डाक्टर गोेविन्द केसी, सत्याग्रहको बल र सरकारको लाचारी – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

डाक्टर गोेविन्द केसी, सत्याग्रहको बल र सरकारको लाचारी

हरिविनोद अधिकारी

१. सत्याग्रही प्राध्यापक डाक्टर गोविन्द केसीको सत्याग्रह यसपटक २७ दिनसम्म रह्यो । जति जति गोविन्द केसीलाई स्वास्थ्यमा सकस हुँदै गयो, दुई तिहाईको बलियो सरकारमा पनि त्यति नै असहज बढ्दै गयो । उहाँको धड्कनको मात्रा कमी हुँदा नेपालको सर्वाधिक बलियो सरकारको धड्कन बढ्न थाल्यो र अन्ततः उहाँका मागहरु पूरा गर्न सरकार बाध्य भयो ।

२. तर सरकारको पक्षमा हामीले भन्नै पर्छ—सरकार बलियो छ, दुई तिहाईको बनेको छ, साधारण शिक्षादेखि लिएर स्वास्थ्य शिक्षासम्मको लागि धेरै नै चिन्तित छ र त केसीका मागहरुलाई पूरा गर्न २७ मिनेट पनि लगाएन । पहिले स्वीकार गरेका तथ्यहरुलाई पनि बंग्याएन,अध्यादेशमा भएका सबै कुराहरुलाई विधेयकमा सम्मिलन गर्नका लागि राजी भयो । समाजवादतर्फ उन्मुख सरकारको यो कदमको हजार मुख भएका शेष नागले समेत बयान गर्न नसक्ने कुरा हामीले आफ्नो नियमित स्तम्भमा कसरी व्याख्या गर्न सकौँला र ?

३. तर नबुझेको कुराचाहिँ के भने किन २७दिनसम्म कुरेको होला पहिले मानेको कुरालाई सहजीकरण गरी विधेयकमा राख्न ? हो , यहीँनेर प्रतिपक्षको कुरा आउँछ—यदि प्रमुख प्रतिपक्ष स्वास्थ्य शिक्षाको यो पक्षमा सडक र सदनमा आफूलाई उभ्याएको थिएन भने केसीका मागहरु जुन अवस्थामा पूरा भए, हुन्थे होलान् पूरा सहमतिको यो स्वरुपमा ? सरकारको सुरुवाती रबैया हेर्दा पूरा होला जस्तो लागेको थिएन । तर सत्याग्रहको प्रभाव कस्तो हुँदो रहेछ भने त्यसले सरकारको धज्जी उडाउन थाल्यो र सुशासनको पनि व्यंग्य हुन थालेको थियो ।

४.जुम्लादेखि काठमाडौँसम्मको केसीको सत्याग्रह यात्राले र सत्याग्रहको क्रममा भएका घटनाहरुले के देखाउँछन् ? सहमतिपछिका सरकार र सरकार बनाउने दलहरुका व्यवहारले के संकेत गर्छन् ? जगजाहेर छ ।

५.जहाँ सरकार जनताप्रतिभन्दा जनताइतर पक्षसँग निकट हुन्छ, त्यहाँ जनताले साह्रै दुःख पाउँछन् र अनावश्यक दुःख पाएर हैरान भएपछि सरकारविरुद्ध जस्तोसुकै कडा कदम उठाउन पनि पछि पर्दैनन् । यो सैद्धान्तिक धारणा हो जुन नेपालमा बारम्बार प्रयोगमा देखिन्छ । धेरै पहिलेका इतिहासमा नै जानु पर्दैन, निकट अतीतमा नै यो कार्यान्वयन भएको छ । राजतन्त्र कसरी गयो भन्ने कुराको पछिल्तिर सत्याग्रहलाई नबुझ्दा हो भन्ने तर्क अब राजाबादीहरु नै दिन थालेको अवस्था छ ।

६.जनतासँग मात्र सबैभन्दा बहुमूल्य चीज भनेको एउटा सास फेर्दै गरेको ज्यान हुन्छ, अत्यन्त माया गरिने । त्यसैको माया मारेर जब जनता दृढताका साथ विरोधमा उभिन्छन्, अनि त्यहाँ कसैको पनि सुनुवाइ हुँदैन । सबैभन्दा प्यारो जीवन नै अर्पित गर्न कोही लालायित हुन्छ भने त्यसलाई वास्ता नगरिनुले समस्यामात्र निम्त्याउँछ । अहिले नेपालमा फेरि त्यो कुरा दोहोरियो । ३ करोड नेपालीका लागि सर्वमान्य भइसकेको सिद्धान्त र बारम्बार सहमति भएका कुराहरुमा डाक्टर केसीले पन्ध्रौँ पटक सत्याग्रह गरेर जनताका लागि आफूलाई न्यौछावर गर्ने प्रयास गर्नुभएको थियो,जुन सफल भयो । असार १५बाट जुम्लाबाट सुरु भएको आमरण अनसन बाध्यतावश काठमाडौँमा आएर श्रावण १० गते राती सहमतिमा टुंगियो । निःस्वार्थरुपमा उठाउने कुरामा जनता साथ हुन्छन् भन्ने कुरा सँसदमा न्यून संख्यामा देखिएको प्रमुख प्रतिपक्षलाई पनि धेरै ठूलो पाठ बन्यो यद्यपि प्रमुख प्रतिपक्ष यदि सदन र सडकमा नउत्रिएको भए सायद एउटा मान्छे नखाएर मर्दा सरकारलाई त्यति घाटा पर्दैनथ्यो भन्ने कुरा सत्तारुढ दलका साँसदहरु र मन्त्रीहरुले बारम्बार भन्दै आएका पनि हुन् ।

७. अब त्यो घटना अतीत भएको भए पनि त्यसको दूरगामी प्रभाव अझै नेपाली समाजमा प्रतिध्वनित भइरहने छ किनभने कार्यान्वयनको बेला अब सुरु भएको छ । धेरै कुराहरुमा सहमति भएको छ र ती कुराहरुलाई प्रचण्ड बहुमतको आधारमा अझै बंग्याउने सम्भावना छ किनभने यो पन्ध्रौँ सत्याग्रह थियो ।

८.अतीतमा पनि यस्ता घटना विश्वमा घटेका छन् र त ती ज्यान अर्पिनेहरुलाई सहिद मानिन्छ, मानिएको छ । स्वतन्त्रता प्रेमीहरु अलि स्वाभिमानी नै हुन्छन् र आफूलाई ठीक लागेको विषयमा चित्त नबुझ्दासम्म अरुको कुरा किन सुन्दैनन् भने आत्माको पुकारभन्दा ठूलो सत्य केही हुन सक्दैन ।

९.अहिले नेपालमा त्यही इतिहास फेरि दोहोरिएको छ र एउटा सत्याग्रहका लागि एउटा स्वास्थ्यकर्मीले सत्यको पक्षमा आफूलाई समाजका लागि न्यौछावर गर्न आँटेको बेलामा सरकार झुकेर सहमतिमा पुगेको देखिन्छ । यसमा कसैको जीत या हारभन्दा पनि जनताका लागि बोल्ने एक्लो व्यक्तिको सत्याग्रहको पक्षमा फैसला हुन बाध्य पारिएको अवस्था छ ।

१०.सत्याग्रहमा कति बल हु्ँदोरहेछ भन्नेकुरा प्रतिनिधि सभामा दुई तिहाईको शक्ति सञ्चय गरेर बसेको आफूलाई शक्तिशाली मान्ने नेकपा नेकपाको सरकार पनि आफ्ना कार्यकर्तालाई सर्वोच्च अदालतमा हाजिर गराउन बाध्य भएको छ जस्ले गर्दा गङ्गामायाजीको छोराको हत्याका वारेमा सही जानकारी र हत्यारा पक्राउ गरेर कार्बाही गराउन गरिरहनु भएको सत्याग्रहले एउटा परिणाम दिएको छ । गङ्गामायाजीको आमरण अनसन त तोडियो तर त्यस्तै सत्याग्रही डाक्टर गोविन्द केसीको सत्याग्रहले कमाल नै गरेको छ । सरकार एक दुई जना मर्छन् त भन्दै थियो तर वार्ताका लागि वार्ता समिति तयार गर्न बाध्य भएको थियो र संभवतः चिकित्सा शिक्षा विधेयकसम्म पनि संशोधन भएर केसीका मागहरु संवोधन हुने अवस्था सृजना भएको छ । जनताले जे सत्य बुझ्दै छन् , त्यसले सत्याग्रहको पक्षमा जनलहर उर्लँदो देखिँदैछ ।फेरि धोखा भए जनता फेरि पनि सडकमा आउने छन् आफ्नालागि र आफ्ना लागि बोल्ने सत्याग्रहीका लागि ।

११.सरकार भनेको जनताको सेवक हो । जनतालाई जनताले राज्य गर्न अनुमतिमात्र दिएका हुन्, मालिक हुन र विवादका भुमरी तयार गर्न भनेर सरकारमा पठाएका होइनन् । तर अहिले जे हुँदैछ, त्यस्ले मुलुकलाई गम्भीर मतभेद र संक्रमणतर्फ धकेलेको पाइन्छ । सरकारमा हुनेलाई सायद त्यस्को आभास हुँदैन होला र सत्ता सधैँ आँखामा पट्टी बाँधेको जस्तै हुन्छ भन्छन् । बरु भौतिकरुपमा दृष्टिविहीन साथीहरुमा त प्रज्ञाचक्षु हुन्छ, तर सरकारमा भने त्यस्तो चक्षु झन आवश्यक हुन्छ ।

१२.सत्ता भनेको क्षणिक आवेग हो । तर त्यही सत्ताले अमर बनाएका व्यक्तिहरु पनि छन् । टाढा जानै पर्दैन, जनमुखी काम गरेकाले राजाले बीपीलाई सत्ताच्यूत गर्दा आज राजतन्त्र नै रहेन । बीपीको नाम जस्ले जे भने पनि नेपाली इतिहासमा अमर भएको छ भने राजाहरुको नाम केही वर्षपछि हराउँदै जानेछ । जो अमर भए , ती जनताका स्मृतिमा ताजै रहनेछन् ।नेपाली जनता अत्यन्त चनाखो भएर हेरिरहेका छन् । सरकारमा जो हुन्छ, त्यसको काम कार्बाही हेर्छन् । सरकार जनताप्रति कति उत्तरदायी छ भनेर दाँज्छन् र आगामी दिनमा कसरी न्याय दिने हो भनेर विचार गर्छन् ।

१३.राजनीतिको चक्रमा कहिले को अघि , को पछि हुन्छ तर जनताको भावना भनेको आफैँले खटाएका नेताले सरकार कसरी चलाउँछन्, त्यसमा बढी ध्यान हुन्छ । जनता सजगताका साथ हेरिरहेका हुनेछन् ।

१४. सरकारले जित्यो कि केसीले जित्नुभयो, जसले जितेको अर्थ लगाए पनि हुन्छ । यदि केसी सत्याग्रहमा नबस्नु भएको भए विधेयकमा आएका विषयवस्तु सँसदमा पारित हुन्थे । तर केसीका मागहरु जायज वा नाजायजभन्दा, उहाँको ध्येयमाथि प्रश्न उठाउनु भन्दा उहाँको र स्वास्थ्य शिक्षासम्बन्धी मनीषीहरुको सल्लाहमा मुलुकको शिक्षा प्रणालीमा नयाँ परिवर्तन गरौँ र फेरि फेरि एउटै विषयमा कुनै गोविन्द केसीले पनि फेरि आमरण अनसन बस्नु नपरोस् भन्ने कुरामा सबैको ध्यान जानु जरुरी छ ।

१५. र अन्त्यमा, सरकारका केही दम्भहरुका दाँत भाँचिन थालेका छन् र समयको प्रवाहसँगै अरु दम्भहरुका विषालु फणपनि आफैँ नष्ट हुन थाल्नेछन् । सत्याग्रहको बल के रहेछ भन्ने सबैलाई चेतना भयो । जुम्लामा बसेर सिंहदरबारलाई हल्लाउनु भनेको नै अहिलेको सत्याग्रह हो । सायद अब त एक दुई जना मरेर के हुन्छ भन्ने दम्भ फेरि नपलाउला कि ? बेलैमा सत्यप्रति वास्ता गर्ने बानी पर्ला कि ? लोकप्रिय मतमा हाराहारी रहेको दललाई जनताले अस्वीकृत गरेको भनेर भन्ने दम्भबाट अझै बाहिर आउने पो हो कि सरकारका नेतृत्व गर्नेहरु ? आगामी दिनहरुमा हुनसक्ने विवादलाई बेलैमा समाधान गर्ने बानी सरकारमा बस्नेहरुमा आओस् । केसी प्रकरण र सरकारको लाचारीले त्यही सन्देश दिएको जस्तो लाग्छ ।

सम्बन्धित समाचार

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७५ श्रावण १४, ०८: ०९

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७५ श्रावण १४, ०८: ०९

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०७५ श्रावण १४, ०८: ०९

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...