नर्वे–विकास र वातावरण सन्तुलन – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

नर्वे–विकास र वातावरण सन्तुलन

हरिविनोद अधिकारी

१. यो गृष्म ऋतु र वर्षा ऋतु करिब करिब युरोपको नर्वेमा बिताइयो । नेपालबाट जेठ १० गते फ्लाई दुबईबाट गइएको थियो र भोलिपल्ट जेठ ११ गते दिउँसो ओस्लो पुगियो । सामान्यतया परिवारसँगको भेटघाटका लागि बढीमा ३ महिनाको भिसा दिँदोरहेछ । अनि त्यहीक्रममा करिब ३ महिनाको नर्वे बसाइसँगै यही भदौ ४ गते नेपाल आइयो । हामी दम्पति नै गएका थियौँ कान्छी छोरी अर्चना, ज्वाइँ नवराज सापकोटा र नातिनी अदिति सापकोटालाई भेट्नका लागि भनेर गए पनि केही अवलोकन गरियो । यसपटकको युरोप भ्रमण नै भन्नुप¥यो—स्विडेन, जर्मनी, चेक गणतन्त्र र डेनमार्कको समेत भ्रमण गरियो ।

२. साठीको दशकसम्म खासै चर्चामा नरहेको देश नर्वे आज विकसितमात्र होइन, धनी देशको रुपमा मात्र होइन ,वातावरणमैत्री देशको रुपमा पनि परिचित छ । मानिसले गरे के पो हुँदैन भन्ने उदाहरण दिन नर्वे सफल छ । उत्तरी ध्रुवको देश, वर्षको करिब ७ महिना हिमाच्छादित प्रदेशहरु लिएर पनि वातावरणमैत्री देशको रुपमा आफूलाई उभ्याएको छ ।

३.खासगरी मार्च लागेपछि घाम देख्न पाइने नर्वेको राजधानी ओस्लोमा सार्वजनिक यातायातको सुव्यवस्था छ जसले सार्वजनिक जीवनलाई अत्यन्त ध्यान दिएको छ । रेल पनि विद्युतद्वारा चलाइन्छ । ट्रिक भनिन्छ रेलजस्तै लिगमा दौडने साधनलाई, जसलाई हामी ट्रामको रुपमा चिन्छौँ । त्यो पनि विद्युतद्वारा नै सञ्चालित छ । हाम्रो देशमा पनि विद्युतीयद्वारा चल्ने बस थियो २०३२ सालदेखि तर त्यो अब सम्झनामा मात्र रह्यो तर युरोपभरि नै त्यस्ता ट्रली या ट्रिक वा ट्राम वा बसहरुले वातावरणलाई जनमुखी बनाएका रहेछन् । नर्वे त विश्वमा नै हरित सहरका रुपमा पुरस्कृत भएको रहेछ । त्यहाँ गाडीहरुमा पेट्रोल र डिजलको प्रयोग त छ तर युरो ५मापनमा चलाउनु पर्छ । कुनै पनि गाडीेले धुवाँ छोडेको देख्न पाइँदैन ।

४.त्यहाँका मानिसहरुले घाम देख्ने भनेको वसन्त ऋतुमा हो । त्यहाँ घाम लाग्ने मौसममा पनि प्रायशः पानी पर्ने हुनाले वर्षा ऋतु छैन भन्दा पनि हुन्छ । वसन्तबाट सुरु भएको मौसम गृष्म अनि शरदमा गएर हिउँद सुरु हुन्छ । हिउँद पनि मज्जाले हिउँ पर्न थालेर सुरु हुने गर्छ ।

५.संसारको उत्तरी भेगभित्रै पर्ने नर्वे अनि नर्वेको पनि उत्तरी भेग छ जहाँ हिउँ सधैँ पर्छ । त्यही उत्तरी भेगमा नै हो रातको १२बजे पनि घाम लाग्ने भनेको । करिब २महिना त त्यो उत्तरी भेगमा रात नै पर्दैन भन्दा पनि हुन्छ । त्यो उत्तरायणमा मात्र हो । दक्षिणायनमा त त्यहाँ घाम कहाँ पो देखिनु र ? जुनको तेस्रो हप्तादेखि चौथो हप्तासम्म साँच्चै रात परेको देखिँदैन । अझ त्यो रात जुनेली पनि छ भने त कतिबेर पो रात पर्नु र ? जुन २१ तारिख स्वाभाविकरुपमा नै उत्तरायणमा उत्तरी गोलाद्र्धमा सबैभन्दा लामो दिन यसै पनि हो जस्तो कि दक्षिणी गोलाद्र्धमा त्यो दिन सबैभन्दा छोटो हुन्छ ।

६.नर्वेका वारेमा जब हामी खोजीनिती गर्न थाल्छौँ, शान्त देश छ , वर्षमा करिब ६ महिना हिउँले छोप्ने ठाउँलाई पनि चौतर्फी विकास गरिएको छ । बाटोको सञ्जालले देशलाई राम्रोसँग जोडिएको छ । जहाँ सडक पुग्न सक्दैन, त्यहाँ हवाइजहाज र पानी जहाजबाट जोडिएको छ । देशको सबैभागमा पहुँच छ । यसरी सडक र यातायातको पहुँचको बेलामा वातावरणीय अवस्थालाई कुनै पनि हालतमा सम्झौता गरिएको देखिँदैन । ओस्लो सहर मार्चदेखि अक्टुबरको मध्यसम्म हरियाली हुन्छ । बाटाबाटामा फूल लगाएर, पाइलैपिच्छेजस्तो पार्कहरु बनाएर हरियालीलाई व्यवस्थित गरिएको छ ।

७.ओस्लो सहरको बीचबाट बग्ने अकरस्लाभ नदीमा कलकल पानी शुद्ध बगेको छ । त्यो नदीलाई बहुआयामिक तरिकाले प्रयोग गरिएको छ । आवश्यकताअनुसार त्यहाँबाट बिजुली निकालिन्छ, खाने पानीको व्यवस्था गर्न सकिन्छ । अलि अग्लो ठाउँबाट ओस्लो सहरलाई हेरेमा सहर जङ्गलभित्र छ जस्तो लाग्छ । सहरको बीचैमा जस्तो ओस्लो विश्वविद्यालयको बोटानिकल गार्डेन छ, जहाँ हजारौँ प्रजातिका विरुवाहरु पनि संग्रहित छन् । हाम्रो देशको राष्ट्रिय फूल गुराँस पनि त्यो गार्डेनमा पाइन्छ । तर त्यो गार्डेनमा रातो गुराँस त देखिएन तर बैजिनी,सेतो र अन्य रङ्गका भने देखियो ।

८. त्यहाँका भुक्तभोगी नेपालीहरुले भनेअनुसार जब दक्षिणायनको मध्य सुरु हुन्छ, सूर्यको किरणले नर्वेलाई छुन छोड्छ । धुम्म परेको कालो हिउँद उराठलाग्दो हुन्छ । अनि हिउँ पर्न थाल्छ । घाम त देखिँदैन तर हिउँले सबैतिर सेतो देखिन्छ । परबाट गाडी आएको देखिन्छ । गारो छ गाडी चलाउन पनि । तर डोजरले हिउँ सोहोरेर र नुनको व्यवस्थाले भने पनि दैनिकीमा असर पर्न दिइँदैन ।

९.अहिले संसारमा नै वातावरणीय सन्तुलनका लागि नर्वे उदाहरणीय छ । विकासका लागि उदाहरणीय छ । प्रतिव्यक्ति आय करिब ७०हजार अमेरिकी डलर बराबरी छ । सरकार मिलीजुली चले पनि विवाद देखिँदैन । जुन सरकार आए पनि जनताका आधारभूत आवश्यकताका लागि कुनै गुनासो छैन । श्रमिकका लागि नर्वेलाई स्वर्ग भन्दारहेछन् । शिक्षा शिशु विद्यालयदेखि विश्वविद्यालयसम्म निःशुल्क छ । संसारमा नै वातावरण, द्वन्द्व व्यवस्थापनको अध्ययन र अध्यापनका लागि नर्वेका विश्वविद्यालयहरुलाई अग्रणी मानिँदो रहेछ ।

१०.वातावरणको लागि ओस्लो कतिसम्म संवेदनशील रहेछ भने विद्युतबाट चल्ने मोटरहरुका लागि बाटाबाटामा, विद्यालयहरुमा, विश्वविद्यालयहरुमा चार्जिङ् स्टेसन राखिएको छ, सित्तै चार्ज गर्न पाइन्छ । गाडीहरु पार्किङ्मा समस्या छ, शुल्क पनि लाग्छ तर विद्युतीय गाडीहरुलाई जहाँ पार्किङ् गरे पनि छुट छ, शुल्क लिइँदैन र चार्जिङ् गर्दा पनि शुल्क लाग्दैन । एउटा अनुमान के गरिएको रहेछ भने अब पाँच वर्षभित्रमा ओस्लोमा चल्ने गाडीहरु सबै विद्युतीय उर्जाले चल्नेछन् ।

११.करिब ३हजारजति नेपालीहरु नर्वेमा छरिएर बसेका रहेछन् । हालैमात्र गैर आवासीय नेपाली संघको निर्वाचन पनि भएको छ । नेपालीहरुले दर्ता गरेका संस्थाहरु पनि कार्यरत छन् । कतिपय नेपालीहरु उद्यमशील पनि छन् । धेरैजसो त त्यहाँ काम गरेर बसेका छन् । कति विद्यार्थीहरु उच्च शिक्षाका लागि गएका छन् । कति फर्किए त कति त्यहीँ आफ्नो क्षमता देखाएर बसेका पनि छन् । नेपालीहरु विश्व विद्यालयमा प्राध्यापन गर्नुहुन्छ, चिकित्सक हुनुहुन्छ, विद्यालयमा अध्यापन गर्नुहुन्छ कतिले सरकारी सेवामा काम गरिरहनु भएको छ त कति अन्य पेसा र उद्यम गरेर बस्नु भएको छ । झन्डै दुई दर्जनजति रेस्टुराँहरु खोलेर नेपालीहरुले सेवा गरिरहनु भएको पाइन्छ ।

१२.त्यहाँका विश्व प्रसिद्ध विश्वविद्यालयहरुमा नेपालीहरु पनि प्राध्यापन गर्नुहुन्छ भन्दा, कुनै पनि नेपालीलाई गर्व लाग्नु स्वाभाविकै हो । झन वातावरण वैज्ञानिकका रुपमा, विश्व विद्यालयको वरिष्ठ चिकित्सकका रुपमा सेवा दिनु हुने नेपालीहरु पनि त्यहाँ हुनुहुन्छ ।

१३.उहाँहरुमध्ये एकजना प्रतिष्ठित विद्वान, नेपाली आमाका सुपुत्र हुनुहुन्छ प्राध्यापक डाक्टर विशालकुमार सिटौला । उहाँले नर्वेको प्रतिष्ठित विश्व विद्यालय नर्वेजियन युनिभर्सिटी अब लाइफ साइन्स, ओसमा प्राध्यापन गर्नुहुन्छ । नर्वे जाने विद्यार्थीहरु तथा नेपालीहरुका लागि अभिभावकका रुपमा रहनु भएका मिलनसार तथा आध्यात्मिक व्यक्तित्वसँग मैले ओस्लोमा नै गरको कुराकानी यहाँ प्रस्तुत गरेको छु । हुन त उहाँ दक्षिण एसिया, एसियाका कतिपय राष्ट्रहरु, अफ्रिका र ल्याटिन अमेरिकामा वातावरण, द्वन्द्व व्यवस्थापन र कृषि विकासका लागि विज्ञका रुपमा काम गरिरहनु भएको छ । उहाँको एउटा भनाइ छ ब्रेन ड्रेनको बारेमा—नेपाली जहाँ भए पनि ब्रेनको प्रयोग गरिरहेको हुन्छ, ब्रेन सेयरिङ् महत्वपूर्ण कुरा हो । जहाँ रहे पनि मातृभूमिप्रतिको माया त आमाको माया जस्तै त हो ।

१४. र अन्त्यमा, हाम्रा नेपालका विभिन्न विधाका र प्रशासनिक व्यक्तित्वहरु पनि युरोप गएका सुन्छौँ । तर किन नेपालको अवस्था यस्तै भन्नेचाहिँ मेरो मनमा सधैँ लागिरह्यो, लागिरह्यो र अझै हामी किन पछि परेका हाँै भन्ने लागिरहेको छ ।

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७६ भाद्र २३, ०८: २८

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७६ भाद्र २३, ०८: २८

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७६ भाद्र २३, ०८: २८

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...