मुलुकको अवस्था, रास्वपा र नेपाली कांगे्रसको भविष्य – Naya Bikalpa
July 4, 2026, Saturday      Epaper

मुलुकको अवस्था, रास्वपा र नेपाली कांगे्रसको भविष्य

१. राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार
२०७९साल असार ७गते स्थापना भएको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को पहिलो महाधिवेशन असार ७गते सुरु भई १२गते सम्पन्न भएको छ । यो महाधिवेशनले ४वर्ष अघि सुरु भएको रास्वपाको राजनीतिक यात्रालाई कानुनी बाध्यता पूरा गर्न सहयोग गरेको छ । अर्थात् कम्तीमा पनि पाँच वर्षमा कुनै पनि राजनीतिक दलको वैधानिकताका लागि महाधिवेशन सम्पन्न भएर निर्वाचित कार्यसमिति अनिवार्य आवश्यक पर्ने संवैधानिक प्रावधान छ ।

सायद त्यसैले पनि होला, नयाँ सरकार बनेपछि हतारहतारमा महाधिवेशन आयोजित गरिएको थियो र जसरी पनि सम्पन्न भएको छ । कुनै पनि दलको आन्तरिक मामिलामा कसैले पनि बोल्ने आवश्यकता छैन र पनि सत्तारुढ दलको महाधिवेशन चर्चाको विषय बन्ने नै भयो । महाधिवेशन प्रतिनिधिको कुनै निश्चय नभएर पनि महाधिवेशन स्थलमा प्रतिनिधि हुँ भनेर कतिपय व्यक्तिहरु आएका तर पछि नाम नदेखेपछि खिन्न भएका पनि सुनियो । कतिपयले प्रादेशिक निर्वाचनमा प्रतिनिधित्व गरेका तर चितवनमा नाम काटिएको पनि सुनियो र करिब ४हजार प्रतिनिधिमा २९००जत्तिले मात्र मतदानमा भाग लिएको तथ्य देखा परेको हो ।

अझ पदाधिकारीहरुको निर्वाचनमा त झन संख्या कम देखिएको तथ्यांक देखापरेको हो । यी प्राविधिक कुराहरु होलान् तर प्रतिनिधिहरुमा मतदानमा जाँगर नदेखिएको अनि महाधिवेशनमा भाग लिनसमेत नआउनेहरु किन प्रतिनिधि भएका थिए भन्ने प्रश्न स्वतः उठेको हो । या त प्रतिनिधित्व धेरै देखाउने लोभ हो या त कार्यकर्तामा खिन्नता देखिएको हो, भन्न मुस्किल छ पनि भनियो । त्यसो त सबैभन्दा ठुलो नेताको रुपमा मानेर वरिष्ठ नेता बनाइएका प्रधानमन्त्री बालेन्द्र शाह पनि सभापतिमा रवि लामिछानेलाई समर्थन गरेपछि मतदान नगरी काठमाडौँ आउनु भएछ र मन्त्रीहरु जत्ति चितवनमा छोडेर मन्त्रिपरिषद्को बैठक गर्न थाल्नु भएछ ।

कताकता नमिल्ने जस्तो गरी महाधिवेशन सम्पन्न भएको छ र गुटउपगुट नबनाउने भन्दाभन्दै केही उम्मेदवारहरुले आपूmहरु गुटबन्दीको शिकार भएको दोषारोपण गर्न थालेको पनि सुनियो । १५१सदस्यीय कार्यसमितिमा प्रादेशिक सभापतिहरु स्वतः सदस्य हुने भएकाले १५८को संख्यामा कार्यसमिति बन्ने निश्चित छ । अहिले सभापति सहित १००जना र वरिष्ठ नेता सहित १०१जनाको मात्र निर्वाचन सम्पन्न भएको हो । पदाधिकारीहरुमा उपसभापति पुरुषमा डाक्टर स्वर्णिम वाग्ले, महिला उपसभापतिमा सोबिता गौतम, महामन्त्रीमा विपिन आचार्य, सहमहामन्त्रीमा पुरुषहरुमध्ये हरि ढकाल र असीम शाह अनि महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएका हुन् ।

९९ सदस्यहरुका लागि ४००मध्येबाट करिब ३००० प्रतिनिििधहरुले मतदान गरेकोमा ंपदाधिकारीको निर्वाचनमा यो संख्या घटेर २००० पनि पुगेनछ । अर्थात् त्यहाँ केही समस्या छ भन्ने देखाउँछ । या त नेतृत्व जसको भए पनि रास्वपा त हो नि, किन छान्ने भन्ने पनि भयो होला या त निर्वाचन प्रक्रियातर्फ निराशा देखियो होला ।

जे होस् ४वर्षपछि भए पनि महाधिवेशन भएको छ र त्यसले अर्को पाँचवर्षसम्मका लागि पार्टीलाई वैधानिकता दिएको छ । महामन्त्रीमा पराजित मनीष झा र उपसभापतिमा पराजित डाक्टर तोषिमा कार्कीको पराजयलाई गुटगत समस्या या स्प्ष्टवक्ताहरुलाई पार्टीबाट पन्छाउने योजना हो कि भन्ने अनुमान रास्वपाभित्रै लगाइएको छ । सोबिताजीलाई मन्त्री पनि, उपसभापति पनि चाहिने तर तोसिमा या समीक्षाहरुले भने सदस्यमा मात्रै बस्नुपर्ने भन्ने पनि सुनिएको हो । हुनत यो नितान्त रास्वपाको आन्तरिक मामिला हो भन्ने पनि उत्तिकै स्पष्ट छ ।

२. मुलुकको अवस्था
मुलुकको अवस्थामा नयाँ सरकारको १०० पुग्न लाग्दा पनि कुनै सकारात्मक सुधार हुन सकेको पाइँदैन । संवैधानिकरुपमा अन्यौल देखिन्छ । प्रधानमन्त्री बालेन्द्र शाहको संसदप्रतिको निरपेक्षता झन झन टड्कारोरुपमा देखिँदैछ । सुकुम्बासीहरुको अवस्था दयनीयबाट सुधार हुन सकेन । महङ्गीको मारबाट पिल्सिएका जनताले राहत पाएका छैनन् । कर्मचारीतन्त्र त्रसित छ । शिक्षक आन्दोलनको तयारीमा छन् । विश्वविद्यालयहरु अलमलमा रुमलिएका छन् । न्यायिक क्षेत्र समेत त्रसित बनाइएको सुनिन्छ । मुलुकको अवस्था दुई तिहाईको सरकार आएपछि पनि उस्तै त्रसित, अन्यौल र गन्तव्यविहीनतामा रुमलिएको छ भन्ने राजनीतिक पर्यवेक्षकहरु ठान्छन् ।

३. र अन्त्यमा फेरि नेपाली कांग्रेसको समस्याको समाधान
नेपाली कांग्रेसमा फेरि पनि पार्टी कब्जा गर्ने नीति प्रभावी हुन थालेको देखिन्छ । कुरो बीपीकै आउँछ उहाँले २०१२सालमा सुवर्णजीका लागि पार्टीको साँचो बुझाएर भए पनि दललाई एकताबद्ध पार्नु भएको थियो । पछि सुवर्णजीलाई विशेष अधिवेशनका लागि मनाएर आफू निर्वाचनका लागि नेतृत्व गर्ने नेता हुने अनि सुवर्णजीलाई सरकारको नेतृत्व गरेर निर्वाचन गराउन पठाउनु भयो । सुवर्णजीले तीन ठाउँमा उठेर पनि जित्नु भयो जवकि उहाँ कतिपय स्थानमा पुग्नु पनि भएको थिएन । दुई तिहाई भन्दा बढी मत पाएर सरकार बनाउन सक्षम हुनुभएको इतिहास छ । कसरी पार्टीलाई एकताबद्ध राख्ने भन्ने कुरामा अहिलेको नेतृत्व लाग्नुपर्छ ।

जसरी पनि पार्टी कब्जा गर्ने भन्ने देउवाजीकै नियत राख्ने हो भने नियति पनि त्यस्तै हुन सक्छ भन्ने कुरामा हेक्का राखौँ । नेपाली कांगैेसको सदस्यता नवीकरण गर्नेमात्र कांग्रेस होइनन्, अहिलेको बेलामा पनि १८लाख जनताले विश्वास गरेको दललाई फेरि विघटन गर्ने ठाउँतिर नलैजाऊँ । यसमा सबैको ध्यान जानु जरुरी छ । संस्थापनपक्ष त गुमान गर्ला रे, आफूलाई इतर सम्झनेहरुले पनि दलको अस्मितामाथि खेलबाड गर्ने काम नगरुन् ।

सम्बन्धित समाचार

किसानलाई समयमै मल आपूर्ति होस्
किसानलाई समयमै मल आपूर्ति होस्
  • २०८३ असार १६, १०: ०२

हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८३ असार १६, १०: ०२

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०८३ असार १६, १०: ०२

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...