राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भ – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भ

आफैँमा एकता कायम गरेमात्र मेलमिलाप सान्दर्भिक हुनेछ
हरिविनोद अधिकारी

१.नेपाली काँग्रेसको महासमितिको भेला भर्खर सम्पन्न भएको छ । त्यसले नकारात्मकमात्र सन्देश दिएको छैन, सकारात्मक सन्देश पनि दिएको छ । आपसमा जेजे विवाद भए पनि काँग्रेस मिलेर जाँदैछ भन्ने कुरा बाहिर आउन थालेको छ । तर नेपालको संविधान बनाउने काँग्रेसको संविधान कार्यान्वयनमा भूमिका रहेन भन्ने व्यापक जनगुनासो भने छँदैछ ।

२.नेपालमा संविधान सभाले बनाएको संविधान कार्यान्वयनको चरणमा छ । यो संविधान सभाको दोस्रो निर्वाचनले मात्र सम्भव भएको हो र संविधान बनाउनमा नेपाली काँग्रेसले नेतृत्व गरेको सरकार थियो र त्यसको नेतृत्व नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले गर्नुभएको थियो । सदनमा ठूलो दल भएर पनि नेपाली काँग्रेस नेपाली राजनीतिमा चौतर्फी घेराबन्दीमा परेको छ । त्यो घेराबन्दी वामपन्थीहरुको, मधेस केन्द्रित दलहरुको र विदेशी मित्रहरुको समेत हो । सबैको अखानोमा परेको बेला छ र नेपाली काँग्रेस आफैँ आन्तरिक प्रजातन्त्रका लागि संघर्षरत पनि छ ।

एकातिर सबै दलहरुसँगको आन्तरिक असैद्धान्तिक प्रतिस्पर्धा र आफैँमा अनुशासनहीनताको अन्तद्र्वन्द्वमा फसेको छ नेपाली काँग्रेस । संसदमा काँग्रेस संसदमा दोस्रो ठूलो दल हो र पनि प्राप्त मत नेपाली काँग्रेसका लागि धेरै कम हो र साँसदहरुको संख्या पनि कम हो । २०१५,२०४८,२०५६मा आफैँले बहुमतको सरकार बनाएको नेपाली काँग्रेससँग अहिले आफैँसँग सरकार बनाउने बहुमत पनि छैन मात्र होइन कि सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनसमेत पुग्ने मत छैन । संविधान कार्यान्वयनका लागि भरपर्दो मित्र शक्तिको आड भरोस गर्ने ठाउँ पनि देखिँदैन तथापि संसदीय व्यवस्थामा देखिने वा भित्र्याइने सम्पूर्ण नराम्रा व्यवहार र अभ्यासको अपजस भने उसैको टाउकोमा थोपरिन्छ जबकि संसदीय व्यवस्थाका पक्षमा काँग्रेस अडिग छ र अडिग रहिरहनु पनि जरुरी छ ।

एउटा विरोधलाई कतैबाट पनि नसहने तर मुलुकमा शान्ति छ भन्ने शैलीको मुर्दा शान्तिले बास गरिरहेको बेलामा र राजाले गाउँ फर्क अभियानको नाममा पञ्चायतलाई स्टालिनशैलीमा एकदलीयस्वरुप दिई रहेको बेलामा बीपीले राष्ट्रिय मेलमिलापको नीतिलिई नेपाल प्रवेश गर्ने राजनीतिक जोखिम उठाउनु भएको थियो । यसरी राजनेताहरुले आफ्नो स्वनिर्वासन त्यागी स्वेच्छाले स्वदेश प्रवेश गर्दा पनि कहिलेकाहीँ त्यो निर्णय राजनीतिकरुपमा जनआन्दोलनमा रुपान्तरित हँुदोरहेछ र त्यसले शान्त समुद्रमा ज्वार भाटा आएपछि देखिने आधारभूतरुपमा राजनीतिको धार नै परिवर्तन गर्दोरहेछ भन्ने कुराको आधार त्यस दिनलाई लिन सकिन्छ जुन दिनलाई बीपी कोइराला, गणेशमानजीले राष्ट्रभित्र नै मेलमिलाप गर्नका लागि राजनीतिको नयाँ रुप प्रस्तुत गर्नुभएको थियो ।

३.यो पुसमा एउटा संयोग पनि छ नेपाली काँग्रेसका लागि । पुस १ गते काँग्रेसको सरकारसँगै संसद पनि विघटन गरेर प्रजातन्त्रको हत्या गरेका थिए राजा महेन्द्रले । अनि त्यसैगरी मुलुक जोगाउन बीपी पनि पुसमा नै आउनु भएको थियो । त्यसैले नेपालको राजनीतिक इतिहासमा पुस १६ गतेलाई राष्ट्रिय मेलमिलाप दिवसको रुपमा लिइन्छ पनि । हुन त यो दिन अर्थात् २०३३ साल पुस १६ गते नेपाली काँग्रेसका संस्थापक नेताहरु बीपी कोइराला र गणेशमानजीसहितका नेताहरु विनाशर्त भारत प्रवासबाट नेपालमा फर्कनु भएको थियो ।

नेपालको खस्कँदो राष्ट्रिय अस्तित्वलाई आधार बनाएर त्यस्तो निर्णय गरिएको थियो , त्यो निर्णय यति अचानक र संवेदनशील अवस्थामा भएको थियो कि यसलाई स्वीकार गर्न नेपाली काँग्रेसका थुप्रै अहिँसावादी नेताहरुलाई पनि लामो समय लागेको थियो । यसका प्रणेता नेपाली काँग्रेसका अध्यक्ष बीपी कोइराला स्वयम् नै हुनुहुन्थ्यो । त्यो नीतिको सोलोढोलो परिणाम आउन्जेलसम्म बीपी रहनु त भएन तर उहाँको जुन भविष्यवाणीका आधारमा मेलमिलापको आधारभूमि खडाभएको मानिएको थियो, त्यसको मर्मलाई कुल्चिँदा नेपालको राजनीतिमा आमूल परिवर्तन अवश्यम्भावी भएको तथ्य आज अथ्र्याउन सकिन्छ ।

त्यसैको परिणामस्वरुप लोकतन्त्रको बहाली , पुनर्बहाली सम्भव भएको विश्लेषण गर्दा अत्युक्ति हुँदैन नेपाली राजनीतिमा । राजाको प्रजातन्त्र विरुद्धको अनवरत दृश्य अदृश्य लिँढे ढिपीले गणतन्त्र सम्भव भएको पनि माने अत्युक्ति हुने छैन ।

४.तत्कालीन अवस्थामा निर्विकल्प भनी व्याख्या गरिएको र राष्ट्रियताको पक्षमा भनी तत्कालीन अवस्थाका चिनिएका स्वनामधन्य वामपन्थीहरुबाट समेत स्वीकृत निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्धमा सदैव असहमति जनाउँदै आउनु भएका र त्यसका विपक्षमा सशस्त्र आन्दोलनसमेत गर्नुभएका नेपाली काँग्रेसका नेताहरु बीपी कोइराला, गणेशमान सिँहसहितका नेताहरुले आफ्नै देशमा शान्तिपूर्ण तरिकाले अहिँसात्मक आन्दोलन गर्न भनी लिएको नीतिलाई नै नेपालको राजनीतिमा राष्ट्रिय मेलमिलापको रुपमा मानिएको छ ।

५.बीपी, गणेशमानजीसहितका थुप्रै नेताहरुलाई फाँसीसमेतको माँग गरी नेपालका अदालतहरुमा मुद्दा चलाइएको अवस्थामा एकाएक स्वेच्छाले नेपाल प्रवेश गर्ने नीति तयार गरी सम्पूर्ण काँग्रेसहरु बाघको खोरमा मृग पसेजस्तै गरी राजाको प्रत्यक्ष शासनमा ग्वारग्वारती पस्दा नेपालको राजनीतिमा एउटा सशक्त तरङ्ग उत्पन्न भएको थियो र पञ्चायतलाई नै आफ्नो कब्जामा लिएर राजाभन्दा पनि ठूला राजावादी भएका घुसपैठवादीहरुका लागि त्यो तिलस्मी नीतिको रुपमा अथ्र्याइएको थियो ।

६.राजासँग मिलेर भए पनि कमजोर राष्ट्रियतालाई सबल बनाउने तर प्रजातन्त्रविनाको राष्ट्रियता खोक्रो नारामात्र साबित हुने भएकोले न संघर्ष , न समर्पणको नीतिलाई अवलम्बन गरिएको थियो । समर्पण कोहीसँग होइन तर नेपालको हितका लागि जो सँग पनि सहकार्य गर्ने नीति थियो , प्रजातन्त्रका लागि कोहीसँग पनि सम्झौता नगरी प्रजातन्त्र पुनर्बहाली गराएरै छोड्ने नीति थियो बीपीको । यसमा लौहपुरुष गणेशमानजी, अथक शान्तियोद्धा कृष्णप्रसाद भट्टराईजी, क्रान्ति नायक गिरिजाप्रसाद कोइराला, अथक प्रजातन्त्रका सेनानी महेन्द्रनारायण निधिजस्ता नेताहरुको बीपीलाई सदैब साथ थियो ।

७.हजारौँ युवा नेताहरुको सक्षम नेतृत्व सदैव उहाँको प्रजातन्त्र प्राप्तिका पक्षमा थियो । नेपाली जनताको जनपक्षीय धारको नेतृत्व बीपीको नाममा मात्र विश्वभर विश्वसनीयरुपमा यसकारणले पनि परिचित थियो कि उहाँलाई राजाले २०१७ सालमा विनाकारण सैनिक बलमा अपदस्थ गरेका थिए । त्यसपछि कुनै पनि नागरिकलाई कुनै पनि दलमा स्वेच्छाले लागेकोमा अपराधी घोषणा गरिएको थियो । एकदलीय र निरङ्कुश शासनको यो परिचय नै हो लोकतन्त्रका विरुद्धमा सदैव । आज पनि कतिपय देशमा यो सुन्न र देख्न पाइन्छ ।

८.पुस १६ पछि नेपालको राजनीतिले गुणात्मक परिवर्तन आत्मसात ग¥यो । त्यसको पछिल्लो क्रमागत उपलब्धि भनेको संविधानसभा हो र उपलब्धि भनेको नयाँ संविधानअनुसारको नयाँ नेपाल नै हो जहाँ लोकतन्त्र, गणतन्त्र, संघीय स्वरुप र समावेशी चरित्रको शासकीय स्वरुप छ ।

९.अब चर्चा गराँै, मेलमिलापको अहिलेको सन्दर्भमा । मुलुकमा दुई तिहाईको प्रचण्ड बहुमतको सरकार छ । र पनि सरकारको काम हेर्दा काम चलाउ जस्तै छ । कतिपय प्रश्नमा सरकार अनिर्णय र अपरिपक्वताले मुलुक अझै अनिर्णयको बन्दी कतिसम्म हुने हो , भन्न सकिँदैन । दण्डविहीनता मौलाएको छ । भ्रष्टाचार सदाचार भएको छ । दलहरुका बीचमा आपसी र दलीय विवाद आन्तरिक रुपमा कायम छन् ।

दलहरुका बीचमा नै मेलमिलाप आवश्यकता छ । त्यसैले दलहरु प्रति जनतामा नैराश्यता छ र पनि दलहरु नै लोकतन्त्रका वाहक र उपभोक्ता दुवै रहेको अवस्था छ । सवै दलहरु मिल्नु बाहेक कुनै अर्को विकल्प बाँकी छैन । बीपीले भन्नु भएको बेलामा जस्तो जटिल अवस्थामा मात्र देश छैन । मियो विनाको दाइँ भइरहेको अवस्था छ । दलहरुका बीचमा विश्वासको सङ्कट छ । कसैको पनि कसैसँग विश्वास छैन ।

१०.विश्वका लोकतान्त्रिक मुलुकलाई र संस्थाहरुलाई लोकतन्त्रको विकासप्रति विश्वस्त पानसक्र्ने अन्तरराष्ट्रिय व्यक्तित्व भएको मानिस गिरिजाबाबु पनि अहिले हामी सामु हुनुहुन्न । उहाँले नासोमा छोड्नु भएको दल नेपाली काँग्रेसभित्रमा पनि अहिले आफैँ राष्ट्रिय मेलमिलापको आवश्यकता छ ।प्रत्येक दलको आफैँमा मेलमिलापको आवश्यकता छ । मधेस केन्द्रित दलहरुले संविधानप्रति असन्तुष्टि जनाई गरेको आन्दोलनले अन्यौलमासँगै संविधानअनुसारको सरकारलाई समर्थन गर्दै संविधानको विरोधमा पनि छन् र सरकारमा पनि छन् , यस्तो अवस्था पो छ । नयाँ नयाँ समीकरण जन्माएको छ परिस्थितिले । कहिले मिल्यो जस्तो त कहिले कहिल्यै मिल्दैन जस्तो देखिन्छ । कहिले मुलुकको अस्मितामाथि नै धाबा बोलेजस्तो त कहिले सबै ठीकै जस्तो देखिन्छ । कहिले कुन दलको निकट को जस्तो कहिले को जस्तो देखिन्छ । सायद यसैलाई भन्दछन् क्या रे संक्रमणकाल र अन्यौलग्रस्त राजनीति ।

११.त्यसैले आज अन्तरदलीय मेलमिलापको आवश्यकता देखिन्छ । सरकार सञ्चालनका लागि होस् कि सरकारका काम कार्बाहीलाई जनस्तरमा सेवा दिनका लागि होस्, वा तीन तहका सरकारका बीचमा संविधानबमोजिमको समन्वय कायम गर्नका लागि होस् । बीपीले भनेजस्तै अवस्था होस वा नहोस्, उहाँले कल्पना गर्नुभएको मेलमिलापको सैद्धान्तिक धरातलले मात्र आजको समस्या समाधान हुनसक्ने संभावना देखिन्छ । मुलुक झन झन दुरावस्थामा भासिएको छ । बीपीको एक इसारामा ज्यानको बाजी थाप्न चाहने ती युवाहरु अहिले नयाँ बहुराष्ट्रको परिभाषा खोजिरहेका छन् र मुलुकको अवस्था अझ जीर्ण र कमजोर हुँदा पनि मुलुकप्रति संवेदनशील हुन सकेका छैनन् , किन ? यसको उत्तर आजको नीति निर्माता र नेतृत्वले दिनै पर्छ ।

१२.दिनको हिसाबले त त्यो दिवस पुस १६ गते नै मनाइन्छ, मनाइँदै आइएको पनि छ । तर मेलमिलापलाई , त्यो दिवसलाई काँग्रेसको मात्र सम्झने धृष्टता नगरौं । सवैले बीपीको त्यो संवेदनशीलतालाई अहिले पनि मनन गरौं । नेपालको राष्ट्रियता बलियो बनाउन हामी नेपालीमात्र लाग्नु पर्दछ । कोही हामीबीच हाम्रो प्रमुख शत्रु वा परम मित्र छैन । हामी एउटै डुँगामा सबार छौँ । प्वाल पा¥यौँ भने हाम्रो डँुगा डुब्ने छ । बाहिरकालाई रमिता हुनेछ । कथा हुनेछ । त्यसैले हामी सबै साझा प्रश्नमा एक भएर काम गर्न सक्यौँ र एक भएर समस्या समाधान गर्न सक्यौँ भने कसैले केही पनि बिगार्न सक्दैन । हामी आफ्ना अतीतका गल्तीबाट सिक्ने भन्दा डराउने गर्दछाँै । हामी गल्ती स्विकार्ने हिम्मत गराँै र सवै जना मिलेर यो अतीव सुन्दर देशलाई अझ सुन्दर बनाऔँ । सवैको मेलमिलाप र सहकार्यबाट मात्र त्यो संभव छ । राष्ट्रिय मेलमिलाप दिवसको मनन गर्ने कुरा पनि यही हो । कसैलाई निषेध गरेर वा चौतर्फी घेरामा पारेरमात्र नेपालको हित हुने छैन । लोकतन्त्रको विपक्षमा नसोचाँै । लोकतन्त्रका विकल्पमा लोकतन्त्रमात्र हुन्छ भन्ने सहमति तयार गरौँ ।

१३.नेपाली काँग्रेसको महासमिति भर्खरैमात्र समाप्त भएको छ । आगामी महाधिवेशनको तयारी गर्ने बेला पनि निकट भविष्यमा नै आएको छ । काँग्रेस आफैँ संयुक्त मोर्चा झैँ देखिन्छ । आपसका मेलमिलाप छैन । मेल मिलापका लागि अरु दलहरुसँग सहकार्य गरेर संविधानलाई कार्यान्वयन गर्ने खास जिम्मा काँग्रेसको हो तर आफैँमा तितर बितर भएको काँग्रेसमा त्यो क्षमता कति रहला ? त्यसैले सर्वप्रथम आफ्नो नीतिको कार्यान्वयन आफ्नै दलमा एकता र मेलमिलाप गरेर अरुलाई देखाउन सक्नु पर्दछ । दलका एजेन्डा कार्यान्वयन गर्न एकले अर्कालाई असहयोग गरेको पाइन्छ । जसले नेतृत्व लिए पनि त्यो दुष्चक्र घुमिरहने होला । त्यसो भएमा नेपाली जनताको आस्था काँग्रेसबाट मरेर जाने अवस्थामा देखिने रिक्तताको अहिले कल्पनासम्म पनि गर्न सकिँदैन । काँग्रेसलाई काँग्रेसले मात्र समाप्त गर्न सक्छ भन्ने गिरिजाबाबुको भनाई अहिले चरितार्थ हुँदैछ ।

१४.किन विवाद ? कसका लागि विवाद ? आफैँ राष्ट्रिय मेलमिलापको नीति अख्तियार गर्ने , अनि आफैँ कहिल्यै मिल्न नसक्ने ? को प्रधानमन्त्री हुँदैमा के हुँदो रहेछ र ? को पार्टी सभापति हुँदैमा के हुँदो रहेछ र ? दल बलियो हुँदा त प्रजातन्त्र त बलियो हुँदो रहेछ । वामपन्थीको प्रचण्ड बहुमतको सरकार बन्दा पनि दलमा देखिने विवादले प्रजातन्त्रवादीहरुलाई निराश नपारोस् ।

१५.र अन्त्यमा , बीपीको मेलमिलापलाई प्रशंसा गरेर र व्याख्या गरेर मात्र हुँदैन, त्यसलाई आत्मसात गरेर अभ्यास गरे पनि प्रजातन्त्र बलियो हुन्छ अनि प्रजातन्त्रका विरोधीहरुको तेजोबध हुन्छ । आखिर त्यसले नेपाल र नेपालको प्रजातन्त्रलाई नै सुदृढ बनाउँछ ।

सम्बन्धित समाचार

मुलुकको अवस्था, रास्वपा र नेपाली कांगे्रसको भविष्य
मुलुकको अवस्था, रास्वपा र नेपाली कांगे्रसको भविष्य
  • २०७५ पुष १६, ०७: ३१

१. राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार २०७९साल असार ७गते स्थापना भएको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को पहिलो महाधिवेशन असार ७गते सुरु...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७५ पुष १६, ०७: ३१

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७५ पुष १६, ०७: ३१

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...