महामन्त्रीद्वय गगन र विश्वले भने -पार्टीभित्रको कमजोरी ढाकछोप नगरी आत्मसमिक्षा गरौँ – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

महामन्त्रीद्वय गगन र विश्वले भने -पार्टीभित्रको कमजोरी ढाकछोप नगरी आत्मसमिक्षा गरौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र भएका गल्ती र कमजोरीको ढाकछोप नगरी आत्मसमीक्षा गर्दै अबको बाटो तय गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शनिबार विज्ञप्ति जारी गर्दै उनीहरुले प्रतिनिधिसभाको ठूलो दल हुँदा पनि प्रतिपक्ष बन्न पुग्दा पार्टीभित्र गम्भीर असन्तुष्टि, आक्रोश र उदासीनता छाएको बताएका छन् ।

उनीहरुले यस्तो क्षणमा आग्रह, पूर्वाग्रहबाट मुक्त भएर समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमान्दारितापूर्वक समीक्षा गर्नुपर्ने बताएका छन् ।

‘हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुल्ला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने । कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्याङ्कन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेछ’ गगन र विश्वले विज्ञप्तिमा भनेका छन् ।

जनताको मतबाट पहिलो पार्टी भए पनि गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पु‍र्याउन नसक्दा केवल सत्ताको राजनीतिमा मात्र यो पटक पछि परेको थापा र शर्माको निष्कर्ष छ ।

तैपनि कांग्रेसले बेइमानी नगरेको भन्दै उनीहरुले भनेका छन्, ‘हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तीमा हामीबाट भएन ।’

अब कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्ने र जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि उनीहरुको भनाइ छ ।

थापा र शर्माले कांग्रेसमा विगतमा पनि यस्ता चुनौती र अप्ठेरा आइपरेको र त्यतिबेला सामना गरेर दृढतापूर्वक अघि बढेको भन्दै यसपटक पनि हताश हुने छुट नभएको बताएका छन् । ‘बरु यसलाई पार्टीको शुद्धिकरण र पुनर्जागरणको नवीन अवसरमा बदल्ने जबर्जस्त तागत हामीले प्रस्तुत गर्नुछ’ उनीहरुले विज्ञप्तिमा भनेका छन् ।

 

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ पुष १६, २३: ०१

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष १६, २३: ०१

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ पुष १६, २३: ०१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...