म दोलखावासीको सेवक भएर काम गर्न चाहन्छु : वर्मा लामा – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

म दोलखावासीको सेवक भएर काम गर्न चाहन्छु : वर्मा लामा

समाजसेवाबाट कांग्रेस राजनीतिमा आएका स्थापित नेता हुन् वर्मा लामा । दोलखाका स्थायीवासिन्दा लामा नेपाली कांग्रेस जिल्ला सभापति र ‘ख’बाट प्रदेश सदस्य उम्मेदवार पनि हुन् । समाजसेवासँगै राजनीतिमा पोख्त उनी वरिष्ठ समाजसेवी र कुशल नेताका रुपमा परिचित छन् । जनताप्रति सधैं दत्तचित्त लामा हक्की स्वभावका नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । उनै लामासँग आमनिर्वाचनसँग केन्द्रित रहेर नयाँ विकल्पका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं दोलखाको प्रदेश ‘ख’ बाट चुनाव लड्दै हुनुहुन्छ, कार्यकर्ता र जनताबाट कस्तो आश्वासन पाउनुभएको छ त ?

दोलखामा टिकटको विषयलाई लिएर खासै ठूलो असन्तुष्टि छैन । केही साथीहरुमा सामान्य चित्त दुखाइहरु हुन सक्छन् । त्यस सन्दर्भमा आन्तरिक रुपमा बसेर मिलाउने तयारीमा हामीहरु जुटिरहेका छौं । त्यसकारण निर्वाचन जित्न त्यति अप्ठ्यारो पर्ने स्थिति छैन । हाम्रो पक्षमा जनलहर उर्लिएर आइराखेको छ । जनताहरुले हामीलाई घर–घरमा आइदिए हुन्थ्यो भनेर फोन, म्यासेज गरिराखेको अवस्था छ । यसपालि दोलखाली जनताले हिजोका दिनमा ३० वर्ष हाराहारी एकछत्र शासन चलाउँदा पनि केही गर्न नसक्ने शासकहरुलाई पुनः मतदान गर्ने कुरै छैन । यसपालि दोलखामा नेतृत्व परिवर्तनका लागि जनताहरु आतुर छन् । त्यसैले हाम्रो जित्न सुनिश्चित छ । त्यो स्थानीय तहको निर्वाचनले पनि देखाइसकेको अवस्था हो ।

झन्डै ३० वर्ष हाराहारी एमालेले शासन गरेको दोलखामा कांग्रेसको बर्चश्व स्थापित गर्न तपाईंको उम्मेदवारी हो ?

लामो समयदेखि एमालेको दबदबाह रहेको जिल्ला दोलखा हो । यहाँ उहाँहरुले झन्डै ३० वर्ष माननीय, मन्त्री भएर एकछत्र शासन गर्नुभयो । त्यसैगरी उहाँहरुले गाउँविकास, वडा कार्यालयदेखि जिल्ला विकासमा पनि हालीमुहाली गर्नुभयो । तर, ३० वर्षसम्म त्यसरी एकलौटी ढंगले शासन गर्दा विकास निर्माणका काममा नयाँ आयाम ल्याएको देखिएन । उहाँहरु खाली आफ्ना कार्यकर्ता, आसेपासे र आफू कसरी कामउने धन्दामा मात्रै लागेको देखियो । त्यो कुरा यहाँका सर्वसाधारणमाझ जगजाहेर छ । तर, नेपाली कांग्रेसले आफू चुनाव हार्दा पनि विभिन्न समाजसेवामार्फत विकास निर्माणका काम होस्, जनतालाई सुखदुःखमा साथ दिने कुरामा होस्, अथवा जनतालाई आइपरेका मुद्दामामिला मिउने काम होस् सधैं हातेमालो गरेर अगाडि बढिरह्यो । त्यसैगरी भ्रष्टाचार, अनियमितता, अन्याय, अत्याचार, कुशासनविरुद्ध निरन्तर हामीले आवाज बुलन्द गरिरह्यौं । यसअघि उहाँहरुको दुई तिहाई हाराहारीको राष्ट्रिय सरकार चलाउन नसकेर फेल हुनु । त्यसपछि प्रदेश सरकारहरु फेल हुनु अहिले आएर स्थानीय सरकारहरुबाट उहाँहरु समाप्त भएर जानुको अर्थ भनेको जनताले उहाँहरुको क्रियाकलाप बुझिसकेका अवस्था हो । अब एमालेलाई भोट दिएर केही हुँदैन भन्ने जनतामा भइसकेको छ । जतिपटक भोट दिएर सत्तामा पु–याउँदा पनि जसले केही गर्दै सक्दैन भने फेरि त्यसलाई मतदान गरेर के अर्थ छ । त्यसकारण पनि यसपालि दोलखाका जनताले मलगायत गठबन्धनका उम्मेदवारलाई मतदान गरेर विजयी बनाउनुहुन्छ भन्नेमा म ढुक्क छु ।

सत्तागठबन्धन कत्तिको अनुसासित भएर चुनावमा जाला जस्तो लाग्छ ?

नेपालमा चुनावमा गठबन्धन गर्ने अभ्यास पनि पटक–पटक भइसकेको छ । यसको अभ्यास स्थानीय निर्वाचनमा निकै उपलब्धीमुलक ढंगल सफल भयो । स्थानीय निर्वाचनमै अभ्यास भइसकेका पनि जनतालाई बुझाउन धेरै सहज भएको छ । त्यसकारण गठबन्धनमा कुनै समस्या छैन । बरु स्थानीय निकायमा गाउँपालिका, नगरपालिका, महानगरपालिका र वडाहरुमा धेरै झन्झटहरु थिए । त्यसमा अपेक्षाकृत सफल प्राप्त भएको छ । आज त केन्द्रले तोकेका उम्मेदवारहरु हुनुहुन्छ । त्यसमा पनि दोलखामा हाम्रो गठबन्धनले उठाएका उम्मेदवारहरु राजनीतिमा अत्यन्त रुझान् भएका, राजनीतिलाई नै आफ्नो जीवनपद्धति बनाएका र समाजसेवी भावनाले ओतप्रोत नेताहरुलाई अगाडि सारेको अवस्था छ । उता यसपालि एमालेले खडा गरेको उम्मेदवार कमजोर र फिक्का देखिएको अवस्था छ । त्यसकारण पनि हामीलाई यहाँ चुनाव जित्न सहज हो, त्यसमाथि गठबन्धन छ । हिजोका दिनमा नेपाली कांग्रेस एक्लै लड्दा दुई÷चार हजार भोटले हारजित हुन्थ्यो । योभन्दा अघिल्लोपटक एमाले र माओवादी गठबन्धन हुँदा नेपाली कांग्रेस दोस्रो शक्ति हो । यहाँ हामी दुई÷चार हजार भोटले मात्रै पछिपरेको बेलामा आज हामीसँग माओवादीको १० औं हजार भोट मिसिएको छ । त्यसमा हामीसँग समाजवादी पनि छ । जनताहरु पनि परिवर्तनका खातिर हामीतिर आकर्षित छन् । त्यसकारण हामीले चुनाव हार्ने त कुरै छैन । कतिबढी मतान्तरले प्रतिपक्षी एमालेलाई पराजित गर्न सक्छौं भन्ने मात्रै हाम्रो प्रयास हो । त्यसकारण सत्ता चलाउनै नसक्ने जनताले भोट हालेर के काम । दुई तिहाई हाराहारी भोट आउँदा उनीहरुले सत्ता चलाउन नसकेर अहिले कांग्रेसले चलाइरहनुपरेको छ । अनि यसपालि हामीलाई नै मतदान किन नगर्ने त । त्यसकारण हामी जनमतको हकदार हौं । जनता त्यसका न्यायाधीश हुन् उनीहरुले हामीलाई न्याय गर्छन् भन्नेमा हामी विश्वस्त छौं ।

दोलखामा तपाईंले आँकलन गरेजस्तो भोट गठबन्धनसँग छैन भनिन्छ नि ?

पहिलाको तुलनामा नेपाली कांग्रेसको भोट धेरै बढेको छ । स्थानीय निर्वाचनलाई लिने हो भने हामीसँग ३५ हजार भोट छ । त्यसपछि माओवादीसँग २० हजार भोट छ । त्यसमाथि समाजवादी पनि हामीसँग थपिएपछि ६० हजारमाथि भोट हामीसँग हुन्छ । उहाँहरुसँग जम्माजम्मी ३०÷३५ हजार भोट छ । अनि चुनाव कसले जित्छ, त्यो हामीले भनिरहनु पर्दैन जनताले नै आँकलन गरिरहेका छन् । यसमा कसैले दुविदा मानिरहनुपर्छ जस्तो मलाई लाग्दैन । अर्को गठबन्धनपनि अत्यन्तै कसिलो, अनुसासित र परिमार्जित ढंगले अगाडि बढिराखेको अवस्था छ । त्यसैले दोलखामा आगामी मंसिर ४ मा हुनगइरहेको आमनिर्वाचनमा गठबन्धनलाई चुनाव जित्न कुनै समस्या छैन भन्नेमा विश्वस्त छु ।

एमाले अध्यक्ष केपी ओलीले कांग्रेस चुनावबाट डराएर गठबन्धनमा गएको हो, हामीले एक्लै बहुमत ल्याउँछौं भनेका छन् नि ?

केपी ओलीजी दिउँसै सपना देख्ने मान्छे हो । अरुले निदाएको बेलामा सपना देख्छन्, उहाँ ननिँदाउँदै सपना देख्नुहुन्छ । नेपाल जस्तो देश जहाँ सन्द्रै छैन, त्यहाँ पानी जहाज चलाउँछु भन्ने मान्छेको कुरै नगरौं । अहिले उहाँ नेपालको राजनीतिक इतिहासबाटै समाप्त भइन्छ कि भन्ने त्रासले बरबराउन थाल्नुभएको छ ।

दोलखाली जनताले वर्मा लामालाई नै भोट हाल्नुपर्ने कारण के ?

वर्मा लामा व्यक्ति चुनाव लडेको होइन । नेपाली कांग्रेसको उम्मेदवार भएर चुनाव लडिरहेको छु । कांग्रेसको लोकतन्त्रप्रतिको महत्व, आजको राष्ट्रिय आवश्यकता मुलुकमा त्यत्तिकै छ । त्यसमा हामीले हिजो दुई तिहाइ हाराहारीको प्रतिगमनकारीहरुको सरकार ढालेर देशलाई भष्टाचार, अराजकता र अन्याय, अत्याचारबाट जोगाउने काम कांग्रेसले गरेका छौं । त्यो पार्टीका कार्यकर्ता हामी हौं । त्यसले पनि दोलाखाको विकास र समृद्धिको लागि मैले आफू पदमा नहुँदा पनि समाजसेवामार्फत धेरै काम गरेको छु । त्यसैगरी शिक्षा, स्वास्थ्य, सिंचाई, सडक, पर्यटन, कृषि, पशुपालनलगायत विभिन्न क्षेत्रमा आफ्नो बलबुताले भ्याएर मैले काम गरेको छु । त्यसरी निरन्तर रुपमा समाजसेवामार्फत राजनीतिमा लागेको मान्छे हुँ म ।

युवाशक्तिलाई स्वरोजगारमुलक बनाउन कस्तो योजना बनाउनुभएको छ ?

दोलखा धार्मिक पर्यटनको दृष्टिले भरिपूर्ण जिल्ला हो । यहाँ कालिन्चोक भगवती, भीमेश्वर महादेवलगायत थुप्रै धार्मिक पर्यटनको सम्भावना भएका तीर्थस्थलहरु छन् । अर्को दोलखा जलविद्युत् उत्पादनको हबजस्तै जिल्ला हो । कृषि उत्पादनमा त्यत्तिकै सम्भावना भएको जिल्ला हो । त्यसको लागि कृषि बजार व्यवस्थापनको आवश्यकता छ । बजारसम्म उत्पादित कृषिजन्य खाद्यान्न ल्याउन पक्की सडकको आवश्यकता छ । अर्को युवाहरुलाई सीपयुक्त व्यवसायिक तालमको लागि प्राविधिक कलेजको आवश्यकता छ । पशुपालनको पनि त्यत्तिकै सम्भावना बोकेको जिल्ला हो दोलखा । त्यसतर्फ युवाशक्तिलाई आकर्षित गर्न आवश्यक छ । उत्पादित कृषिजन्य पद्धार्थलाई राम्रो बजार व्यवस्था गर्ने हो भने कृषकको आयआर्जन बृद्धि हुन्छ । रोजगारीको खोजीमा विदेसिने युवाहरुले स्वदेशमै रोजगारी पाउँछन् । त्यतातिर ध्यान दिन जरुरी देख्छु । यदि यहाँका नागरिकले भोट दिएर मलाई विजयी बनाएको खण्डमा मेरो बलबुताले भ्याएसम्म दोलखाको विकास र समृद्धिमा लागिपर्ने छु ।

तपाईंलाई आफ्नो चुनावी क्षेत्रबाट डराएर अर्को क्षेत्रमा आएको आरोप छ नि ?

यससन्दर्भमा भन्नुपर्दा मलाई प्रदेश ‘क’बाट आएर ‘ख’मा लड्यो भन्ने केही अफवाहरु फैलाइएको छ । खासगरी खोलापारीबाट वारि आयो भन्ने आरोप हाम्रा साथीहरुले लगाउने गरेका छन् । दोलखाको सदरमुकाम प्रदेश ‘ख’मा पर्छ । म यहाँ बसेकै ३० वर्ष भइसक्यो । अर्को कुरा म खोला वारिकै मान्छे हो। मैले पारिगएर राजनीतिक सेवा गरेका कारण त्यसो भनिएको होला । फेरि म अहिले दोलखा कांग्रेसको जिल्ला सभापति हुँ । ठूला नेताहरु चाहीं काठमाडौंको झापा, झापाको काठमाडौं । अथावा पूर्वको पश्चिम, पश्चिमको पूर्व गएर लड्दा हुने । हामीले चाहीं एउटा खोलावारि पारिएको निहुँमा राजनीतिक सिमाना लगाउनु उचित हो जस्तो लाग्दैन । त्यसकारण मैले सेवा गर्ने क्षेत्र यहीं हो । म यहींको स्थानीय वासिन्दा हुँ । यहाँका जनतालाई अप्ठ्यारो परेको बेला सेवा गर्न तत्पर छु । यहींका जनताको सुखदुःखमा साथ दिने छु । त्यसैले यो या त्यो निहुँमा असफल पार्टीका मान्छेलाई भोट खेर नफालौ भन्न चाहन्छु ।

 

सम्बन्धित समाचार

राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
  • २०७९ कार्तिक १, ११: ३८

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने भएको छ। शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न भएको विषय...

यूएन महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज न्यूयोर्क जाँदै
यूएन महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज न्यूयोर्क जाँदै
  • २०७९ कार्तिक १, ११: ३८

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७९ कार्तिक १, ११: ३८

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...