तारेभीर दुर्घटनाः मन्त्रीको भ्रमण किन लुकीछिपि ? – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

तारेभीर दुर्घटनाः मन्त्रीको भ्रमण किन लुकीछिपि ?

केदार सुवेदी
यो साता

ताप्लेजुङको तारेभीरमा एउटा दुखद् दुर्घटना भयो र त्यसले होनहार सात जना व्यक्तिको ज्यान लियो । एक प्रकारले यो अकाल जस्तै थियो भनेपनि हुन्छ । गाउँ घरमा अझैपनि यस्तो मृत्युलाइ अकालमृत्यु नै भन्ने गर्दछन् ।

जे होस घटना भयो । यो निकै नै दुखद् थियो । सरकारले यसको छानविन गर्न आयोग बनाएको छ । के कारणले यत्रो दुर्घटना हुन पुग्यो र देशले यति ठूलो क्षति व्यहोर्नुप¥यो ? सरकारले यसको कारण पत्ता लगाउनकै लागि पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छानविन समिति बनाएको होला । त्यसले यो दूर्घटनाको कारण देखाउला नै ।

यदि त्यसले पनि ध्यान पु¥याउन सकेन भने पछिसम्मकै लागि केही कुरा ओझेलमा पर्ने अवस्था आउछ । त्यसकारण यो आयोगको ध्यानाकर्षणका लागि आम तहमा उठेका प्रश्नहरुमध्येबाट केही यहा प्रस्तुत गरिएका छन् ।

भ्रमण करको कि रहरको ?
ताप्लेजुङको तारेभीर हेलिकोप्टर दुर्घटनाले सात जनाको ज्यान लियो । उनका अन्तिम सस्कार पनि भयो तर प्रश्न चाहि सँधैका लागि कायम भएको छ – त्यस दिनको यो टिमको यो भ्रमणको कायक्रम कसले बनाएका थिए । टिमको यो छनौट कसबाट भएको थियो, भ्रमण तालिका कसले बनाएका थिए र मोसमको यस्तो खरावीमा त्यस्तो उच्चपहाडी भेगको यात्रा गर्न कसले हौसायो भन्ने प्रश्न भने सँधैका लागि कायम भएको छ ।

पर्याटनमन्त्री रविन्द्र अधिकारीको चुहानडाडाको भाषणमा एउटा जानकारी धेरै पटक दोहोरियो – मलाई प्रधानमन्त्रीले पठाउनु भएको हो । यता उनी त्यसो भनिरहका थिए भने उता फेरी उनैमन्त्री आफुलाई धेरै हतार भएको पनि जनाइरहेका थिए । त्यहाँ उनले त्यस्तै धेरैपटक दोहो¥याएको कुरा हो –मौसम खराव छ । यसले के बुझायोभने मन्त्री अधिकारी कतै आफ्नो मनले त्यस दिन त्यहा गएका होइनन् कि ? उनले सबैसामु प्रकट गरेको मौसम खराबीको चिन्ता सामान्य तहको नहुन सक्दछ । यस्तो खराव मौसममा उनी आफै भित्रीमनले त्यस्तो ठाउँमा कसरी गए होलान् भन्ने प्रश्नले उत्तर खोज्छ नै ।

घटनाको पहिलो प्रत्यक्ष दर्शी स्थानीयका अनुसार यो दूर्घटना भएको पाथिभरा र त्यस आसपासका क्षेत्रमा सो दिन बिहानैदेखि कुहिरो मडारिने र फुसफुस हिउँ पर्ने भइरहेको थियो । पाथिभरा मन्दीरका पुजारीले पनि चियाखान समेत मन्त्रीलाई फूर्सद नभएको अवस्था रहेको जनाए त्यस दिन । हावाहुरी हिउ र झरीले बाहिर वस्न नसकेर यो टोलीले हेलिकप्टर भित्रै चियापान गरेको भन्ने समाचार आयो । यसले मौसमको अवस्था बुझाउँछ । यस्तो मौसममा प्रयोग हुनका लागि जुन साधन रोजियो त्यो यो कामका लागि उचित थियो भन्ने अर्को प्रश्न पनि त्यस्तै निरुत्तरितनै छ ।

किन रोजियो निजी सवारी साधन
यो बेला देशमा पश्चिमी बायुको दुष्चक्र चलिरहेको थियो । जताततै भारी वर्षा र असिना पानी तथा हिउ झर्ने क्रम तिव्र रुपमा चलिरहकै बेला यस्तो भ्रमण सामान्य बुझबुझारथ पनि भयोभएन भन्ने पनि प्रश्नका रुपमानै छन् । अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा सावधानीसँग जोडिएका यी केही तथ्य हुन् । तर पछिल्लो समय यस्तो आवागमनमा सावधानी नअपनाउँदा निकै दुःखदायी परिस्थिति सामना गर्नुपरेको छ ।

भिभिआइपी÷भिआइपीका लागि बनाइएको सुरक्षा निर्देशिका पालनामा गम्भीर लापरबाही हुने गरेको पछिल्लो तथ्य प्रोटोकलको समेत ख्याल नगरी निजी हेलिकोप्टरमा सवार भएर बहालवाला मन्त्रीको दुर्घटनामा ज्यान जानुले पनि स्पष्ट हुन्छ । बाहिर आएको जानकारी अनुसार केन्द्रीय सुरक्षा समितिबाट तय भएको सुरक्षा निर्देशिका पालना नगरेका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधनको कारण बनेको हुन सक्दछ । मन्त्री अधिकारीको यात्रा विकट र हिमाली जिल्लाका लागि थियो ।

मौसमसमेत प्रतिकूल थियो । तर त्यसअनुसार कुनैपनि सुरक्षाजन्य सावधानी र प्रतिकूल मौसमसँग जुध्ने व्यवस्थापनमा पनि ख्याल नगरिएको भन्ने सुरक्षा अधिकारी बताउँछन् । मन्त्रीले सरकारी कामकाजका लागि जाँदा सरकारी हेलिकोप्टर प्रयोग गर्न सक्थे । मन्त्रालयले यस विषयमा समन्वय गर्न सक्थ्यो । सेनाका हेलिकोप्टर पनि भिआइपी र भिभिआइपीका लागि प्रयोग हुने गरेका छन् । तर अधिकारीको भ्रमणका लागि सेनासँग पर्यटन मन्त्रालयले हेलिकोप्टर नमागेको सैनिक अधिकारीले जानकारी दिए ।

नेपाली सेनाकाअनुसार भिभिआइपी÷भिआइपीलगायत सरकारी पदाधिकारीका लागि माग भएर आए बमोजिम सैनिक हेलिकोप्टर उपलब्ध गराउन सकिने तर मन्त्रीको ताप्लेजुङ भ्रमणमा यसबारे कुनै जानकारी आएको थिएन । गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समितिबाट पारित निर्देशिकाअनुसार सामान्यतया विशिष्ट तथा अति विशिष्ट व्यक्तिले हवाई यात्रा गर्दा सिंगल इन्जिनको जहाज वा हेलिकोप्टर प्रयोग गर्न पाइँदैन ।

त्यस्तै स्थल मार्गबाट ओहोरदोहोर गर्दा निजी सवारीसाधन प्रयोग गर्न पाइँदैन । ख्याल रहोस राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज हुँदाहुँदै प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले चीनको राजकीय भ्रमणमा निजी कम्पनी हिमालय एयरलाइन्सको जहाज प्रयोग गर्दा त्यसलाई प्रधानमन्त्रीको निकै अस्वाभाविक कदम भनिएको थियो त्यसबेला ।

काम सरकारी कि निजी
सुरक्षा निर्देशिकाको प्रावधान विपरीत मन्त्री अधिकारी, अंगरक्षक अर्जुन घिमिरे, यती एयरलाइन्सका निर्देशक आङछिरिङ शेर्पासहितको सातसदस्यीय टोली तेह्रथुमस्थित चुहानडाँडा विमानस्थलको स्थलगत सम्भाव्यता अवलोकनमा गएको थियो ।

निजी जहाज तथा हेलिकोप्टर उद्यमी शेर्पाको साथमा मन्त्री अधिकारी किन अनुगमन गर्न पुगे भन्नेमा पनि प्रश्न उब्जिएको छ । मन्त्री अधिकारी सवार सिंगल इन्जिनको एयर डाइनेस्टी हेलिकोप्टर शेर्पाकै स्वामित्वको हो । मन्त्री अधिकारी आफैंले निजी हेलिकोप्टरमा जाने निधो गरे वा अरुको विश्वासमा गए भन्ने कुराको छानबिन हुनुपर्ने सुरक्षा मामिलाका जानकारहरु बताउँछन् ।

यो दूर्घटना पाथीभरा मन्दिरबाट फर्कने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिकाको भीरमा भएको थियो । यसको विन्दू भएको ठाउँ मन्त्री अधिकारीलाई कसले, किन लग्यो पाथीभरा भन्ने अको प्रश्न उव्जिएको छ । स्वयं पर्यटनमन्त्री अधिकारीले तेह्रथुमको चुहानडाँडामा गरेको भाषणलाई आधार मान्ने हो भने उनी प्रस्तावित विमानस्थलको निरीक्षणका लागि प्रधानमन्त्री केपी ओलीको निर्देशनमा चुहानडाँडा पुगेका थिए ।

विमानस्थलको अवलोकन गर्नु मन्त्री अधिकारीको ड्युटी थियो, जुन उनले सफलतापूर्वक निभाए । त्यसपछिका काम चाहि शंकाका घेरामा रहे । के मन्त्री अधिकारी आफैं पाथीभरा दर्शनमा जान चाहन्थे ? या उनको साथमा रहेका कर्मचारी वा व्यवसायीको लहैलहैमा लागेर उनी पाथीभरातिर लागे ? नेकपाकै नेतासमेत रहेका प्रदेश सांसद तेजमान कन्दङबाले चुहानडाँडास्थित कार्यक्रमस्थलबाटै भनेका थिए– ‘मलाई त उहाँहरु सीधै काठमाडौं गएजस्तो लागेको थियो । तर, पाथीभरा मन्दिर दर्शन गर्न जानुभएछ ।’

यो अवस्थामा मन्त्री अधिकारी पर्यटन व्यवसायी आङ छिरिङ शेर्माको आग्रहमा वा प्रधानमन्त्री कार्यालयमा कार्यरत युवराज दाहालको आग्रहमा एकचोटि पाथीभरा पुगौं न त भनेर त्यतातिर मोडिएको पो थिएन कि ? शायद उनी पाथीभरा नगई चुहानडाँडाबाट सरकारी काम सकेर सिधै काठमाडौं फर्केका भए यो दुर्घटना हुने थिएन कि ? भन्ने यतिबेला आम तहमानै उठने गरेको प्रश्न हो यो ।

३० करोडको काम ९० करोडको प्रस्ताव
विवरणमा आए अनुसार चुहानडाँडा विमानस्थलको ०६८ सालमा सर्भे गर्दा २९ करोड लागत निस्किएको थियो । यस वर्ष नयाँ कन्सल्टेन्सीमार्फत गरिएको अर्को सर्भेले ८७ करोड लागत निकालेको सांसद कन्दङवा बताउँछन् । के यो विमानस्थल निर्माणसँग आङछिरिङ पनि जोडिएका थिए ? अन्यथा, उनी मन्त्री अधिकारीसँगै चुहानडाँडा जानुको अर्को कारण के थियो भन्ने प्रष्ट पार्ने व्यक्ति यो भ्रमणको व्यवस्थापन गर्ने ठाउँमा होलान नै ।

रिपोर्टमा आए अनुसार पाथीभरा मन्दिरको गन्तव्य मन्त्री अधिकारीको नभएर पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको छनोट थियो । शेर्पाले ओली सरकारसँग मिलेर पाथीभरामा केबलकारको परियोजना बनाइरहेको वताइएको छ । पाथीभरा मन्दिरका पुजारी डिल्लीरमण आचार्यका अनुसार पनि मन्त्रीज्यूहरुले लगभग १५ मिनेटजति पूजा गर्नुभयो । त्यसपछाडि बाहिर बस्न गाह्रो भएकाले उहाँहरु हेलिकोप्टरमै बस्नुभयो । मन्त्रीज्यूसँग हाम्रो त्यस्तो केही कुराकानी भएन । उहाँहरु चिया खाउञ्जेल हेलिकोप्टरमा त्यस्तै १५–२० मिनेटजति बस्नुभयो होला ।’ यसको अर्थ हो मौसम झनै खराव हुँदै थियो ।

बढी भारको कुरा
ताप्जेलुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा सांसद योगेश भट्टराईले समेत यो उडानकाबारेमा प्रश्न उठाएका छन् । पाइलटसहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ बजारमै झारेरमात्र पाथिभरा जाने गरिएको बताउँदै भट्टराईले भनेका छन, मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’ तेह्रथुमको कार्यक्रममा बोल्ने क्रममा मन्त्री अधिकारी आफैंले भनेका थिए– पानी परेको छ, मौसम खराब छ, हामी फेरि फर्किनु पर्नेछ ।

पाथीभराका पुजारी डिल्लीरमरण आचार्यका अनुसार मन्त्रीहरु मन्दिरमा आइपुग्दा मौसम निकै नै बिग्रिएको थियो । ताप्लेजुङ विमानस्थलका अनुसार पनि बुधबार पाथीभरा क्षेत्रमा मौसम राम्रो थिएन । दुर्घटनापछि धेरैले प्रश्न उठाएका छन् मौसम खराब हुँदाहुँदै हेलिकोप्टर उडाइएको त थिएन ? यसबारे दुईखाले अनुमान छन, हेलिकोप्टरमा मन्त्री, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा लगायतका भीआईपीहरु थिए । उनीहरुले नै ‘जाउँजाउँ’ भनेर पाइलटलाई प्रेसर परेको हुन सक्छ । पाइलटले भीआइपीको प्रेसरमा परेर यत्तिको मौसममा जान सकिन्छ भनेका हुन सक्छन् । पाथीभरामा खराब मौसमका कारण करिब २० मिनेट हेलिकोप्टर रोकिएको र आफूहरुले ‘लोकेसन’ हेरेर पठाएको जानकारी दिएका थिए ।

खासगरी पछिल्ला वर्षहरुमा नेता तथा मन्त्रीहरुले विभिन्न जिल्लामा जाँदा निजी हेलिकोप्टर प्रयोग गर्ने क्रम बढ्दो छ । राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्ने गरेका छन् । व्यवसायिक उडानहरुको तुलनामा सेनाको हेलिकोप्टरमा अतिरिक्त सुरक्षा सावधानी अपनाउने गरिएको पाइन्छ । मौसम खराब छ भने सेनाले उडान नभर्ने गरेका थुप्रै उदाहरण छन् ।

प्रधानमन्त्री केपी ओलीको जन्मथलो चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अवलोकनका लागि पर्यटनमन्त्री र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुलाई पठाउँदै गर्दा प्रधानमन्त्रीले सेनाको हेलिकोप्टरमा जान किन भनेनन् भन्ने प्रश्न पनि खडा भएको छ ।

मन्त्रीको भ्रमण किन लुकिछिपी ?
पर्यटनमन्त्री अधिकारीको पुरै टोलीले ज्यान गुमाएको यो दूर्घटना त्यस्तो ठाउमा भयो जो उनीहरु यहा आउछन भन्ने कसैलाइ पनि जानकारी थिएन । यसले सरकारी टोली यसरी गुपचुप हिँड्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न खडा भएको छ । कतिसम्म भने प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायले समेत पूर्व जानकारी पाएन ।

उनीहरुले जुन बेला थाह पाए यो टोली मन्दिर पुगिसकेको र दर्शन गरेर हिँड्ने तरखरमा थियो, हिउ नपरेको भए हिँडिनै सकेको हुने रहेछ । मन्त्री अधिकारीले चुहानडाँडाको कार्यक्रममा आफू काठमाडौं फर्कन लागेको बताए पनि टोली पाथीभरा दर्शन गर्न गएको थियो । मन्त्री आउने जानकारी हल्लाबाट पाएका प्रहरी नायब उपरीक्षकले माथिल्लो फेदी अस्थायी चौकीका हवल्दारलाई फोन गरेर मन्त्री आउनेबारे सोधे । जवाफमा उनले भने, ‘म हजुरलाई जाहेर गर्नै लागेको थिएँ, मन्त्रीज्यू आइसक्नुभयो ।’ यसले सुरक्षा निकायलाई समेत जानकारी नभएको बुझाउँछ ।

समाचार विवरणअनुसार पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीले समेत हेलिकप्टर अवतरण हुनै लाग्दामात्रै मन्त्रीको टोली आउने जानकारी पाएको थियो । उनले नै मन्त्री टोलीलाई मन्दिर परिसरमा खादा लगाएर स्वागत गरेका थिए । फर्कने बेला चिया पनि खुवाएका थिए । हेलिकप्टर दुर्घटना भएपछि दौडेर दुर्घटनास्थल पुगी जल्दै गरेको शव पनि उनैले देखें । मन्त्रीको टोलीलाई स्वागत गर्न समिति अध्यक्षले सदस्य–सचिवलाई टेलिफोन गरी पाथीभरा आउन भनेका थिए ।

सदरमुकाम फुङलिङमा रहेका कारण अध्यक्षले दिएको समयमा मन्दिर पुग्ने अवस्था थिएन । उनले समिति सदस्य र कर्मचारी लाई टेलिफोन गरे र स्वागतका लागि व्यवस्थापन मिलाउन अह्राए । हेलिकप्टर अवतरण गर्दा हिउँ पर्न थालिसकेको थियो । मन्त्रीको टोली सरासर मन्दिर क्षेत्रमा पुग्यो । हावा चलिरहँदा हिउँ अनुहारमा ठोक्किने भएकाले उनीहरू फटाफट मन्दिर प्रवेश गरेका थिए ।

प्रांगणमा रहेको गणेश र शिवजीको दर्शन गर्दै हवनकुण्ड भवनमा पुगेका उनीहरूलाई कर्मचारीले खाँदा लगाएर स्वागत गरे । मन्दिरका पुजारी डिल्ली आचार्यका अनुसार मन्त्री अधिकारीले ‘गुरुजी, हामी तेह्रथुमसम्म आउने काम थियो, माताको दर्शन गरौं भनेर बिना तयारी यतातिर आइयो, केही ल्याएको छैन, कसरी पूजा गरौं’ भनेर सोधेका थिए । मन्त्री जस्तो व्यक्तिको भ्रमण यस्तो भयोभने त्यसपछिको परिणाम अनुमान गर्न सकिन्छ । यो विवरणलेनै बताउछ मन्त्रीको यो भ्रमण विना कार्यक्रमको कार्यक्रम थियो ।

यो भ्रमणले अर्काे पनि गम्भीर प्रश्न उठाएको छ खासगरी सुरक्षा निकायलाई समेत जानकारी दिन आवश्यक नठानिएको अवस्थाले । यो दूर्घटना मन्दिर परिसर छाडेपछि भयो । कतिपय विवरणले यसलाइ दूर्घटनानै मानियो । त्यसकाबारे अन्यथा पनि नसोचौं । तर जव सुरक्षानै हँुदैन भने घटना त जे पनि हुन सक्तछ ।

यो भ्रमण जसरी भयो यसलाइ सरकारी भन्ने कि नीजी । सरकारी भन्ने हो भने नीजी बाहन र तिनका मालिक नै साथमा छन् जो सरकारी होइनन । निजी भन्ने हो भने सातजनामध्ये मन्त्री सहित पाचजना सरकारी व्यक्ति छन र ती सबैको ज्यान गयो । यी सबैले यो घटनाको छानविन गर्ने आयोगले यस्ता धेरै प्रश्नहरुको उत्तर दिन आवश्यक छ ।

सम्बन्धित समाचार

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७५ फाल्गुन २०, ०८: ३४

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७५ फाल्गुन २०, ०८: ३४

१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७५ फाल्गुन २०, ०८: ३४

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...