आधुनिक नेपाली इतिहासको प्रथम प्रस्थान विन्दुः फागुन सात

हरिविनोद अधिकारी
१. फागुन सात अर्थात् प्रजातन्त्र दिवस । यसको महत्वलाई अचेल किन न्यूनीकरण गर्न थालिएको हो ?
२.पछिल्लो जनआन्दोलन २०६२—६३ पछि प्रजातन्त्रलाई लोकतन्त्र भन्न थालियो र फागुन ७ लाई प्रजातन्त्र दिवस भनेर मान्न कन्जुस्याईँ गर्दै त्यसको महत्वको न्यूनीकरण गर्न खोजिएको छ र डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा त त्यो दिनको नामो निसान नै मेटिएको थियो ।
सरकारले त्यो दिनलाई सम्झने कोसिस नै गरेन । फागुन ७ लाई प्रजातन्त्र दिवस नै मानेन तर अहिले भने फागुन ७ मनाउन प्रधामन्त्रीको अध्यक्षतामा समिति गठन भएको समाचार आएको छ । सायद पुरानो एमालेको नेतृत्वमा सरकार भएकाले हुनुपर्छ, प्रजातन्त्र दिवस मनाउनका लागि कुनै अप्ठ्यारो नपरेको होला ।
३. नेपालको इतिहासमा २००७ साल फागुन ७ असामान्यरुपमा महत्वपूर्ण देखिन्छ । २००७सालमा प्रजातन्त्र स्थापनाको क्षुधाले चेतना क्रान्ति हुँदैनथ्यो भने आजको नेपाल जो छ, त्यो पनि आज हुँदैनथ्यो । नेपाललाई आधुनिकताको पथ प्रदर्शन गर्ने यो घटना यदि हुँदैनथ्यो भने नेपाली जाति आज पनि कालो युगमा नै रहन बाध्य हुन्थे भन्ने कुराको प्रमाण अहिलेको हाम्रो नेपाली समाज बनेको छ । आजपर्यन्त भएका परिवर्तनको सुस्त गतिशीलतालाई दृष्टान्त दिन सकिन्छ ।
कछुवा गतिमा हिँडेको नेपाली समाजलाई एउटै घटनाले कङ्गारु छलाङ् मारेको एउटै दृष्टान्त हो फागुन ७ ।
४. हामी अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र सामाजिक न्यायका पुजारीहरुलाई नेपालको इतिहासमा साँच्चै फागुन ७ गते एउटा पूजनीय दिन हो, स्मरणीय दिन हो र दिन हो सकारात्मक स्वतः युगान्तकारी रुपान्तरणको ।
५. आज मुलुक न त प्रजातन्त्रको कुनै आत्मानुशासनमा बाँधिएको छ, न त स्थापित आधारशिलामा अनुशासित तरिकाले अगाडि बढेको छ । आज २०६२—६३को प्रजातान्त्रिक वा लोकतान्त्रिक व्यवस्थाको पुनस्र्थापनाका लागि आन्दोलन गर्नेहरु कस्तो व्यवस्थाका लागि लडिएछ भन्दै आफैँलाई धिक्कार्न थालेका छन् किनभने २००७सालको संवैधानिक राजतन्त्र र जनताको शासनको अधूरो कामको पूर्णता २०४६मा भएको थियो र प्रजातन्त्र हरणको ३० वर्षपछि त्यसलाई फिर्ता ल्याइएको थियो ।
२०५१ श्रावणसम्मको डोरेटो मेटिन थालेकोले होला, अहिले त्यो प्रजातान्त्रिक व्यवस्था पनि आकाशको फल हुन लागेको छ जबकि अहिले हामी छलाङ् मारेका गफ त हाँक्छौँ तर प्रजातन्त्रका कतिपय मर्ममा आघात पुगिरहेको टुलुटुलु हेरेर बसेका छौँ ।
६. तर २००७सालको जनक्रान्ति गर्नेलाई कहिल्यै लागेन कि हामीले जहानियाँ शासनबाट नेपाली जनतालाई मुक्ति दिलाएकामा कुनै पछुतो रह्यो । नेपालको समग्र पक्षमा अन्धकारबाट उज्यालोको यात्रा थियो र फागुन ७ ले नयाँ दिशा निर्देश गरेको थियो । आजको लोकतन्त्रको परिभाषा र अभ्यासमा धेरै प्रश्न उठ्न थालेको बेलामा झन २००७ साल टड्कारो रुपमा मानसपटलमा झलझली मडारिन्छ र अहिले पनि ती अग्रज क्रान्तिवीरहरुप्रति शिर निहुरिन्छ जसले गर्दा आज नेपाली स्वतन्त्र र सार्वभौम छौँ । ती ज्ञात अज्ञात क्रान्तिवीरहरु नै नेपालरुपी एउटा स्वतन्त्र र सार्वभौम देशका नयाँ युगबाहक हुन् र तिनको सहादत र जीवन जोबन न्यौछावरको जगमा हामी अहिले पनि गुडगुडी खेल्न सकेका छाँँै स्वतन्त्रतापूर्वक ।
७. सात साल फागुन सात गते स्थापन भएको प्रजातन्त्रका लागि नेपाली काँग्रेसले नेपाली जनताको आधारमा, नेपाली जनताका लागि प्रजातन्त्र स्थापना गर्न गरेको जनक्रान्ति कसैको विरुद्धमा थिएन, त्यहाँ कोही शत्रु घोषित थिएन र त्यो समृद्ध चेतनाको सङ्कलन पश्चातको एउटा विस्फोटन थियो जुन परिवर्तन योजनाबद्ध रूपान्तरणको पथमा थियो र आज पनि त्यो समयको छलाङलाई स्पष्ट देख्न, सुन्न र सँुघ्न सकिन्छ ।
त्यसताकाका ती प्रजातन्त्रका तपस्वीहरुमा लोभ थिएन, घमन्ड थिएन र जनताको सेवामा आफूलाई समर्पित गर्न पाएकोमा गर्वमात्र महसुस थियो । आज पनि नेपालीहरु इतिहासको पाना पल्टाएर बीपी, गणेशमानजी, किसुनजी, पुष्पलालजी जस्ता नेता खोज्छन् तर अब त्यस्तो कहाँ पाउनु र ? इतिहासमा एकदिन एकपटक एक क्षण त्यस्तो आउँदो रहेछ, जसले समग्र रुपान्तरणको कोसेलीको भारी लिएर कहीँ ल्याएर बिसाउँदो रहेछ । फागुन ७ मा त्यस्तो अमूल्य स्वतन्त्रताको भारी दिएको थियो इतिहासले हामीलाई । अविस्मरणीय । अतुलनीय । अमूल्य ।
८. सात साल फागुन सातको इतिहासको त्यो क्षण वास्तवमा नै संवेदनशील थियो । संक्रमणकालीन थियो र संवेदनशील पनि थियो । इतिहासको एउटा प्रसव वेदनापछिको खुसीको त्यस्तो क्षण थियो जसलाई आज पनि हामी श्रद्धाका साथ नमन गर्छौँ र अहोभाग्य सम्झन्छौँ ।
९.भारतबाट भर्खरै जस्तो अङ्ग्रेज शान्तिपूर्ण तरिकाले शासन हस्तान्तरण गरेर हिँडेका थिए तर जाँदाजाँदै साम्प्रदायिकताको वीजारोपण गरेर , एउटा सिङ्गो भारतलाई हिन्दुस्थान र पाकिस्तानका रूपमा विभाजन गरेर गएका थिए । प्रजातन्त्र आएको ६८ वर्षपछिमात्र नेपालमा त्यसको झझल्को देखिएको छ र पनि नेपाली जाति अरुको इतिहासबाट पनि केही सिक्लान् भन्ने हामीलाई सम्झनु नै पर्छ ।
१०.प्रजातन्त्रको केही अभ्यास गरिएको भए पनि दास मानसिकताको भारतमा प्रजातन्त्रको स्वरूप स्वराजको अनुहारमा आएको थियो तर नेपालमा विदेसीको दासताभन्दा आफ्नै अनुहारको जहानियाँ शासनको चङ्गुलबाट उम्किनु परेको थियो ।
भारतमा अङग्रेजका विरुद्ध लड्ने कुरा प्रष्ट थियो बाहिरियासँग लड्नु थियो तर नेपालमा आफैँसँग लड्नु थियो अन्धकारबाट उज्यालो तर्फ जानका लागि । न त शासकलाई थाहा थियो उज्यालो कस्तो हुन्छ भन्ने र प्रजातान्त्रिक शासन व्यवस्था कस्तो हुन्छ भन्ने, न त संघर्षशील क्रान्तिवीरहरुलाई थाहा थियो, तर विश्वव्यापी प्रजातन्त्रको नमुना भने हृदयमा कुँदिएको थियो जनताको राज्य, जनताका लागि ।
११.भारतमा पनि अभ्यास हुन बाँकी शासन व्यवस्था भएकाले प्रजातान्त्रिक शासन व्यवस्थाको एउटा स्वैर कल्पनाका आधारमा कत्तिले त्यो आदर्शमय व्यवस्थाका लागि आफूलाई सहादत गरे र कत्तिले आफूलाई नेतृत्वमा स्थापित गरे । तर कुरो समग्र रूपान्तरणको थियो । आमूल परिवर्तनको थियो मानसिकतामा समेत भौतिक रुपमा समेत ।
१२. समयको प्रवाहलाई कसैले छेक्न सक्दैन थियो । प्रजातन्त्र एउटा जनादेशले चल्ने शासन व्यवस्था भए पनि त्यो समयको प्रवाहलाई मुखरित गर्ने पहिलो आन्दोलन बन्दोरहेछ किनभने आजसम्म कुनै पनि निरङ्कुश राज्य व्यवस्थाले जनतालाई उसको अधिकारसहितको खुला शासन व्यवस्था दानमा दिँदो रहेनछ ।
बरु निरङ्कुश राज्य व्यवस्था अनेका बहानामा प्रजातन्त्रको मुखुन्डो लगाउन चाहँदो रहेछ र प्रजातन्त्रका नाममा पनि अनेक विशेषण लगाउन चाहँदो रहेछ । २००७ साल पछि प्रजातन्त्रका आदर्श विरुद्ध स्वयं राजा नै लागे पनि उपलब्ध मानवीय सुविधालाई कटाउन सकेनन् ढिला भए पनि मानव अधिकार र सामाजिक न्यायलाई मान्ने करै लाग्यो, नेपाललाई आधुनिकताबाट फर्काउन सकेन जस्तो कि इरान आधुनिकताबाट परम्परामा फर्कियो ।
१३. २००७ सालको प्रजातन्त्र स्थापनाले मानवीय चेतनामा र संवेदनामा आएको आधुनिक परिवर्तनलाई आज पनि सद्यरूपमा अनुभूत गर्न सकिन्छ । भनौँ, नेपाली चेतनाको सबैभन्दा प्रस्फुटन भएको र त्यसको उपयोग गरेको समय खण्ड भनेको नै २००७ साल हो । त्यसको प्रस्थान विन्दु भनेको फागुन ७ गते हो । त्यसैले २००७ सालको जनक्रान्तिलाई मात्र एउटा शासन व्यवस्थाको परिवर्तनको रूपमा मात्र लिनु हुँदैन । फागुन ७ गतेको दिनलाई कुन शासकले कत्ति महत्व दिन्छन् , दिँदैनन् भन्ने कुरा नेपालको समाजशास्त्रीय र राजनीतिक शास्त्रीय विश्लेषणको गरिमामा फिका देखिन्छ ।
१४. एउटा सार्वकालिक सार्वभौम र स्वतन्त्र अस्तित्व भएको नेपाल राज्यमा चेतनाको नयाँ दियो बालिएको र त्यो ज्योतिले नेपाल नै झलमल भएको नयाँ विहानीको रूपमा २००७साल फागुन ७ आएको थियो । त्यसलाई त्यसरी आँकलन गर्नु पर्दछ । त्यस दिनलाई अभिव्यक्ति स्वतन्त्रताको दृष्टिले कुनै पनि जीवित र सक्रिय देशको इतिहासको एउटा दुर्लभ दिनको रुपमा लिनुपर्छ ।
अभिव्यक्ति स्वतन्त्रतालाई साँघुरो घेराबाट बृहद् स्वरुपमा परिभाषित गरिएको दिन थियो र त्यसका भोलिपल्ट नै नेपालमा पहिलो दैनिक अखबार निस्कियो, प्रजातन्त्र रेडियोले स्वतन्त्रता बोलेको दिन थियो । दलहरु स्वतन्त्र थिए र दलीय व्यवस्थाले पहिलोपटक नेपालमा वैधानिकता पाएको थियो । प्रजातन्त्रको उपभोगको प्रत्याभूति पाएको दिन थियो । स्वतन्त्र नेपालको आन्तरिक स्वतन्त्रताको झलमल्ल भएको दिन थियो । वाह्य समाजसँगको साक्षात्कारको दिन थियो फागुन ७ गते सातसालको ।
१५.२००७ साल फागुन ७ को नयाँ विश्लेषण अब जरुरी छ । त्यो दिन नेपालको अव्यवस्था र पारिवारिक जहानियाँ मुख्तियारी प्राप्त प्रधान मन्त्रित्वबाट देशलाई मुक्तमात्र गरिएको थिएन कि नेपाललाई विश्वसामु पनि लैजाने अठोट थियो जसअनुसार आज नेपाल भन्ने देशको एउटा स्वतन्त्र पहिचान छ, भलै हामीले आफ्ना गलत काम कारबाहीले अरुलाई खेल्न अहिले मौका दिँदैछौँ ।
भएको स्वतन्त्र नेपालको पहिचानका लागि पनि भारत पराधीनताबाट स्वतन्त्र हुनु जरुरी थियो र हाम्रा नेपाली राष्ट्रवादी नेताहरुले भारतीय स्वतन्त्रता आन्दोलनमा आफ्नो स्वतन्त्र पहिचान सहित सहयोगीको भूमिकामा आफूलाई उभ्याएका थिए किनभने त्यसपछिका कुनै पनि भारतीय राजनीतिक सुविधामा कुनै पनि नेपाली नेताले आफूलाई नलोभ्याएको परिणामले त्यही पुष्टि गर्दछ ।
१६. नेपालमा प्रजातन्त्रका पक्षधर र प्रजातन्त्रका विरोधी पक्षका बीचमा एउटा सीमा कोरिएको थियो । नेपालका बामपन्थीहरु आफ्नो संगठन विस्तारका लागि सुरुमा जहिले पनि प्रजातन्त्रका विरुद्धमा देखिए तर कुनै पनि विचारको विस्तारका लागि प्रजातन्त्रको आवश्यकता महसुस गर्न थालेपछि अन्तमा ती प्रजातन्त्रका पक्षमा उभिन थाले ।
त्यसको पछिल्लो कडीको रुपमा र प्रमाणको रुपमा नेकपा एमाले र नेकपा माओबादी केन्द्र सहितका त्यसका शाखाहरुलाई लिन सकिन्छ जुन अहिले नेपाल कम्युनिष्ट पार्टी( नेकपा)को रुपमा संगठित छ र प्रचण्ड बहुमतका साथ सत्तामा पनि छ । निर्वाचनबाट आएको प्रचण्ड बहुमतसहितको कम्युनिस्ट सरकार । यसले पनि के देखाउँछ भने आजको नेपालको परिवर्तनको वेगको पहिलो आधारभूमि २००७ सालको प्रजातन्त्रको चेत नै हो रहेछ । त्यसपछिका आन्दोलनले त प्रजातन्त्रको पुनस्र्थापना मात्र गरेको छ । भलै पुनस्र्थापनामा पनि हजारौँ सहिद भए र लामो कालखण्डको जरुरत प¥यो संघर्षको परिणाम प्राप्त हुन ।
१७. आजको अवस्थासम्म आउँदा के कुरा स्पष्ट भएको छ भने प्रजातन्त्र कसैको पेवा व्यवस्था होइन, सबैका लागि आवश्यक र आजसम्म अनुसन्धानबाट प्राप्त भए मध्ये सबैभन्दा जनताको सहभागिता मूलक व्यवस्था यही हो । यसमा सबैको हक हित संरक्षण हुँदो रहेछ र विरोधीको सबैभन्दा महत्व हुँदो रहेछ । विरोधी भनेको सत्ताको विरोधी पनि हुनसक्छ र प्रजातन्त्रका विरोधी पनि हुन सक्छन् । त्यहाँ सबै विचारको महत्व हुन्छ र जनताले जसलाई राज्य गर्नका लागि साथ दिन्छन्, तिनले तोकिएको अवधिभर राज्य गर्न कसैले रोक्ने प्रश्न नै आउँदैन ।
आज विश्वभरका प्रजातन्त्रले त्यही पुष्टि गरेका छन् । एउटै मोडेलमा प्रजातान्त्रिक व्यवस्था नचल्ला, तर जनताको आदेशले मात्र चल्छ भन्ने सन्देश नै त्यसको आदर्श हो आजसम्म । मौलिक हकको प्रत्याभूतिलाई विश्वव्यापीरुपमा मान्यता दिइएको हुन्छ र नेपालमा त्यसलाई सँस्कृतिको रुपमा अभ्यास गर्नुपर्छ । सरकारको विरोध अब सह्य छैन भनेर विरोधीको सातो लिने बेलालाई प्रजातन्त्रको परिभाषाभित्र राख्न मिल्दैन ।
१८. र अन्त्यमा, २००७साल फागुन ७ — त्यसैले नेपाल राज्यको पूर्णताका लागि एउटा परिवर्तनको प्रस्थान विन्दु हो र त्यस्तो प्रस्थान विन्दुलाई अवमूल्यन गर्ने काम अहिले हुन थालेको छ । कसले लड्यो र किन परिवर्तनको नारा लगायो, आज त्यो प्रश्नको उत्तर खोज्ने बेला होइन, बरु त्यो बेलामा परिवर्तनको त्यो आवाज बुलन्द नगरिएको भए यो देशको अस्मिता बाँकी रहन्थ्यो कि रहँदैन थियो भन्ने कुरा चाहिँ आजको अनुसन्धानको विषय हुनुपर्दछ ।
त्यो प्रजातन्त्रको पावन यज्ञको आह्वान गर्ने र सफलता प्राप्त गर्ने ज्ञात अज्ञात सबैमा नतमस्तक हुँदै प्रजातन्त्रप्रति आस्था राख्नेहरु, हामी सबैको कर्तव्य हुनजान्छ कि त्यो प्रजातन्त्रमा कतैबाट पनि आँच आउने अवस्था आए फेरि आफूलाई प्रजातन्त्रका लागि बलिदान दिन पनि तयार हुने दृढ प्रतिज्ञा गर्ने । अनि एउटा प्रश्न—के प्रजातन्त्रले सम्पूर्ण नेपालीलाई समानताको अँगालोमा बाँधेको छैन र ? अनि किन यो दिवसचाहिँ नेपाली काँग्रेसको जस्तो मात्र ठानिएको होला ?
१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...
१. राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार २०७९साल असार ७गते स्थापना भएको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को पहिलो महाधिवेशन असार ७गते सुरु...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...