
हरिविनोद अधिकारी
१. माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन इक्जामिनेसन( कभअयलमबचथ भमगअबतष्यल भहबmष्लबतष्यल) अर्थात् एस ई ई । पहिले यसलाई नै यस् एल् सी परीक्षा भनिन्थ्यो । कक्षा १२सम्म माध्यमिक शिक्षा मानिएपछि विद्यालयको अन्तिम परीक्षा रहेन र कक्षा १०को मात्र परीक्षा रह्यो । अहिले २०७५सालको चैत्र १० बाट सुरु भएको सो परीक्षा प्रदेश नंबर २मा स्थगित गरिएको छ । सम्भवतः यही चैत्रभित्रमै परीक्षा सहज तरिकाले होला भन्ने आशा गरौँ ।
२. प्रदेश नंबर २ भित्रै अनिवार्य विज्ञान विषयको प्रश्नपत्र बाहिरियो र केन्द्रहरुमा विद्यार्थीहरु नपुग्दै सामाजिक सञ्जालमा छरपस्ट देखिएका प्रश्नहरु साँच्चै प्रश्नसँग मिलेकाले परीक्षा रद्द गरियो । त्यसपछिका अरु दिनका प्रश्नपत्रहरु पनि समयभन्दा पहिले नै बाहिरिएकाले बाँकी परीक्षा स्थगित गरियो । शिक्षा तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नै पत्रकार सम्मेलन गरी स्थगित गरेको घोषणा गर्नुप¥यो ।
३. यो पटक प्रदेश प्रदेशका लागि प्रश्नपत्रहरु फरक फरक तयार गरिएकाले आगामी परीक्षा २ नंबर प्रदेशमा मात्र गरे पुग्छ । तर इच्छाधीन विषयहरुको भने मुलुकभर एउटै प्रश्न हुने भएकाले प्रश्नपत्र बाहिरिने प्रक्रियाको परीक्षण पनि हुनसक्ने भयो । दुई नंबर प्रदेशका आन्तरिक मन्त्री ज्ञानेन्द्र यादवले भने प्रश्न यो प्रदेशबाट बाहिरिएको नै होइन भनेर अडान लिनु भएको छ ।
४. प्रश्नपत्र जस्तो गोप्यकुरालाई केही दिनसम्म पनि गोप्य राख्न सकिएन भन्ने एउटा गुनासो छ भने यसैले संघीयतामा नै प्रश्न उठ्नु पर्ने कुरा छैन । यो मानवीय र प्राविधिक कुरा हो । गल्ती हुनु हुँदैनथ्यो, कतैबाट त भयो । त्यही प्रश्नको नमुनामा नै बाहिरिनुलाई अक्षम्य गल्ती मान्दामान्दै कहीँ न कर्हीँ गल्ती भएकै छ भनेर सबैले स्वीकार गर्नुपर्छ । परीक्षा मर्यादित हुनुपर्छ भनेर भन्दाभन्दै धेरैपटक अमर्यादित परीक्षा भएको त हामीले देखे सुनेका नै हौँ । त्यसैले परीक्षालाई विकेन्द्रीकृत र प्रविधिजन्य बनाउनु जरुरी भएको कुरा यसले पनि देखाउँछ ।
५. नागरिकतामा केरमेट भएको देखेका छौँ, नागरिकताको सक्कल प्रति नै हराएको पनि देखेका छौँ र नक्कलको आधार पनि कता हो भन्ने थाहा नभएको पनि सुनेका छौँ । यसले गोप्य कागजातको हिफाजन गर्न नसक्ने कसरी भयो भन्ने प्रश्न बारम्बार उठेकै हो । यसपटक प्रश्नपत्रका वारेमा जुन समस्या आयो, यसको जगमा पुगेर अनुसन्धान जरुरी छ । त्योभन्दा पनि परीक्षा प्रणालीमा सुधारको आवश्यकता छ । खोइ त जी आर इ, वा टोफेलमा प्रश्नपत्र बाहिरिने समस्या आउँदैन त ? शिक्षामा करोडौँ, अर्बौँ खर्च भएको छ र पनि हामी स्तरीयताका लागि भनेर करोडौँ खर्च गरेर, प्रहरी प्रशासनको प्रयोग गरेर एस ई ई सञ्चालन गरेका छौँ ।
६. कक्षा १० पनि एउटा कक्षा ९ जस्तै हो र परीक्षाको वातावरण बनाउने नाममा हाउगुजी तयार गरेका छौँ र साँच्चै नै कक्षा १०को अन्तिम परीक्षालाई फलामको ढोकाझै बनाएका छौँ र भाग्यमा तिनको परिणामलाई छोडेका छौँ । करोडौँको खर्च, जनशक्तिको अत्यधिक प्रयोग र त्रासपूर्ण वातावरणमा लिइन परीक्षाले कतिसम्म सही मापन गर्न सकेको होला भन्ने कुरा परीक्षा नियन्त्रण कार्यालयमा आउने पुनर्योगको आवेदनले पनि देखाउँछ ।
७. पाठ्यक्रम निर्माणदेखि परिणामसम्मका जिम्मेवार हामी शिक्षक नै हौँ तर परीक्षा सञ्चालनको प्रशासनिक जिम्मेवारी शिक्षकमा भन्दा स्थानीय प्रशासनमा बढी दिन्छौँ । अब माध्यमिक शिक्षासम्मको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई वा स्थानीय सरकारलाई दिइसकेपछि पनि किन हामी केन्द्रीकृत परीक्षालाई अपनाइरहेका छौँ ? अहिले संघ र प्रदेशका बीचमा अनावश्यक आरोप प्रत्यारोप चलेको छ, त्यो एकदम वाहियात हो । गल्ती भएकै छ, कतैबाट भएकै हो । त्यसको पत्ता लगाएर फेरि फेरि त्यो गल्ती नदोहोरियोस् किनभने अब छिटै १२, ११ कक्षाहरुको परीक्षा आएको छ, विश्वविद्यालयहरुको परीक्षा पनि भई नै रहन्छन् ।
८.परीक्षा प्रणालीमा सुधार भएकै छ तर अपेक्षित सुधार हुन सकेन भन्ने गुनासो यथावत् छ । प्रदेश सरकारलाई वा स्थानीय सरकारलाई जबसम्म उत्तरदायी बनाएर पठन पाठनलाई शुद्धीकरण गर्न सकिँदैन, चिट चोर्ने, परिवारका सबै सदस्यहरुले चोराउन जाने, बाहिरबाट चिट बनाएर केन्द्रमा लैजाने र खुलेआम चोरीको अवस्था सुधार हुन सक्दैन । क्षमतामा आधारित र प्रविधिमा आधारित परीक्षा, त्यो पनि बेग्लाबेग्लै परीक्षार्थीलाई बेग्लाबेग्लै प्रश्न सोधिने अवस्था सृजना गर्न सकिँदैन, तवसम्म यो अवस्था सधैँ दोहोरिन सक्छ । पहिले थाहा थिएन होला, रद्द भएन, अहिले थाहा भयो सामाजिक सञ्जालका कारणले, रद्द गरेर सुधार गर्ने सम्भावना बढयो ।
९. यो मात्र कक्षा १०को परीक्षा थियो । प्रदेश नंबर २को मात्र प्रश्नपत्रहरुको प्रश्न थियो । समाधान चैत्रभरिमा होला तर भावी दिनमा पनि यसले देखाएको चुनौतीलाई मनन गर्ने काम संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबैको हो ।
१०. र अन्त्यमा, परीक्षालाई हाउगुजी नबनाऔँ, सहज तरिकाले परीक्षालाई सम्पादन गरौँ । क्षमताको जानकारी लिनेमात्र अहिलेको अवस्था हो, त्यसलाई सम्पादन गर्नका लागि धेरै जटिलतम उपायहरु नअपनाऔँ । यसपटकको परीक्षाको अन्तसँगै परीक्षा सकारात्मक सुधारका लागि स्थिति तयार गर्न थालौँ । विद्यालयको परीक्षा भनेको विद्यार्थीको बढ्दै गरेको अपेक्षा र क्षमताको पहिचान हो, त्यसको त्यसैगरी व्यवस्थापन गर्न थालौँ । यसमा प्रदेश र संघका बीचको सम्बन्धलाई च्याँखेमा राखेर स्थिति बिग्रन नदिऔँ । पहिले पनि विकास क्षेत्रीय प्रश्नपत्र तयार भएकै हो, प्रश्नपत्र तयार गरेर सुरक्षित राखिएकै थियो । यसपटक मानवीय समस्या वा प्राविधिक समस्या जे हो पत्ता लगाई समाधान गरौँ र परीक्षार्थीहरुको क्षमता मापन गरेर आगामी दिनको तयारीका लागि समुचित व्यवस्था गरौँ ।
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...