
१ गत हप्ता बारा र पर्सामा आएको टोर्नाडोले जुन क्षत विक्षत बनायो त्यहाँको खासगरी फेटा बस्ती र फेटाबासीहरुलाई , साह्रै नै दुःखद छ । अझै त्यहाँका बासिन्दाले खास राहत पाउन सकेका छैनन् । राहतको अर्थ राम्रोसँग सुत्न, खान र बस्न पाउनु पर्ने थियो । २८ जनाको सो आँधी बेहेरीमा परेर निधन भएको थियो र झन्डै ५००जत्ति मानिसहरु घाइते भएका थिए । त्यो टोर्नाडो एउटा दैवी विपत थियो र केही क्षणमा नै त्यसले गर्ने विनासका वारेमा हामी नेपाली त्यति परिचित नभएकाले र अचानक भएकाले विनास सम्भव भयो । भनिन्छ, दुई तीन मिनेटमै सबै विनास भयो । घर सबै तहस नहस भए, मानिसहरुको ज्यान लियो , गाडी पनि पल्टायो, खाने पानीका लागि गाडेको हाते पाइप पनि उखेल्यो । फेरि तत्कालै कता हो कता बिलायो । तर त्यसको परिणाम भने अझै हामीसँग छ र विनासलीलाको साक्षी त्यहाँको बस्ती छ । मानिसहरु किन पनि सरकारको भर परेका हुन् भने सरकार नै त अभिभावक हो, उसैसँग सबै श्रोत छ र जनताले कर किन पनि तिरेको हुन्छ भने उसले मेरो रक्षा गर्छ, सुरक्षा गर्छ । सकेसम्म गरेको पनि होला तर देखिनु प¥यो । हानाथापमा पीडितहरु चेपुवामा पर्नु भएन । कम्तीमा पनि बस्ने बास र खाने व्यवस्था अनि सुरक्षित बासको व्यवस्था जति छिटो हुन्छ जरुरी भयो । पालहरुको अवस्था नाजुक छ । भुइ चिसो छ । हवाले पाल उडाउँछ । कहाँ भात पकाउने, कहाँ बालबालिकालाई सुरक्षित राख्ने, महिलालाई सुरक्षित राख्ने अनि यो बेला भनेको सर्पसँग सुरक्षित हुने बेला पनि बारा, पर्सासहितका जिल्लाहरुमा ।
२ २०७२ साल बैसाखमा भूकम्प आयो, त्यसको जीवनमा परेको समस्याको समायोजन अझै कति ठाउँमा हुन नसकेको अवस्था छ । तर एउटा कुरा भूकम्प पछि के भनिएको थियो भने सार्वजनिक भूकम्प प्रतिरोधी भवन बनाउनु पर्छ । त्यसका विद्यालय र गाउँपालिकाका वार्ड भवनहरु बनाउन सके वा नगरपालिकाका भवनहरु ठाउँ ठाउँमा बनाउन सके यस्ता विपतमा पीडितहरुलाई सुरक्षित राख्न सम्भव हुन्छ भन्ने सल्लाह दिइएको थियो । कतिपय ठाउँमा विद्यालय बन्दै पनि छन्, तर पनि बाढी, पैरो, भूकम्प, आगलागी र आँधी बेहेरीमा प्रभावितहरुलाई तत्काल राख्न त्यस्ता सार्वजनिक भवनले ठूलो साथ दिन्छ भन्नेकुरा भूकम्प र बाढीमा प्रमाणित भएकै थियो ।
३ स्वाभाविकरुपमा सबैले सरकारकै मुख ताक्ने हुन् । तर स्थानीय सार्वजनिक सम्पत्तिको व्यवस्थापन, सुरक्षा र प्रयोग गर्ने काम अब स्थानीय सरकारको हो । प्रदेश सरकारको हो । हामी जहिले पनि दैवी प्रकोप आउँछ, पुर्पुरोमा हात राखेर हडबडाएर काम सुरु गछौँ अनि पीडितको रोदन र क्रन्दनसँग अलमलमा केही पनि गर्दैनौँ । कसैले राहतमा राहतमात्र पाएको हुन्छ त कसैले केही पनि पाएको हुँदैन । सतर्क हुनैपर्छ पीडितले अझ पीडा नपाओस् भनेर ।
४ अहिले फेटाको कुरा गर्दा , वारा र पर्साका अन्य आँधीबेहेरी पीडितको कुुरा गर्दा अचेल दिनैपिच्छे जस्तो आँधी बेहेरी आएकै छ, केही न केही बिगारेकै छ । मानिसहरु पीडित भएकै छन् । यसका चनाखो हुनु जरुरी छ । अचानक आउने भूकम्प, आँधीबेहेरी र ठूलो वर्षा, आगलागीलाई कसरी न्यून गर्ने भन्दा पनि त्यसबाट कसरी बच्ने भन्ने समस्याको समाधान जरुरी छ ।
५ राहत वितरणमा एकद्वार प्रणालीको आवश्यकता छ । कसले पाए कसले पाएनन् भन्ने न्याय आवश्यक छ । पीडितलाई तत्कालको बासस्थान र स्थायी बासस्थानको जरुरी हुन्छ । अहिलेको आँधीबेहेरीबाट नेपालमा यस्तो टोर्नाडो पनि आउन सक्ने आँकलन भयो, यसका लागि सूचना प्रविधिको अद्यावधिक आवश्यक छ र कुनै सूचनाले दिनसक्ने सावधानी पनि आवश्यक छ । अहिले त गाउँमा स्थानीय सरकार छ । सहरको पनि हालत कुनै राम्रो छैन । आगो लाग्यो भने दमकल लैजाने ठाउँ छैन । विद्यालयहरु पनि जीर्ण छन्, तिनको स्याहार सम्भार छैन । सार्वजनिक ठाउँ खाली छैन, कहाँ भवन बनाउने रु जुनबेला आवश्यकता पर्छ, त्यहीबेलामा भवन, सार्वजनिक भवन बनाउन सकिँदैन । त्यसका लागि धेरै प्रक्रिया छ । त्यसठाउँमा सडक चाहिन्छ,पानीको व्यवस्था चाहिन्छ, शौचालय चाहिन्छ र आपसमा बसेर खान पकाउने, खाने,आराम गर्ने व्यवस्था जरुरी छ । त्यसका लागि सडक विभाग, भवन विभाग, खानेपानी विभाग,समाज कल्याणका लागि आवश्यक सबै विभाग तथा कार्यालयहरुको उत्तिकै सक्रियता चाहिन्छ । विपतमा प्रयोग गर्ने भनेको अघिपछि त्यत्तिकै राख्ने पनि होइन, कम्तीमा त्यस्ता भवन ४—५सयभन्दा बढी मानिस अटाउने आवश्यक पर्छ । अझ सहरमा त हजारौँ मानिसहरुको लागि प्रवन्ध जरुरी छ । तराईमा पनि घना आवादी भएकाले प्रत्येक वर्ष वर्षामा बाढीको समस्या छ, तत्काललाई घरबासमा पानी नै पानी हुन्छ,अब त्यो समय आउनै लागेको छ। भूकम्पले जिस्क्याइरहेको छ,आउँछ,जान्छ । तर पहिले जस्तै भयानक कुनै पनि बेला आउनु सक्छ । भूकम्पले हानि पु¥याउने होइन, मानवीय संरचनाले थिच्ने हो, मार्ने हो, घाइते बनाउने हो ।
६ बारा र पर्साको राहत वितरणको पहिलो चरण समाप्त भयो होला तर अर्को बाली नभित्रिन्जेलसम्मका लागि खाने कुरा कता हो रु गहुँ कसरी कहाँ राख्ने रु त्यसैले सार्वजनिक भवन तत्काल बनाउनु पर्छ र समूहमा बस्ने बानी पनि बनाउनु जरुरी छ ।
७ उनीहरुको स्थायी बसोबासको लागि होड देखियो, प्रदेश सरकारले बनाउने भनियो, संघीय सरकारले के के गर्ने स्पष्ट भएको छैन । स्थानीय सरकारले गर्ने कामको फेहरिस्त धेरै छ किनभने पीडितहरुसँग सधैँ त स्थानीय सरकार छ । छिटो छिटो भवन बनाउने भन्दा कसरी त्यो दिगो पनि हुन्छ, टिकाउ पनि हुन्छ र सुशासनभित्र पनि पर्छ भन्ने कुरामा धेरै ढिलो निर्णय लिनु हुँदैन । अहिले नै उनीहरुको अवस्था नाजुक भइसकेको छ । कुनै त्यस्तो सार्वजनिक भवन जुन निस्क्रियरुपमा रहेको छ, गोदाम, पहिलेका पुराना मिलहरु, ठूला ठूला धन्सारहरुलाई तत्काल मरम्मत गरेर पीडितलाई घाउमा मलम लगाउनु जरुरी छ । पैसाको कुरा एउटा आवश्यकता हो तर प्रविधिले गर्ने कुरामा सरकारले नै अगुवाइ गर्नु जरुरी छ । तर यस्तो पीडामा पनि भ्रष्टाचार नहोस् भनेर सतर्कता अपनाउनु पनि पर्छ । यसमा काम पनि छिटो हुनुपर्छ, राहत जनताले महसुस गर्नुपर्छ र त्यो दिगोरुपमा समाधान पनि हुनुपर्छ ।
८ यस्तो कामको लागि एउटा तीब्र समूहको गठन जरुरी छ जसमा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, सुरक्षा निकाय, प्राविधिकहरु र नागरिक समाजका सचेतकहरुको समूहले तत्काल काम सुरु गर्नु जरुरी छ । कम्तीमा पनि पीडितले आहत होइन, राहत महसुस गरुन् ।
९ र अन्तमा, निधन भएकाहरु पनि हार्दिक श्रद्धाञ्जली, परिवार जनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरौँ । आकस्मिक दैवी प्रकोप र मानवीय कारणले हुने आकस्मिक घटनाहरुसँग जुध्न र त्यसबाट हुने आकस्मिक अप्ठेरोसँग जुध्ने क्षमता पनि विकास गर्दै रहनु पर्छ, त्यसका लागि सरकार, पीडित तथा सरोकारवालाहरु सबैमा धैर्यता, सहनशीलता र आँट आओस् । फेरि पनि कुनै घटना हुँदा आगो लागेपछि कुवा खन्ने जस्तो व्यवहार हाम्रो हुनु भएन ।
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...
१. नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु भयो विशेष अधिवेशनबाट निर्वाचित समितिले यही असोज १६—१९मा गर्ने भनिएको नेपाली कांग्रेसको १५आँै महाधिवेशनको...