेखि विद्यालय पूर्णरूपमा पठनपाठन हुनसकेको छैन।

“गत मङ्सिर अन्तिम साता अन्तिम परीक्षा सकेर जाडो बिदामा रहेका विद्यार्थी नयाँ शैक्षिक सत्र शुरु हुन नपाउँदै कोरोना महामारीले विद्यालय बन्द भयो”, तिलिचो आधारभूत विद्यालयका प्रधानाध्यापक यमप्रसाद तिमल्सिनाले भने।

उनकाअनुसार माथिल्लो भेगमा चैतदेखि शैक्षिक सत्र शुरु हुने र मङ्सिर मसान्तमा अन्त हुने गर्छ।

“शैक्षिक सत्र शुरु भएसँगै विद्यार्थी भर्ना अभियन शुरु हुँदै थियो तर कोरोना महामरीले शुरु हुनै पाएन”, उनले भने, “अहिले कोभिड–१९ का कारण आफ्नो क्षेत्रभित्र रहेका विद्यार्थीलाई उपलब्ध जनशक्ति प्रयोग गरी गाउँगाउँमा परिचालित गरी सामान्य पढाउने काम भएको छ, अब शैक्षिक सत्र सकिने समय भइसकेको छ, केही समयमै हिमपात शुरु हुन्छ, घरबाहिर निस्कनै मुस्किल हुन्छ।” 

केही सङ्घसंस्थाको सहयोगमा सो विद्यालयमा शिक्षक व्यवस्था गरिएको छ।

सरकारी दरबन्दी र सङ्घसंस्थाको सहयोगमा कार्यरत शिक्षकको भरमा उपल्लो मनाङका विद्यालय सञ्चालनमा छन्। आवश्यक सामग्री चामेबाट खच्चडमार्फत ल्याउने गरिन्छ। केही हुनेखानेहरु चिसो छल्न तल झरे पनि गरिब परिवार आवश्यक सामग्री जुटाएर यहीँ बस्न बाध्य छन्।

सरकारले उपलब्ध गराउँदै आएको खोपदेखि अन्य सुविधाबाट हिमपातको समयमा सेवाविहीन भएर बसिरहेको प्रधानाध्यापक तिमल्सिनाले बताए।

जिल्लाभित्र प्राकृतिक नाकाबन्दी हुँदा चाहेको कामसमेत गर्न नसकिने अवस्था रहेको छ।

अघिल्लो वर्ष केही काम गर्न सकिएको भए पनि यो वर्ष भने विद्यालय खुल्ने समयमा बन्दाबन्दी हुँदा पढाइ रोकियो तर सरकारले ‘विद्यालय खोल’ भनी आग्रह गरेको समयमा प्राकृतिक नाकाबन्दी भयो। हिमाली जिल्ला मनाङको यसपटकको शैक्षिक सत्र किताब नै नखोली सकिएको अन्नपूर्ण माविका प्रधानाध्यापक आनन्द घिमिरेको भनाइ छ।

अहिले अधिकांश विद्यालय बन्द छन्।

आवासीय विद्यालयमा समेत विद्यार्थी नहुँदा पढाइमा समस्या भएको छ।

बाहिर जिल्लामा भएका शिक्षक आउन पाएका छैनन्, जिल्लाभित्र रहेका शिक्षकले केही काम गरिरहेको विद्यालयले बताउँदै आएका छन्। कयौँपटक आफ्नै विद्यार्थी बिरामी हुँदा उपचारमा समेत सकस हुने गरेको घटनाले घिमिरेलाई झस्काउने गर्दछ।

नजिकै स्वास्थ्य संस्था नहुनु र भएका स्वास्थ्य संस्थामा समेत पर्याप्त औषधि नहुँदा आफूजस्तै धेरै शिक्षकले सास्ती खेप्नुपर्ने भएको उनको भनाइ छ।

उपल्लो मनाङको मौसमसँग पौँठेजोरी खेल्दै सो अनूकुल आफूलाई रूपान्तरण गर्नु चानचुने कुरा नभएको उनको भनाइ छ।

भाषा नमिल्ने अर्को समस्या त छँदैछ तर यहाँको हावापानीसँग आफूलाई अभ्यस्त गराउनु सबैभन्दा ठूलो चुनौती शिक्षकहरुलाई छ। आफ्नै उत्पादनले थोरै महिना मात्र पुग्ने र जाडो मौसममा यातायातसमेत चल्न नसक्ने हुँदा बाहिरबाट यहाँ आएर पढाउने शिक्षकले कसरी खाद्यान्न आपूर्ति गर्ने भन्ने ठूलो समस्या रहँदै आएको छ।

यस शैक्षिक सत्रमा विद्यार्थीको सङ्ख्या यति नै छ भनेर यकिन तथ्याङ्क नै नभएको शिक्षा समन्वय एकाइ मनाङले जनाएको छ।

यो वर्ष अब हिमपात शुरु हुने भएकाले प्राकृतिक नाकाबन्दी शुरु हुने गर्दछ।

“प्रकृतिले नै नाकाबन्दी गरेपछि कसरी विद्यालयमा पढाइ हुनु?”, स्थानीयवासीको प्रश्न छ।

फागुन, चैतदेखि शैक्षिक सत्र शुरु हुने हिमाली जिल्लाका विद्यालयमा दशैँअघि नै विद्यार्थी अर्धवार्षिक परीक्षा भ्याएर अन्तिम परीक्षाको तयारीमा हुने गर्दथे।

पाठ्यक्रम पनि आधाभन्दा बढी गइसकेको हुन्थ्यो। विश्वव्यापी कोरोना सङ्क्रमणको महामारीका कारण विद्यार्थीले किताबको पाना पल्टाउन नपाएरै झण्डै १२ महिना बितेको छ। हिमाली भेगका विद्यार्थीलाई नपढेरै शैक्षिक सत्र सकिन लाग्दा यस्तै चिन्ताले सताउने गरेको अन्नपूर्ण माविका प्रधानाध्यापक घिमिरेले बताए। फागुनदेखि शैक्षिक सत्र शुरु हुने विद्यालयमा भदौ अन्तिम साता अर्धवार्षिक परीक्षा हुन्छ।

दशैँतिहारलगत्तै करिब एक महिना पढाइ भएपछि मङ्सिर अन्तिम साता वार्षिक परीक्षा हुन्छ। पुस १५ सम्म वार्षिक परीक्षाको नतिजा प्रकाशन गरी फागुनसम्मका लागि हिउँदे बिदा दिने गरिन्छ। यस हिसाबले हेर्दा तिहारपछि विद्यालय खुलिहाले पनि हिमाली विद्यालयसँग पढाइ र परीक्षाका लागि एक महिना पनि समय छैन। रासस

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ मंसिर १०, १३: ५८

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ मंसिर १०, १३: ५८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ मंसिर १०, १३: ५८

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...