ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन र समृद्धिको आधार निर्माण गर्न सकिन्छ – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन र समृद्धिको आधार निर्माण गर्न सकिन्छ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यापार घाटा घटाउने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने प्रमुख साधन भनेकै जलविद्युत् भएकाले त्यसलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्रको सार्थक पहलबाट मात्रै मुलुकको ऊर्जा क्षेत्रले फड्को मार्नसक्ने बताए । देशभित्र बिजुलीको खपत बढाउनुपर्नेमा जोड दिँदै उनले बचेको बिजुली बेचे व्यापारघाटा कम गर्न सरकार लागेको बताए ।

ऊर्जा क्षेत्रमा लगानीका लागि सहज वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको दोहो¥याउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको आर्थिक समृद्धिको चाहना साकार पार्न वर्तमान सरकार क्रियाशील छ भने । उनले भने, ‘आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन सरकारका प्रमुख प्राथमिकता हुन् ।’

आगामी वैशाखमा लगानी सम्मेलन आयोजना हुन लागेको जानकारी दिँदै मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन कानुनी, संरचनागत सुधारका लागि सम्बन्धित निकायसँग छलफल गरेर निष्कर्षमा पुर्याइने बताए । भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमति भएको भए पनि आन्तरिक खपत वृद्धि गर्ने विषय नै प्रमुख प्राथमिकतामा रहेको उनले बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको ६० प्रतिशत योगदान रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रको साझेदारीमा मात्र समृद्ध नेपाल निर्माणको सङ्कल्प पूरा हुने बताए ।

निजी क्षेत्रले अगाडि सारेका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको र जायज विषयलाई सम्मान गर्दै अगाडि बढेको उनले स्पष्ट पारे । पछिल्लो एक दशकमा आठ सय मेगावाट क्षमताबाट तीन हजार मेगावाट बिजुली उत्पादन हुन थालेको तथा ९८ प्रतिशत घरमा विद्युत् सेवा पुगेको तथ्य पेस गरे । वर्षायाम र सुक्खायामका बीचमा ऊर्जा उत्पादनमा रहेको अन्तर पूरा गर्न आजैदेखि नयाँ ढङ्गले सोच्नुपर्ने उनले बताए ।

मन्त्री बस्नेतले निर्माणाधीन आयोजनालाई शीघ्ररूपमा सम्पन्न गर्ने वातावरण बनाउनैपर्ने, जलाशयुक्त आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने र ऊर्जा मिश्रण अवधारणालाई सँगसँगै अगाडि बढाइने छ बताए । सरकारले ऊर्जा क्षेत्रलाई पूर्वाधारको रूपमा मात्रै नहेरेको बताउँदै उनले आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाइ स्वीकार गरिएकाले निश्चिन्त भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

मन्त्री बस्नेतले निजी क्षेत्रलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दै भने, ‘उत्पादन अनुमतिपत्र लिइसकेपछि १० वर्षभन्दा बढी समय उल्लेख्यरूपमा काम किन हुन सकेन, म तपाईँहरूको ध्यानाकर्षण गराउँछु । म इपानको जिम्मेवारीपूर्ण पहलका लागि आग्रह गर्दछु ।’ उनले विद्युत् खरिद सम्झौता (पिपीए)का विषयमा धेरै चिन्ता नगर्न आग्रह गर्दै भने, ‘तपाईँहरू यति काम गर्छौँ भनेर आउनुस् । तपाईँहरूको ठाउँबाट गर्नुपर्ने काम पूरा गरेर आउनुस् । मन्त्रालयको तर्फबाट सहजीकरण गर्ने वातावरण बन्छ । निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार तयार छौँ ।’

इपानका अध्यक्ष गणेश कार्कीले मुलुकको ऊर्जा क्षेत्र सकारात्मकरूपमा अगाडि बढेको उल्लेख गर्दै विद्युत् खरिद सम्झौतालगायतका माग सम्बोधन गर्न आग्रह गरे । उनले ऊर्जा क्षेत्रका सुरक्षा चुनौती सम्बोधन गरिदिन सरकारको ध्यानाकर्षण गराए ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८० माघ ४, १३: ३२

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८० माघ ४, १३: ३२

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८० माघ ४, १३: ३२

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...