प्राडो, पँजेरो, साइकल मन्त्रीहरुको करामत – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

प्राडो, पँजेरो, साइकल मन्त्रीहरुको करामत

मन्त्री यती बेहोसी भए कि – दोहोरो सुविधा लिएको थाहा पाएनन्

काठमाडौं । सुशासन र सदाचारको नारा दिनहुँ दिएर नथाक्ने वर्तमान मन्त्रीपरिषद्का प्रधानमन्त्री केपी शर्मा ओली र उनकै मन्त्रीपरिषद्का सदस्यहरु राज्यबाट दोहोरो सुविधा दोहन गरिरहेका छन् ।

मन्त्रीहरुको यस्तो हर्कत र व्यवहारबाट उनकै आसेपासे र अन्धभक्तहरु त खुसी होलान तर आफ्नो गाँस काटेर राज्यलाई राजश्व बुझाइरहेका स्वभिमानी नेपाली नागरिकहरुले भने धिक्कारी रहेका छन् ।  राज्य संचालन गर्ने र देशलाई समृद्धि बनाई नेपाली जनतालाई खुसी तुल्याउने ओली नेतृत्वको सरकारको नारा नारामै सिमित भएको छ । मुलुकमा देखिएका यावत समस्यालाई समाधान गर्ने क्षमता बोकेको र योग्य भएको दाबी गर्ने मन्त्रीहरु यति वेहोसी र हुस्सु भएको दाबी गर्छन कि मेरो खातामा कहाँबाट पैशा आइरहेको छ मलाई थाहै छैन् ।

उप्रधानमन्त्री इश्वर पोखरेल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादब, बन तथा वातावरण मन्त्री शक्ति बस्नेत, बैदेशिक रोजगार मन्त्री गोकर्ण विष्ट र संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले समेत विज्ञप्ती जारी गरेर आफूहरुले दोहोरो सुविधा लिएको थाहा नभएको जनाउँदै आएका छन् । उनीहरुले मन्त्रालय र सचिवालयले सुविधा बुझ्ने हुँदा आफूहरुलाई थाहा नभएको दाबी गरेका छन् ।

राज्यले उपलब्ध गराएको इन्धनबापतको रकम ग्रहण गरेर मन्त्रालयले उपलब्ध गराएको इन्धन हाल्न बानी परेका मन्त्रीको हर्कत हेर्दा सत्तारुढ दल नेकपाका नेता मात्र होइन, कार्यकर्ता नै छक्क परेका छन् । ओली नेतृत्वको मन्त्रीपरिषद्का २४ मध्ये २३ मन्त्रीले यस्तो दोहोरो सुविधा लिएको पाईएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले मात्र दोहोरो सुविधा लिएको पाइँदैन ।

दोहोरो सुविधा लिने २४ मन्त्रीले स्वकीय सचिवलाई पनि गैरकानुनी रूपमा गाडी र इन्धन दिलाएको भेटिएको छ । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा ‘शून्य सहनशीलता’को नारा दिनहुँ घन्काइरहँदा साईकल चढेर पर्यावरण जोगाउने राज्यको सुविधा अनावश्यक खर्च गर्दिन र नगरेको भन्दै पुस्तक नै प्रकाशित गरेका साईकल मन्त्रीको उपमाले चिनिएका लालबाबु पण्डितले समेत दोहोरो सुविधा लिएको पाइएको छ ।

मन्त्रिपरिषद्का सदस्यहरूको पारिश्रमिक सेवा–सुविधासम्बन्धी ऐनअनुसार इन्धन खर्च लिइरहेका उनीहरूले मन्त्रालय वा मातहतका कार्यालयबाट तेल हालिरहेका छन् । उनीहरुको यस्तो कार्यलाई भ्रष्टाचार गरेकै क्रियाकलाप अन्तरगत मानिन्छ । तर दुई तिहाई बहुमत प्राप्त सरकारको मन्त्री भएको दम्भ देखाउँदै मन्त्रीहरुले आफूहरुले त्यस्तो सुविधा लिएको थाहै नपाएको भनेर टार्ने र आफ्नो द्रब्य मोहलाई ढाकछोप गरेका छन् ।

धेरैजसो मन्त्रीले मन्त्रालयमा सचिवस्तरीय निर्णय गराएर एक सय ५० देखि तीन सय लिटरसम्म इन्धन लिने गरेका छन् । मन्त्रीका स्वकीय सचिवहरूले पनि गैरकानुनी रूपमा मन्त्रालयबाट गाडी, इन्धनलगायतका सुविधा र स्वकीय सचिवालयका अन्य सदस्यहरूले मोटरसाइकल र इन्धन लिएका छन् ।

मन्त्रिपरिषद्का सदस्यहरूको पारिश्रमिक सेवा सुविधा सम्बन्धी ऐनअनुसार प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीको तलबलगायत विभिन्न शीर्षकमा सुविधा लिइरहेका हुन्छन । भत्ता, इन्धन खर्च, मन्त्रीको स्वकीय सचिलायका सदस्यहरूको तलव भत्तालगायतका सबै सुविधा भुक्तानी गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको रेकर्डमा देखिन्छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाबाहेक सबै मन्त्री र राज्यमन्त्रीले नियमित रुपमा इन्धन वापत एकमुष्ट पैसा लिएका छन् । उपप्रधानमन्त्रीले इन्धनका लागि मासिक २४ हजार ५ सय १४ रुपैँया, मन्त्रीहरूले मासिक २१ हजार ३ सय २१ रुपैँया र राज्यमन्त्रीले मासिक १८ हजार ५४० रुपैँया लिइरहेका छन् ।

हाल मन्त्रीहरुले तलव बापत ६० हजार ९ सय ७० रुपैयाँ, महंगी भत्ता ८ हजार, संचार भत्ता ३ हजार, मसलन्द खर्च तीन हजार ५ सय र इन्धनका लागि २१ हजार ३ सय २१ रुपैयाँ बुझ्दै आएका छन् । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले गृह मन्त्रालयले गाडी प्रयोग गरिरहेका छन् उनले इन्धनका लागि मन्त्रिपरिषद् कार्यालयबाट मासिक २१ हजार बुझिरहेका छन् ।

उनले मन्त्रालयबाट एउटा ल्यान्डक्रुजर गाडी र बा.२ झ २२०१ नम्बरको अतिरिक्त गाडी पनि लिएका छन् । उनका स्वकीय सचिवले पनि मन्त्रालयबाट गाडी र इन्धन लिएका छन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ८ जनाको स्वकीय सचिवालय बनाएकी छिन् । मन्त्री र सचिवालय सदस्यको सबै सेवा–सुविधा मन्त्रिपरिषद्ले भुक्तानी गर्दै आएको छ । गृह मन्त्रालयले गाडी सुविधा लिएर पनि उनले इन्धनलगायत सुविधा मन्त्रालयबाटै लिइरहेकी छिन । जवकी उनले मन्त्रीपरिषद्बाट पनि इन्धन बापतको रकम बुझिरहेकी छन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पनि मन्त्रिपरिषद् कार्यालयबाट सुविधा खर्च एकमुष्ट रकम लिँदै आएका छन् । गाडीमा इन्धन मन्त्रालयबाटै भर्छन् । तर उनले मन्त्रालयबाट मासिक १६८ लिटर इन्धन हाल्ने गरेका छन् । उनले पनि गृह मन्त्रालयले उपलब्ध गराएको गाडी प्रयोग गरिरहेका छन् । मन्त्री ढकालले थप एउटा प्राडो र अर्को कार मन्त्रालयबाट लिँदै आएका छन् ।

प्राडो मन्त्रीले नियमित प्रयोग गरे पनि सानो कार भने झन्डा नराखी पारिवारिक काममा प्रयोग गर्ने गरिएको छ । उनको स्वकीय सचिवले पनि मन्त्रालयबाट स्कारपिओ गाडी र इन्धन सुविधा लिँदै आएका छन् ।

खानेपानीमन्त्री विना मगरले विजयदेव भट्टराईलाई स्वकीय अधिकृत र रमेशदत्त भट्टलाई प्रशासन सहायकमा नियुक्त गरेकी छिन । ५ जनाको सचिवालयको तलब सुविधा र आफ्नो तलबभत्तासहित उनले मन्त्रिपरिषद् कार्यालयबाट मासिक १ लाख ९५ हजार ७ सय ९३ रुपैयाँ बुझ्दै आएकी छिन् । उक्त पैसाभित्र उनको इन्धन सुविधाबापतको पैसा पनि जोडिएको छ । उनको सुविधाका लागि गृह मन्त्रालयले गाडी उपलब्ध गराएको थियो ।

तर, उनले मेलम्ची आयोजनाको टोयोटाको विलासी गाडी ल्यान्डक्रुजर प्राडो प्रयोग गर्दै आएकी छिन । सो गाडीका लागि मासिक एक सय ५० देखि २ सय लिटरसम्म इन्धन पनि मन्त्रालयबाटै लिइरहेकी छिन ।

संघीय समाजवादी फोरमका नेता तथा सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले ७ जना स्वकीय सचिवालय नियुक्त गरेका छन । उनले पनि मन्त्रिपरिषद् कार्यालयबाट मासिक एकमुष्ट रकम बुझ्दै मन्त्रालयबाट पनि इन्धन लिइरहेका छन् । उनले गृह मन्त्रालयको गाडि लिएका छन भने तर फोर्ड कम्पनीको करिब एक करोड पर्ने गाडी चढ्ने गरेका छन् ।

उनका स्वकीय सचिव सम्सुल हक राईले भवन विभागबाट बा.२झ ३६३८ नम्बरको स्कारपिओ गाडी प्रयोग गरिरहेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट तलब तथा अन्य सुविधासहित मासिक इन्धन सुविधा पनि लिइरहेकी छिन । मन्त्रिपरिषद् कार्यालयले मासिक तलब तथा अन्य सुविधा भुक्तानी गरेको बिलमा उनले इन्धन शीर्षकमा मासिक २१ हजार ३ सय लिएको देखिन्छ ।

तर, मन्त्रालयबाट मासिक एक सय ५० लिटर लिइरहेकी छन् । नियमअनुसार दिन नमिल्ने भए पनि जबर्जस्त दिएको उनले बताए । थापाका अनुसार मन्त्री र उनको स्वकीय सचिवले गाडी र इन्धन मन्त्रालयबाट लिइरहेका छन् । रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाबाट प्राप्त करिब २ करोड पर्ने टोयोटाको ल्यान्डक्रुजर, मन्त्रालयबाट प्राप्त करिब ५० लाखको स्कारपिओ र गृह मन्त्रालयले दिएको एउटा कार प्रयोग गर्दै आएका छन् ।

रक्षासचिवले स्कारपिओ कम्पनीको गाडी चढ्छन् ।
गृहमन्त्री रामबहादुर थापा बादल एक करोड ५५ लाख पर्ने मित्सुबिसी पजेरो गाडी चढ्छन् । स्वास्थ्यमन्त्री उपेन्द्र यादव टोयोटा कम्पनीको करिब २ करोड रुपैयाँबराबरको ल्यान्डक्रुजर गाडी चढ्छन । कानुनमन्त्री भानुभक्त ढकाल टोयोटाको ल्यान्डक्रुजर प्राडो चढ्छन् ।

कानुन सचिवले भने स्कारपिओ र हुन्डाईको आइ–२० आस्टा मोडलको दुईवटा गाडी चढ्दै आएका छन् । अर्थमन्त्री युवराज खतिवडा र सचिव राजन खनालले निसान कम्पनीको ‘निसान एक्स–ट्रायल’ मोडलका गाडी चढ्दै आएका छन । ती गाडीको नेपाली बजारको मूल्य करिब एक करोड जति पर्न आउँछ ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७५ पुष ९, ०७: २५

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ पुष ९, ०७: २५

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ पुष ९, ०७: २५

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...