नेपाल–चीन सम्बन्धको नयाँ आयाम – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

नेपाल–चीन सम्बन्धको नयाँ आयाम

हरिविनोद अधिकारी

१. नयाँ वर्ष लाग्यो तर पुरानै समस्याहरुले मुलुक गाँजिएको छ । नयाँ कुनै सोचको सुरुवात पनि हुन सकेको छैन । विवादका बीचमा सबै कुराहरु सम्पादन भइरहेका छन् । निर्विवादरुपमा काम हुनु जरुरी थियो तर त्यस्तो हुन सकेको छैन ।

२.सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी यी हरफ लेखुन्जेलसम्म छिमेकी देश जनवादी गणतन्त्र चीनको राजकीय भ्रमणमा हुनुुहुन्छ । नेपाल अब विधिवतरुपमा बेल्ट एन्ड रोडको अन्तर्राष्ट्रिय मञ्चमा प्रवेश गरेको छ र झन्डै डेढ सय देशका प्रतिनिधिहरुसँगै हामी पनि मिसिएका छौँ । आधिकारिकरुपमा नै फोरममा प्रवेश गर्दै नेपाल पनि रेल सञ्जालमा रहने औपचारिक विज्ञप्तिको एउटा बुँदामा परेको छ ।

३. जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सि चिनफिङले नेपालको विकासमा नेपालले सम्झेको बेलामा चीनको सहभागिता रहने विश्वास दिलाउनु भएको छ । यसले नेपालको विकासमा भूपरिवेष्टित भएकै कारणले परेको मर्कालाई कम गर्ने अनुमान गरिएको छ ।

४. नेपाल चीनसँग सडक सञ्जालले त जोडिएको धेरै भयो । तातोपानीसम्म जाँदा चीन जाने बाटोकोरुपमा अरनिको राजमार्गले जोडेको थियो । हवाई मार्गले जोडेकै हो । अब महात्वाकांक्षी योजनामा रेल मार्ग परेको छ । छिटै चीनको आन्तरिक रेल सञ्जालले सिगात्से हुँदै केरुङसम्म जोड्न लागेकोले हामी पनि केरुङबाट नेपाल चीन सम्पर्कलाई रेल मार्गबाट पनि विस्तार गर्दै जान लागेका हाँै । सम्भवतः रेल मार्गको सम्भावित अध्ययन पनि प्रारम्भिकरुपमा गरिइसकेको अवस्था छ ।

५. तातोपानी नाकाबाट सडक सम्पर्क पनि सायद यही हप्ताबाट हुनसक्छ । केरुङ अहिले मुख्य बाटो नै भएको छ । यस्ता धेरै सहायक बाटाहरु छन् जसले नेपाल र चीनको खुला सीमानालाई सदुपयोग गर्दै सम्बन्ध विस्तार हुने देखिन्छ । यसले समुद्रसम्मको पहँुचलाई सहज र सरल बनाएको पनि छ । अब हामीले भारत , बाङ्लादेश र चीनबाहेक अन्य देशसँग प्रत्यक्ष व्यापार गर्नका लागि , सामान आदान प्रदान गर्नका लागि भारतबाहेक चीन पनि बन्दरगाह प्रयोगको विकल्प बनेको अवस्था छ ।

६. नेपालका गणतन्त्रात्मक राष्ट्रपतिका रुपमा राष्ट्रपति भण्डारीलाई राजकीय यात्रामा बोलाएर सम्मान दिएकोमा चीनलाई धन्यवाद दिनैपर्छ । नेपालको विकासमा अझ धेरै चासो लिएर सहयोगका लागि सम्झँदा अहिले पनि सहयोगका लागि चीन तत्पर रहेको बताएर चीनका महामहिम राष्ट्रपति सिले नेपाललाई अति उच्च महत्व दिएको बुझ्न सकिन्छ । त्यसैले कूटनीतिक क्षेत्रमा भन्ने पनि गरिन्छ—नेपाल चीन सम्बन्ध विवादरहित र स्वार्थरहित देखिन्छ ।

७. वास्तवमा नेपाल र चीन सम्बन्ध सुरु भएदेखि नै सम्बन्ध सुमधुर छ । जुनबेलामा चीनले संयुक्त राष्ट्रसंघमा शक्तिराष्ट्रका रुपमा प्रवेश पाएको थिएन, नेपालले चीनको प्रतिनिधित्वको प्रश्नलाई सधैँ उच्च प्राथमिकतामा राख्यो । बीपी कोइरालाको सरकारले चीनसँग जुन सम्बन्ध स्थापना गरेको थियो, आज पनि त्यो सम्बन्धको जगमा नेपाल चीन सम्बन्धलाई हेरिन्छ ।

८.नेपाल चीन सम्बन्धको गहिराइसँग नेपाल भारत सम्बन्धलाई दाँज्ने गरिन्छ । नेपाल र भारतको सम्बन्ध आफ्नै विशेष खालको रहेको छ धार्मिक, साँस्कृतिक तथा भौगोलिक कारणले । त्यस्तै चीनसँगको सम्बन्ध पनि विशेष नै रहेको छ । खासगरी भारत र पश्चिमी देशहरुले नेपाल चीन सम्बन्धलाई भारतबाट टाढा हुँदै गएको भन्ने अर्थमा लिने गरेको पाइन्छ । नेपालमा भने त्यस्तो महसुस गरिएको छैन तर जब निकट अतीतमा भारतले नेपाललाई नाकाबन्दी लगाएको थियो, त्यो बेलामा चीनले दिएको कनेक्टिभिटीको ढाढसले नेपाल बौरिएको मानिन्थ्यो । टाढा नै सही, कम्तीमा तेस्रो देशसँगको सम्बन्धका लागि समुद्रबाट पहुँच दिने चीनमो निर्णयले नाकाबन्दीलाई खुकुलो बनाउने आधार पनि बनेको थियो ।

९. नेपालले चीनको सहयोग खोज्ने भनेको नेपालको विकासका लागि हो । दुई देशको सम्बन्ध सुधार्दै नेपालले त्यसबाट अत्यधिक सहयोग प्राप्त गर्ने र नेपालमार्फत् दक्षिण एसियासँगको रेलमार्गको पहुँच पनि चीनको लक्ष्य हुनुपर्छ ।

१०. अन्त्यमा, नेपाल र चीनको सम्बन्धले अरु विस्तारित रुप पाओस् , स्वार्थरहित सम्बन्धको अरु उदाहरणहरु पनि देखिँदै जाओस् । नेपाल चीन सम्बन्धले अरु देशको टाउको दुख्नु जरुरी छैन । तर हामीले पनि त्यही सम्बन्ध सुधार्ने देश चीनसँगको सम्बन्धलाई पनि बिगार्ने काम गर्नु हुँदैन भन्ने कुरामा चाहिँ सरकारमा बस्नेहरु सतर्क र सजग हुनु पर्छ । चीन त नेपालसँगको सम्बन्धलाई सदैव सुमधुर बनाउने विचारमा देखिन्छ तर हामीले हाम्रा सम्बन्धहरु कसैको पक्षमा वा विपक्षमा भन्दा पनि नेपालका पक्षमा हुनुपर्छ भन्ने शर्त आफैँमा सुरक्षित हुनुपर्छ ।

सम्बन्धित समाचार

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७६ बैशाख १६, ०८: २०

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७६ बैशाख १६, ०८: २०

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०७६ बैशाख १६, ०८: २०

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...