मेलम्चीको खानेपानी नआउनुमा काठमाडौं वासी दोषी छ, नेपाली जनता दोषी छ – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

मेलम्चीको खानेपानी नआउनुमा काठमाडौं वासी दोषी छ, नेपाली जनता दोषी छ

महेन्द्र यादव– नेता, एवम् पूर्वमन्त्री, नेपाली काँग्रेस

नेपाली काँग्रेसको महासमितिको बैठक विधान संशोधन गर्दै दशौ दिनसम्म चलेर सकिएको छ । आठौं दिनसम्म केन्द्रीय नेताहरुबीच विधानमा सहमति नहुँदा महासमितिका सदस्यहरु निकै आक्रोसित भएका थिए । समापनको अघिल्लो दिनमात्र सहमतिको समावेशी र संघीय संरचनाअनुसार विधान पारित गराउन महासमिति बैठक सफल भएको छ ।

केन्द्रीय नेतृत्वबीच एकता भयो भन्दै शिर्ष नेताहरु महासमिति बैठक लामो भएपनि ऐतिहासिक भयो भनिरहेका छन् । पछिल्लो समय काँग्रेसको वर्तमान संस्थापन पक्षपार्टी सभापति देउवा र पुरानो संस्थापन पक्षका नेतृत्वकर्ता वरिष्ठ नेता पौडेलबीच एकता भएको सन्देश दिइरहेका छन् । यिनै समसामयिक विषयलाई लिएर नयाँ विकल्प साप्ताहिकका लागि पत्रकार ऋषि धमलाले नेपाली काँग्रेसका नेता महेन्द्र यादवसँग गरेको कुराकानीको सम्पादीत अशंः

महासमितिको बैठकपछि काँग्रेस कसरी अगाडि बढ्दैछ त ?
काँग्रेस महासमितिको बैठक सफलतापूर्वक सम्पन्न भयो र अब नेपाली काँग्रेस एक ढिक्का भएर अगाडि बढिरहेको छ ।

भाषणमा मात्रै त एक ढिक्का भएको होला नि हैन ?
भाषणमा मात्रै होइन, व्यवहारमा पनि काँग्रेसका शिर्ष नेताहरु, काँग्रेसका महासमितिका सदस्यहरु र कार्यकर्ताहरुमा एउटा उत्साहको लहर थपिएको छ । अब हामी एक ढिक्का भएर वर्तमान सरकारको तानाशाही रवैयामा अगाडि बढिरहेको हुँदा त्यसका विरुद्ध लागि पर्नेर्छौ ।

यो सरकारले देशमा शान्ति सुरक्षा सरकारले दिन सकिरहेको छैन । आम नेपाली जनता तानाशाही बाम सरकारको कामप्रति त्रर्सित छन् । सरकारलेनै देशमा भ्रष्ट्राचारको जालो बिछ्याएको छ । सरकारनै भ्रष्ट्राचारमा संलग्न भएको देखिन्छ ।

सुन तस्करका नाइकेलाई समेत कमिसन खाएर बचाएको देखिन्छ । ५० अर्बभन्दा बढि प्रधानमन्त्री एक्लैले ठेक्कापट्टा दिन पाउने नियम पनि कतै हुन्छ ? त्यसैले सम्पूर्ण कम्युनिष्ट वाम गठबन्धन पार्टी नै बद्नाम हुँदै गएको छ । विकास निर्माणका कुरा गर्दा यो सरकार निर्माण भएपछि एक किलोमिटर सडक समेत बन्न सकेको छैन । भौतिक पूर्वाधार तथा योजना मन्त्रीको प्रगति विवरण शुन्य छ ।

अरु मन्त्रीहरुले जति प्रगति गर्नुपर्ने हो त्यो गर्न सकिरहेका छैनन् । छिमेकी देश भारत र चिनसँगको सम्बन्ध समेत बिग्रेको अवस्था देखिन्छ । उनीहरुले यो सरकारलाई रतिभर विश्वास गरिरहेको देखिदैन । देश अहिले अराजक गतिहिनको अवस्थामा दौडिरहेको छ । जनतालाई ढाँटेर मात्र सरकार अगाडि बढिरहेको छ ।

कृष्णप्रसाद सिटौलाले शेरबहादुर देउवा र रामचन्द्र पौडेल असफल हुनुभयो भनेर भन्नुभएको छ नि तपाईलाई के लाग्छ ?
सिटौलाले पनि सभापतिमा लडिसक्नुभएको छ । उहाँको पनि इच्छा होला सभापति बनौं भन्ने । तर त्यसको लागि उहाँले महाअधिवेशन कुर्नुप¥यो, महाअधिवेशन कुरेर मात्र हुँदैन । महाअधिवेशनमा आएका प्रतिनिधिहरुको भोट लिनुप¥यो, जित्नुप¥यो । त्यसपछि मात्र सभापति बन्न पाउने प्रावधान छ ।

कृष्णप्रसाद सिटौलालको भनाइसँग महासमितिका कोही पनि सहमत छैनन् । महासमितिमा आउने केही सदस्यहरुले शेरबहादुर देउवा माथीको चार्ज लगाइरहनु भएको थियो । महासमितिको बैठकमा सबै कुराको क्लोज भएको छ । अब एक ढिकका भएर अगाडि बढ्ने कुरा नेतादेखि कार्यकर्ताहरुले समेत प्रतिबद्धता जनाएका छन् ।

तर शेरबहादर देउवाले काँग्रेसलाई राम्रोसँग गाइड गर्न सक्नुभएन भन्ने आरोप लागेको छ नि ?
शेरबहादुर देउवानै होे, जसले इतिहासमा आफ्नो नाम दर्ता गर्न सक्नुभयो कि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई उहाँले कार्यान्वयनमा लैजान सफल हुनुभयो । मधेशमा चुनाव हुन सकिरहेको थिएन । मधेशवादी दल र मधेशवादी जनता जसले विश्वास गरेका थिएनन् । त्यसलाई उहाँले चुनावको माध्यमबाट यहि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानबाट चुनावमा भाग लिने वातावरण बनाउन सक्नुभयो ।

यो भन्दा ठूलो नेपाली जनताको लागि शेरबहादुर देउवाले गरेका काम के हुन सक्छ ? शेरबहादुर देउवा पूर्ण रुपमा सफल हुनुहुन्छ । पार्टीलाई एक ढिक्का बनाएर महासमितिको बैठक सम्पन्न गर्नुभएको छ । आगामी महाधिवेशनमा मात्रै होइन आगामी चुनावमा शेरबहादुर देउवाकै नेतृत्वमा नेपाली काँग्रेस पूर्ण बहुमतको साथ अगाडि बढ्छ ।

तर शेरबहादुर देउवाले सबैलाई मिलाएर लैजान सक्नुभएको छैन भनेर कार्यकर्ताहरु रिसाएका छन् नि होइन र ?
महासमिति बैठकमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलेले हात जोड्नु भएको देख्नु भएन ? उपसभापति विमलेन्द्र निधी, महामन्त्री शंशाक कोइराला लगायतका सबै नेताहरुले सहमति जनाउनु भएको छ । हाम्रो अहिले काँग्रेसभित्र व्यवहार पनि मिलेको छ, मनपनि मिलेको छ, शैली पनि मिलेको छ । काँग्रेसमा कहाँ तपाईले फरक देख्नुभयो । नेपाली काँग्रेसको महासमितिको बैठक कार्यकर्ता, नेता र साथीहरुबीच एकता कायम भएर सकिएको छ ।

पहिला महासमितिका साथीहरु बोल्न नपाएर फर्कनुहुन्थ्यो । सभापति शेरबहादुर देउवाले अहिलेका पार्टी तीन दिनको सट्टा पाँच दिन गर्छु तर सबैजना बोल्न पाउनुपर्छ भनेर पार्टीका सबै महासमितिका सदस्यहरुलाई बोल्ने मौका दिनुभयो । कसरी पहिलो पार्टी बनाउन सकिन्छ भनेर उहाँले महासमितिको बैठकमा एकता प्रर्दशन गर्नुभयो । आगामी निर्वाचनमा कसरी पार्टीभित्र एकता कायम गर्न सकिन्छ ?

देशमा तानाशाही लाद्न खोजिरहेको वर्तमान सरकारका विरुद्ध छलफल गर्नुस् भनेर उहाँले आठ दिनसम्म महासमिति बैठक लम्ब्याउनुभयो । त्यसैले पार्टीमा साथीहरुको बीचमा गरेको भरोसा पार्टीलाई खुल्ला छलफलमा भाग लिन दिएर उहाँले अन्तिम निष्कर्ष निकाल्नु भयो । कसैले काँग्रेसभित्र खेल्न खोजेको छ भने कसैले काँग्रेस फुटाएर हामी फेरी देशमा तानाशाही व्यवस्था लाद्न खोज्छौं भन्ने कसैको सपना छ भने त्यो दिवा सपना हो, त्यो सपना कदापी पूर्ण हुन सक्दैन ।

तपाई खानेपानीमन्त्री हुँदाखेरी मेलम्चीको पानी ल्याउँछु भन्नुभएको थियो तर अहिलेसम्म पानी आएन नी ?
मेलम्चीको खानेपानी नआउनुमा काठमाडौं वासी दोषी छ, नेपाली जनता दोषी छ । अहिलेसम्म नेपाली काँग्रेस नेतृत्वको सरकार भइदिएको भए, अहिले म खानेपानीमन्त्री भइदिएको भए काठमाडौं वासीले मेलम्चीको पानी खाइसक्थ्ये । सबैभन्दा बढि काम मेरै पालोमा भएको हो ।

वास्तवमा काठमाडौंका जनता र धेरै नेताहरुलाई थाहा पनि थिएन कि मेलम्चीको पानी काठमाडौंमा ल्याउने भन्ने कुरा जब कि नेपाली काँग्रेसकै सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना थियो र त्यो सपना पूरा गर्न हामी कम्मर कसेर लागेका थियौं । अहिलेसम्म हाम्रो सरकार भएको भए मेलम्चीको पानीले काठमाडौंको सडक धोइन्थ्यो ।

तर तपाईले त गएको दशै अगाडिनै पानी खान पाउनुहुन्छ भनेर भन्नुभएको होइन र ?
हो, मैले बोलेकोनै हो । त्यो बेलामा हामीले वास्तवमा चुनावमा पनि यो कुरालाई लग्यौ । हाम्रो प्राविधिकहरु एकदम निरन्तर रुपमा काम गरिरहेको थिए, बीचमा पनि ठेकेदारले छोड्ने कुरा गरेको थियो तर ठेकेदारसँग हामीले कुरा ग¥यौ कुनै हालतमा काम रोकिन हुन्न भनेर । हाम्रो पालोमा काम एकदम छिटोछिटो भइरहेको थियो । मैले अघिपनि भनिसके यदि नेपाली काँग्रेसको नेतृत्वमा अहिलेसम्म सरकार भएको भए मेलम्चीको पानी आइसक्थ्यो ।

काठमाडौं वासीले पानी खाइसक्थ्यो । विडम्बना ! त्यो हाम्रो हातमा रहेन र अहिले सरकार कमिशनको खेलमा लागेको छ । मेलम्चीको पानी काठमाडौंमा आओस्, नआओस् अहिलेको सरकारलाई मतलब छैन । अहिलेको वाम गठबन्धन कम्युनिष्टसँग कमिसन खान र भ्रष्ट्राचार गर्न लिप्त छन् । ठेकेदारसँग कमिसन मागेर खाने, मेलम्चीको पानी आउने पनि त्यस्तै हो, जनताले आमुल परिवर्तन देख्न पाउनु त त्यस्तै हो, बरु सरकारले आफ्नो भुँडी चाही भरेकै छन् । यसलाई अझ लम्ब्याएर लागत बढाउने दिशामा लागि रहेको छ । तर पानी खुवाउने कुरासँग मतलव छैन ।

तर खानेपानीमन्त्री विना मगरले ठेकेदारले काम ढिलो गरेको खण्डमा तत्काल कारवाही गर्छु भन्नुभएको छ नि ?
तत्काल एक्सन गर्छु भन्ने कुरा सुन्दा मलाई हाँसो उठेर आउँछ । तत्काल एक्सन भनेको के हो ? काम सम्पन्न हुनुप¥यो ? योजना सम्पन्न हुनुप¥यो । नेपाली जनताले पानी पिउन पाउनुप¥यो, अनि बल्ल त्यो एक्सन हो ।

जुनसुकै मन्त्रीले एक्सन गर्छु भन्छन्, जब मन्त्रीको हातबाट केही हुँदैन, केही गर्न सक्दैन अनि उसले भन्ने कुरा एउटै हो । म एक्सन लिन्छु, चाँडो गर्छु । तर त्यसको रिजल्ट आउनुप¥यो नि । कम्युनिष्ट पार्टीकै नेताले विकास समितिको बैठकमा भनिसक्नुभएको छ की ठेकेदार भागेजस्तो गर्ने अनि सरकारले कमिसनको कुरामा फेरी रकम थप्ने जस्तो कुरा गरेर जनतालाई लुट्ने काम त भइरहेको छैन भनेर भन्नुभएको थियो ।

सरकारले काम गराउने प्रयासमा लागिरहेको छ नि होइन र ?
प्रयास गरेर मात्रै हुँदैन, रिजल्ट पनि देखिनुपर्ने होनि । अहिलेसम्म यो सरकारले एक वर्षको अन्तरालमा कुन योजना सम्पन्न गरेको छ भन्नुस् । जनताको लागि हामीले ल्याएको कल्याणकारी योजनाहरु मुटु, मुगौला जस्ता रोगीहरुलाई मासिक ५ हजार दिने त्यसपछि बृद्धभत्ता ६५ वर्षमानै दिने जस्तो योजना ल्याएका थियौं ।

सामाजिक न्यायका कामहरु जुन छ, त्यसलाई रोकेर १८ करोडको गाडी किन्ने त्यसपछि अर्बौ रुपैयाँमा हेलिकप्टर किन्ने यस्ता फजुल खर्च गर्ने काम सरकारले गरिरहेको छ । एक वर्षसम्म एउटा विकास निर्माणको काम हुन सकेको छैन । जनताले कुनै राहत पाउन सकिरहेका छैनन् ।

काठमाडौं वासीले मेलम्चीको पानी खान नपाउनुुमा नेपाली काँग्रेस पनि दोषी छ नि होइन ?
नेपाली काँग्रेसले वि.सं २०४८ सालमा बहुमत पाएको थियो । जम्मा तिन वर्षसम्म नेपाली काँग्रेसको बहुमतको सरकार रह्यो । त्यसपछि फेरि कम्युनिष्टको सरकार आयो । जहिले पनि नेपाली काँग्रेसको बहुमतको सरकार हुँदा विकासका पूर्वाधारहरु बनेका छन् ।

पूर्वाधारका जति विकासहरु छन्, विकासका प्रक्रियाहरु छन्, त्यही बेलादेखि प्रारम्भ भएको हो । शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत लगायत सडक सञ्जाल जो पहिलो हजार किलोमिटर मात्रै थियो । नेपाली काँग्रेको सरकार आएदेखि अहिलेसम्म हामीले ८५ हजार किलोमिटर सडकको निर्माण गरेका छांै । नेकपाले के भनिरहेको छ भने हामी चिनबाट रेल ल्याउँछौं भनेर भनिरहेको छ । मित्रराष्ट्र चिनले रेल पठाइदियो भने नेपाली जनताको लागि ठुलो उपहार हुनेछ ।

तर चिनसँग खर्बौ रुपैयाँ लिएर रेल बनाउनु र त्यो ऋणको ब्याज तिर्दा तिर्दै एकदिन नेपाल सकिन्छ । त्यसैले यो सरकारले सपना मात्रै देखाइरहेको छ । यो सरकारले रेल ल्याउने कुरामा पनि बिजनेस गर्न खोजिरहेको छ ।

सम्बन्धित समाचार

Opinión sobre Art Casino: ¿arte o artimaña?
  • २०७५ पुष १६, ०७: ४४

Un análisis de Art Casino desde la experiencia: registro, juego, pagos y regulación. Lo bueno, lo malo y la visión...

Jak hrát v Mostbet online casino a minimalizovat riziko?
  • २०७५ पुष १६, ०७: ४४

Jak hrát v Mostbet online casino a minimalizovat riziko? Online kasino Mostbet nabízí širokou škálu her a příležitostí pro výhru,...

Bahigo im Test: Erfahrungen, Boni und Fakten für die Schweiz
  • २०७५ पुष १६, ०७: ४४

Erfahrungsbericht zu Bahigo. Wir schauen uns die Boni, das Spielangebot und die rechtliche Lage in der Schweiz heute ganz genau...