किन सुशील कोइराला महान रहेछन् त ? त्यस्तै त्याग र दूरदर्शिताको खाँचो परेको छ अहिले मुलुक र कांग्रेसलाई – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

किन सुशील कोइराला महान रहेछन् त ? त्यस्तै त्याग र दूरदर्शिताको खाँचो परेको छ अहिले मुलुक र कांग्रेसलाई

१.लाजै मर्नु भयो । नेकपा एमाले पछारिँदै छ, टकटकाउँदै छ, अनि उठेर हिँड्दै छ । काँग्रेसको वडाको निर्वाचन घोषणा भएपछि विधान अधिवेशनको चटारो थप्यो, अहिले १३ जिल्लामा बाहेक एकैदिन वडाको निर्वाचन सम्पन्न गरेको छ र अरु दलहरुलाई उसैको वरिपरि घुमाएको छ । संसद चल्न दिएको छैन तर संसदको सबै सुविधा लिएकै छ ।

अरुको दाँतमा ढुंगा लगाउँदै आपूm मज्जाले चपाउन थालेको छ । र त्यो दलले मात्र कांग्रेसलाई प्रतिस्पर्धी ठानेको छ र अहिले अरुलाई छाडेर कांग्रेसलाई खिसी गर्न थालेको छ । कारण हो, कुनै पनि बेला हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अहिले नै संगठन गर्ने, स्थानीय निर्वाचनको आँकलन गर्ने र आफ्नो म्याद गुज्रेको निर्वाचनको समयलाई हल्लाखल्ला विना पुनर्जीवन दिने । वैध संस्थाको रुपमा निर्वाचनमा होमिने ।

त्यस्तो दिन पनि नेपाली इतिहासमा आयो कि कम्यु्निस्ट पार्टीले नेपाली कांग्रेसको प्रजातन्त्रका प्रतिको आस्था र प्रक्रियामा आफ्नो दलको निर्वाचनमा उदाहरण दिएर हामी त्यस्तो हुनुहुँदैन भनेर कार्यकर्तालाई उत्प्रेरणा दिँदै आन्तरिक प्रजातन्त्रका लागि उक्साएकोे ? भन्नेले भन्ने नै भए किनभने कहिले नामावलीको अन्तिम नाम निस्कने हो, कहिले बाँँकी जिल्लाको वडा निर्वाचन र पालिका निर्वाचन हुने हो र महाधिवेशनको प्रतिनिधिहरुको निर्वाचन सम्पन्न गरेर महाधिवेशनका लागि तयारी गर्ने हो ?

२. मुलुकमा निरंकुशता लाद्न थालेकोले र प्रजातन्त्रको मर्मभन्दा बाहिर जान थालेकाले विद्रोह गरेका पुराना एमाले अनि अहिलेका नेकपा एकीकृत समाजवादी सम्हालिएर संगठनमा जानुभन्दा पहिले नै एमालेको ओली समूह गाउँमा, सहरमा, वडा वडामा पुगेको साँचो हो र एमालेमा महाधिवेशनका कुरा सुरु हुनुभन्दा पहिले नै महाधिवेशनको निर्वाचनमा होमिएको कांग्रेसको चौँधौँ महाधिवेशन कहिले हुने भन्ने कुरामा कसैले पनि भन्न सक्ने अवस्था छैन ।

त्यसरी टुट र फुटबाट घाइते दलले पनि आफूलाई पहिलेझैँ देखाउन र नेपालको नंबर एक दलको रुपमा स्थापित गर्न लागेको कुरालाई ख्याल ख्याल सम्झनु हुँदैन । सिक्नुपर्छ संगठनका बारेमा यी कुराहरु ।

कम्तीमा पनि संगठनका बारेमा आफ्नो प्रतिस्पर्धीबाट पनि सिक्नु जरुरी छ । सायद यही मेसोमा होला, वडाको निर्वाचनको उद्घाटन गर्दा पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पहिलो भन्ने लबजमा भनेको पाइयो-कांग्रेसको महाधिवेशन रुमलिएको छ अर्थात् त्यो दल अब अवैध हुँदैछ ।

प्रतिस्पर्धीको आँखामा मात्र होइन, आफ्नो दलका समर्थक, शुभेच्छुक र सक्रिय नेताहरुका आँखामा पनि कांग्रेसलाई वैधता दिने तर्क देखापरेको छैन । यदि मंसिरमा तोकिएको समयमा पनि निर्वाचन गर्न सकिएन भने मुख लुकाउने पनि ठाउँ हुनेछैन ।

हामीहरुका लागि, प्रजातन्त्रको पर्याय अहिलेसम्मका लागि नेपाली कांग्रेस भन्ने दलमात्र हो भन्ने रहनी पनि अब बन्द गर्नु पर्ने जस्तो भएको छ । त्यसैलाई भन्छन् क्यारे, माल पाएर पनि चाल नपाउनेहरुको गति के हुन्छ ?

३. एकपटक संविधान घोषणाको बेला सम्झने कोसिस गरौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सायद भित्रभित्रै अन्तरिम संविधानमा संशोधन गरेर दलहरुको अन्तिम समयका लागि पाँचवर्षपछि अरु ६ महिना थप्नका लागि गठबन्धनको मुख्य दल एमालेसँग अनुरोध गर्नु भएको थियो तर नयाँ संविधानमा ६ महिनाको प्राबधान भएकाले किन संशोधन गर्ने र ?

संविधान नै घोषणा गर्ने नि, भनेपछि नेपाली कांग्रेसको वैधता जोगाउनका लागि पनि भारतसँग सिंगौरी खेलेर भए पनि संविधान सभाबाट संविधान घोषणा गराउन तिर लाग्नु भयो जबकि उहाँलाई थाहा थियो, संविधान घोषणाको केही घण्टामा नै उहाँलाई प्रधानमन्त्रीको पदबाट हटाउने संवैधानिक प्राबधान राखिएको छ । र पनि नेपाली कांग्रेसलाई वैधता दिन पनि र अरु ६ महिनाको समय पाउन पनि घोषणाका लागि प्रतिबद्ध भएर दलको अस्तित्व जोगाउनु भएको थियो ।

बरु आफ्नो पद जाओस् , बरु भारत रिसाओस् या मधेसबादीहरु संसद बाहिरबाट कराइरहून्, जसरी हुन्छ प्रजातन्त्रको एकमात्र भरोसा आफ्नो दल नेपाली कांग्रेस बचाएर लान सकियो भने अरु धेरै मानिसहरुले यो संविधान अनुसार र नेपाली कांग्रेसको संगठनमार्फत् प्रधानमन्त्री, मन्त्री या पदको जिम्मा लिएर नेपालको विकास गरुन् भन्ने थियो । आज बल्ल सुशील कोइरालाको त्यो त्याग सम्झन थालिएको छ नेपाली प्रजातान्त्रिक इतिहासमा ।

४.अहिले नेपाली कांग्रेस सरकारको शीर्ष स्थानमा छ । तर ठुलो दलको रुपमा भने एमाले नै छ संघीय संसदमा । ७ प्रदेशमध्ये ४ ओटामा मुख्यमन्त्रीको पद लिएर बसेको एमाले अहिले ध्वस्त हुँदै कुनै पनि प्रदेशको सरकारमा नहुने अवस्थामा छ र पनि आन्तरिक प्रजातन्त्रका लागि कम्मर कसेर लागेको छ देखावटी नै सही । देखावटी त सबैको दलमा हुने रहेछ ।

कांग्रेसमा पनि त्यही आफ्नो आफ्नो कब्जाका लागि नै यो मारामार भएको हो । तर के बिर्सेको जस्तो लाग्यो भने कब्जा कसका लागि ? संगठनको सहज तरिकाले पार्टी सबल हुन्छ तर व्यक्तिको कब्जामा पार्टी जाँदा के हुन्छ भन्ने कुरा हिटलरको इतिहासले देखाएको छैन र ? निरंकुशताले जहिले पनि दलमा कब्जा देखाएको हुन्छ र त्यो समयमा ऊभन्दा बलियो कोही पनि देखिएको हुँदैन तर भविष्य र इतिहासले के देखाउँछ ?

भारतमा इन्दिरा गान्धीको समयमा लाग्थ्यो सायद अर्को दल फेरि भारतमा जन्मनै सक्दैन कांग्रेस आइ भन्दा बाहेक तर आज जुन बिजोग कांग्रेसको छ, त्यसले के देखाउँछ ? जम्मा दुई सिटको भाजपा आज कस्तो छ संगठनलाई चुस्त बनाएकाले ।

५. नेपालका आम निर्वाचनहरुको व्यवस्थापन इतिहासले नेपाली कांग्रेसलाई दिएको देखिन्छ । २०१५, २०४८, २०५१,२०५६,२०६४,२०७०,२०७४ सबै बेलामा । स्वच्छ र निष्पक्ष निर्वाचनको प्रत्याभूति दिनेचाहिँ कांग्रेस नै हुने रहेछ ।

२०५४ सालको निर्वाचनजस्तै गराउने सुरमा हुनुहुन्थ्यो पूर्व प्रधानमन्त्री ओलीजी । तर सर्वोच्च अदालतले गर्दा उहाँको त्यो महत्वाकांक्षामा तुषारापात भएको पक्कै हो तर आफैँले निर्वाचन गराउँदैमा नजित्ने कांग्रेस हो किनभने निष्पक्ष निर्वाचनको प्रत्याभूति निर्वाचन आयोगलाई दिएको हुन्छ ।

आफैँले गराएको निर्वाचनमा २०६४ र २०७४मा लाजमर्नु तरिकाले हार्ने कांग्रेस नै हो तर त्यसले कांग्रेसको प्रजातन्त्रप्रतिको आस्थामा कसैले प्रश्न उठाएन किनभने आन्तरिक प्रजातन्त्रमा चुकेको थिएन ।

२०७० मा सम्हालिएर आयो भने तयारी गरेर संगठन चुस्त पार्न सक्दा अबका दिन पनि सफलता लिएर आउलान् । तर अहिले आन्तरिक प्रजातन्त्रका चुकेकाले वैधता र आस्थाप्रति प्रश्न उठ्न थालेको छ ।

यसका लागि राज्यको अभिभारासँगै आफ्नो आन्तरिक प्रजातन्त्र चुस्त पार्ने, मुलुकका लागि आवश्यक निर्वाचनको तयारी गर्ने अनि प्रजातन्त्रप्रतिको आस्थामा कसैले औँला ठड्याउने ठाउँ नदिनु नै आजको कांग्रेसको पहिलो कर्तव्य हुन गएको छ । कुनै पनि दल प्रजातान्त्रिक गोरेटोबाट विचलित नहोस् भन्ने नै प्रजातन्त्र र प्रजातान्त्रिक संविधानवादको मर्म हो ।

६.यदि अहिलेकै अवस्था जस्तै गरी देश राजनीतिक अस्थिरतातर्फ नै रुमलिई रह्यो भने छिटै आम निर्वाचनमा जानुको विकल्प छैन भन्ने राजनीतिक पर्यवेक्षकहरुका दृष्टिमा निर्वाचनका बारेमा बेलैमा सहमति गरेर जानु पर्ने देखिन्छ ।

अर्थात् अहिले हामी मिश्रित निर्वाचन प्रणालीमा छौँ । एकातिर प्रतिनिधि सभा र प्रदेश सभाहरुको बनावट प्रत्यक्ष निर्वाचन र समानुपातिक निर्वाचन प्रणालीबाट सांसद संख्या निर्धारण गरिन्छ ।

स्थानीय तहमा पनि प्रत्यक्ष निर्वाचन प्रणाली छ र केही समावेशी पद निर्धारणका लागि मनोनयनको प्रक्रिया पनि प्रयोग गरिएको छ । समष्टिमा हाम्रो निर्वाचन प्रणाली मिश्रित नै मान्नुपर्छ ।

७.संविधान सभाबाट घोषित २०७२ सालको नेपालको संविधानको एउटा निर्वाचनको चक्र समाप्त हुन थालेको छ । अहिलेको अस्थिरता खासमा निर्वाचनको कारणले भएको होइन तर निर्वाचनका वारेमा उठेका केही प्रश्नहरुको समाधान गरेर सकेसम्म स्थिरतातर्फ जानेगरी राजनीतिक प्रणालीलाई सुधारोन्मुख गर्नैपर्ने देखिन्छ । त्यो आन्तरिक निर्वाचनमा होस् या मुलुकको राज्य सञ्चालनका लागि गरिने आवधिक निर्वाचनका लागि होस् ।

८.बिहेको अलमलमा केटी माग्न बिर्सियो भन्ने नेपाली पुरानो उखान जुन छ, त्यस्तै हुनेगर्छ हाम्रो देशमा । दुई दुई पटक प्रतिनिधि सभा विघटन गरेर निर्वाचनमा हामी हतार हतारमा जानै लागेका थियौँ २०७७ साल पुस ५ गते र २०७८ साल जेठ ८ गते विहानै ।

अहिले पनि यो गठबन्धन सरकारलाई पहिले संसद भंग गरेर नथाक्ने दल नेकपा एमालेले हतार हतारमा निर्वाचनमा जान बाध्य पार्न थालेको देखिन्छ । ठिक छ, निर्वाचनमा जाने नै हो भने निर्वाचन सुधारका कुराहरुलाई संसदमा खुला छलफल गरौँ, नागरिक समाजहरुसँग खुला बहस गरौँ ।

कसरी कम खर्च हुन्छ, अस्वस्थ प्रतिस्पर्धा कसरी कम गर्न सकिन्छ, कसरी एउटै मतपत्रलाई वहुआयामिक र वहुउद्देश्यीय बनाउन सकिन्छ, कसरी निर्वाचनक्रममा निर्वाचन अपराध न्यून गराउन सकिन्छ, त्यसबारेमा व्यापक छलफल सुरु गरौँ र मात्र निर्वाचनमा जाऔँ ।

९.नयाँ संविधानअनुसार भएका निर्वाचनका परिणामले देखाएका सकारात्मक र नकारात्मक परिणामहरुको समीक्षा गरिनु पर्छ । पुराना निर्वाचनहरुको परिणाम र अहिलेको परिणामको कसरी मूल्यांकन गर्न सकिन्छ, विज्ञहरुबाट त्यससम्बन्धमा निर्मम समालोचना आवश्यक छ । त्यसका लागि समय कम हुन थालेको आभास हुन्छ किनभने ढिलोमा पनि २०७९ सालको मंसिरमा संघीय तल्लो सदन र प्रादेशिक संसदहरुको निर्वाचन गराउनै पर्छ ।

त्यसको ६ महिना पहिले स्थानीय निर्वाचन गरेकै हुनुपर्छ नत्रभने सबै स्थानीय तहका पदहरुको समय समाप्त भएको हुन्छ । अरबौँ बेरुजु स्थानीय तहमा पनि देखिएको छ र बेरुजु फछ्र्यौट नगरी कुनै पनि निर्वाचनमा उम्मेदवार हुन ती जनप्रतिनिधिहरुलाई दिइनु हुँदैन भन्दा खोइ त समय ?

त्यसैले संसदले दिन रात नभनेर काम गर्ने र हाम्रो तीन तहका सरकारमा देखिएका कमी कमजोरीहरुको सुधार गर्ने निर्वाचन प्रणालीका नयाँ नयाँ तरिकाहरु कसरी संसदमा प्रस्तुत गर्ने ? खोइ समय ? अनि हामी संसदलाई जसरी हुन्छ विघटन गर्ने र निर्वाचनमा गएर अर्को संसदको गठन गर्ने कुरामा व्यग्रताका साथ लाग्न थाल्यौँ भने कहिले हो त निर्वाचनमा सुधार गर्ने ?

१०.र अन्त्यमा, अहिलेको नेपाली कांग्रेसको अवस्थाका लागि त्यसैपनि सभापतिका नाताले शेरबहादुर देउवाजीको उत्तरदायित्वमा आउँछ तर सम्पूर्ण नेपाली कांग्रेसका नेताहरु भने चोखो रहन सक्दैनन् ।

विभिन्न तिकडम गरेर भए पनि विभिन्न पदहरु धारण गरेर बस्ने अनि दोषजत्ति सभापतिको टाउकोमा थुपारेर बस्न मिल्दैन । त्यसैले नेपाली कांग्रेस भनेको सामूहिक नेतृत्वको दलको रुपमा विकास गर्न थालेको हो भने मिलेर निर्विवादरुपमा तत्काल बाँकी १३ जिल्लाको समस्या समाधान गरी रोकिएको निर्वाचन छिटो गरेर मंसिर ९ गतेदेखिको महाधिवेशन सम्पन्न गर्नैपर्ने समय आएको छ ।

अन्यथा आगामी निर्वाचनमा यसको बाछिटाले हान्ने छ र झन मुलुक अस्थिरता र अन्यौलको भुमरीमा जाकिने छ ।

त्योबेलामा ढिलो हुनेछ जसले गर्दा मुलुकको अस्मितामा समेत प्रश्न उठ्न सक्ने अवस्था आउने बेलामा पूरा नेपालको नेतृत्व गर्नुपर्ने नेपाली कांग्रेस आफैँमा अवैध दलका रुपमा रहनु नपरोस् भन्ने शुभकामना । छिटै रोकिएको आन्तरिक प्रजातन्त्रलाई गति दिनु नै पहिलो र जरुरी कर्तव्य भएको देखिन्छ । विज्ञेषु किमधिकम् ।

सम्बन्धित समाचार

यो अभूतपूर्व राष्ट्रिय एकताको चुरोमा दलहरुको सहिष्णु व्यवहार हो भन्ने नभुलौँ
यो अभूतपूर्व राष्ट्रिय एकताको चुरोमा दलहरुको सहिष्णु व्यवहार हो भन्ने नभुलौँ
  • २०७८ कार्तिक ८, १२: १७

  १. श्रावण १०पछि देखिएको अभूतपूर्व राष्ट्रिय एकता सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा सामान्य वादविवादपछि जुन प्रकारले परिस्थिति हिन्दु मुस्लिम...

वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
  • २०७८ कार्तिक ८, १२: १७

काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...

एमाले र नेकपाको सहमतिले दिएको सन्देश कति सकारात्मक ? कांग्रेसभित्रको एकता कति अपरिहार्य ?
एमाले र नेकपाको सहमतिले दिएको सन्देश कति सकारात्मक ? कांग्रेसभित्रको एकता कति अपरिहार्य ?
  • २०७८ कार्तिक ८, १२: १७

१. प्रदेश सरकारमा चलखेलको परिणाम कुनै पनि राजनीतिक शक्तिले अतीतमा भएका गल्तीबाट पाठ सिकेका हुन्छन् तर नेपाली राजनीतिमा तत्कालको फाइदालाई...