सरकारको नयाँ गन्तव्य अन्यौल ग्रस्त भएको त होइन ? – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

सरकारको नयाँ गन्तव्य अन्यौल ग्रस्त भएको त होइन ?

हरिविनोद अधिकारी

१. फागुन ३ गते गठित नयाँ व्यवस्थापिकाअन्तर्गतको वाम गठबन्धनको प्रधानमन्त्री केपी शर्मा ओलीसरकार तेस्रो पटक विस्तार भएको छ । भर्खरैमात्र प्रचण्डको सहयोगमा प्रचण्ड बहुमतका साथ विश्वासको मत पाएको ओली सरकारले अब काम सुरु गर्ने आशा गर्न सकिन्छ ।
२. प्रशासन सुधार कार्यदलको सुझाबलाई आधार बनाएर १७ ओटा मन्त्रालय बनाएको ओली सरकारले नयाँ नयाँ मन्त्रीहरुलाई भाग पु¥याउन भनेर मन्त्रालयको संख्या फेरि बढाएको छ र संघीय समाजवादी फोरम , राष्ट्रिय जनता पार्टी, नेपालको मन्त्रिपरिषदमा सहभागिता हुने बेलासम्ममा अरु मन्त्रालय थपिने सम्भावना बढेको छ । यसरी सुशासनको पक्षमा काम सुरु गरेको भान पार्दै फेरि पुरानै ढर्रामा काम गर्न थालेको प्रसङ्गले कति आशा गर्ने भन्ने पनि सीमित गर्न थालेको छ ।
३. सरकार भर्खर बनेको छ । मात्र एक महिना भएको छ । मन्त्रीहरु पूरा भइसकेका छैनन् । शङ्काको सुविधा दिनै पर्छ तर उनै परीक्षित पुराना अनुहारहरुबाट नयाँ नयाँ परिवर्तन केके होला भनेर शङ्का भने आम जनताले गर्न थालेका छन् ।
४. अहिलेका सत्ता परिवर्तनका जोड घटाउमा पोख्त खेलाडीहरुका लागि पनि अहिलेको वाम गठबन्धनको बहुमत अनपेक्षित भएर होला, पार्टी एक भयो भनेर पनि दुईओटा पार्टीकै हैसियतमा देखिएको छ । भागबन्डा पनि दुई दलको रुपमा नै छ, सँसदको भागबन्डा पनि उस्तै छ र सँवैधानिक पदहरुमा पनि त्यही तरिकाले दुई दलको रुपमा विभाजित देखिन्छ ।
५.अर्कोतर्फ सरकार गठन भएको एक महिना भएको छ । प्रारम्भिक समयमा सरकारले केही अत्यावश्यक कार्यहरु गरिरहेको देखिन्छ । खासगरी सरकारका लागि सबैभन्दा जरुरी के देखिन्छ भने प्रदेश सरकार र स्थानीय सरकारसँगको सम्बन्धलाई नयाँ ढङ्गले परिभाषित गर्दै समन्वयात्मक प्रक्रिया अगाडि बढाउनु छ । एउटा सहजता वाम गठबन्धनलाई के देखिन्छ भने प्रदेश सरकारमध्ये ६ ओटा आफ्नो गठबन्धनका छन् एकातिर भने अर्को प्रदेश नंबर २मा पनि अब समर्थन दिएकाले संयुक्त सरकारको आधारमा व्यवहार गर्न सहज भएको छ ।
६.यस्तो प्रदेश, स्थानीय र संघीय सरकार तथा व्यवस्थापिकाहरुको व्यवस्थापन गर्न पक्कै सरकारलाई सहज त होला, तर निरापद बहुमतबाट उब्जन सक्ने समस्याको पनि अहिले देखि नै व्यवस्थापन जरुरी छ । प्रमुख प्रतिपक्षी वा विपक्षी नेपाली काँग्रेस व्यवस्थापिकाको टाउकोको संख्यामा कमजोर छ तर संसदीय व्यवस्थाका लागि र लोकप्रिय मतमा एमालेकै हाराहारीमा देखिन्छ । जनतामा उस्को केही मत खस्किएको होला, तर विपक्षीका रुपमा कमजोर देखिँदैन ।
७.मुलुकको हालको गठबन्धन सँस्कृतिको अवस्था हेर्दा र आजको मितिमा देखिने राजनीतिक तरलताको स्थिति विश्लेषण गर्दा मुलुक नयाँ नयाँ संक्रमणतर्फ जाने हो कि भन्ने भान हुन्छ । त्यस्तो नहोस्, तर शक्ति सञ्चय र देखिएका झट्ट हेर्दा समयको उत्पादन जस्तो देखिने तर केही असहज सङ्केतले भावी दिनमा आउन सक्ने विवादको रेखा कोरेको पाइन्छ । यसोभन्दा सत्तापक्षभित्रकै निषेधको अवस्थालाई पनि आँखा चिम्लन सकिँदैन र पलाउन सक्ने नयाँ ऐँजेरुको अवस्थाको गर्भाधान भएको कता कता देखिन्छ ।
८.आजको सबैभन्दा चुनौती पनि के हो भने सरकार वाम गठबन्धनको बनेको छ तर सरकारमा सहभागिता जनाउनका लागि गैर वाम शक्तिलाई पनि बोलाइएको छ जस्तो कि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी, नेपाल जस्ता दलहरुलाई । यी हरफहरु तयार गरुन्जेलसम्म ती दलहरु सहभागी भएका छैनन् तर काँग्रेसलाई एक्लाउने रणनीतिअन्तर्गत सरकारमा सहभागिता अवश्यंभावी देखिन्छ ।
९. तर एउटा कारणले गर्दा ती मधेसकेन्द्रित दलहरु सरकारमा नजान सक्ने आधार पनि छ—उनीहरुको बटम लाइन भनेको उनीहरुका अवधारणाअनुसारको संविधान संशोधन हो । त्यो तत्काललाई सम्भव देखिँदैन । र ती दलहरुले बीचमा सरकार छोडे पनि सरकारलाई कुनै असर पर्दैन । मिल्दा बहुमत र छोड्दा सरकार बिघटन हुने अवस्थामा मात्र सहयात्राको तात्विक अर्थ बुझेकाहरुका लागि सरकारमा प्रवेश त्यति नाफामूलक नहोला भन्ने पनि तर्क बलियै छ ।
१०.आखिर मुलुक संघीयतामा गएको छ । संघीयताको अभ्यास कसरी हुन्छ भन्ने सबैमा जिज्ञासा छ । आपसमा विवाद नगरी तीनओटै सरकारहरुको समन्वय होस् भन्ने आशा गरौँ ।
११. अन्त्यमा, फागुन २८ गते दिउँसो सबा दुई बजे यु यस बाङ्ला विमानको दुर्घटना नेपाली अन्तर्राष्टिय विमानस्थलभित्रै भयो र ५१ जना यात्रु तथा चालक दलका व्यक्तिहरुको निधन भयो । चालकको गल्तीले होस् वा एअर ट्राफिकको गल्तीले होस् , दुर्घटना भयो । ती दिवंगतहरुको सम्झनामा शब्द सुमन र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरौँ ।

सम्बन्धित समाचार

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७४ चैत्र ५, ०९: १४

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७४ चैत्र ५, ०९: १४

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०७४ चैत्र ५, ०९: १४

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...