
१.यो पुसमा विभिन्न संयोग मिलेको छ अहिलेको संघीय सँसदमे प्रमुख दलको रुपमा रहेको नेपाली काँग्रेसका लागि । पुस १ गते काँग्रेसको सरकारसँगै संसद पनि विघटन गरेर प्रजातन्त्रको हत्या गरेका थिए राजा महेन्द्रले । त्यसको कटुस्मृति छ अझै । पुस ८ गते सँस्थापक नेता कृष्णप्रसाद भट्टराईको जन्मजयन्ती अनि त्यसैगरी मुलुक जोगाउन बीपी पनि २०३३ साल पुस १६मा नै आउनु भएको थियो भारत प्रवासबाट नेपाल ।
त्यसैले नेपालको राजनीतिक इतिहासमा पुस १६ गतेलाई राष्ट्रिय मेलमिलाप दिवसको रुपमा लिइन्छ पनि । हुन त यो दिन अर्थात् २०३३ साल पुस १६ गते नेपाली काँग्रेसका संस्थापक नेताहरु बीपी कोइराला र गणेशमानजीसहितका नेताहरु विनाशर्त भारत प्रवासबाट नेपालमा फर्कनु भएको थियो । नेपालको खस्कँदो राष्ट्रिय अस्तित्वलाई आधार बनाएर त्यस्तो निर्णय गरिएको थियो , त्यो निर्णय यति अचानक र संवेदनशील अवस्थामा भएको थियो कि यसलाई स्वीकार गर्न नेपाली काँग्रेसका थुप्रै अहिँसावादी नेताहरुलाई पनि लामो समय लागेको थियो ।
यो भर्भराउँदो पन्चायती राजनीतिमा गरिएको एउटा जोखिमको खेल थियो र यसका प्रणेता नेपाली काँग्रेसका अध्यक्ष बीपी कोइराला स्वयम् नै हुनुहुन्थ्यो । त्यो नीतिको सोलोढोलो परिणाम आउन्जेलसम्म बीपी रहनु त भएन तर उहाँको जुन भविष्यवाणीका आधारमा मेलमिलापको आधारभूमि खडाभएको मानिएको थियो, त्यसको मर्मलाई कुल्चिँदा नेपालको राजनीतिमा आमूल परिवर्तन अवश्यम्भावी भएको तथ्य आज अथ्र्याउन सकिन्छ ।
त्यसैको परिणामस्वरुप लोकतन्त्रको बहाली , पुनर्बहाली सम्भव भएको विश्लेषण गर्दा अत्युक्ति हुँदैन नेपाली राजनीतिमा । राजाको प्रजातन्त्र विरुद्धको अनवरत दृश्य अदृश्य लिँढे ढिपीले गणतन्त्र सम्भव भएको पनि माने अत्युक्ति हुने छैन ।
२.एउटा विरोधलाई कतैबाट पनि नसहने तर मुलुकमा शान्ति छ भन्ने शैलीको मुर्दा शान्तिले बास गरिरहेको बेलामा र राजाले गाउँ फर्क अभियानको नाममा पञ्चायतलाई स्टालिनशैलीमा एकदलीय स्वरुप दिई रहेको बेलामा बीपीले राष्ट्रिय मेलमिलापको नीति लिई नेपाल प्रवेश गर्ने राजनीतिक जोखिम उठाउनु भएको थियो ।
जोखिम यस अर्थमा कि मदन्मत्त पन्चहरुले राजालाई यसरी देवत्वकरण गर्दै थिए कि राजाको विरुद्ध जो जान्छ, त्यो फाँसीको हकदार हुने अवस्था थियो किनभने बीपीकै कतिपय अनुयायीहरु फाँसीको सजाय पर्खिरहेका थिए । बीपीकै लागि पनि पञ्चहरुले फाँसी दिनका लागि पञ्च¥याली गर्दै माग गरिरहेका थिए ।
३.नेपाल भन्ने सार्वभौमसत्तासम्पन्न स्वतन्त्र देश जब विदेशीहरुको खेल मैदान हुन थालेको बीपीलाई अनुभूत भयो, अनि बीपी र गणेशमानजीले नेपालभित्रै गएर राष्ट्रियता र प्रजातन्त्रलाई एउटै सिक्काका दुई पाटोका रुपमा अथ्र्याउने नयाँ राजनीतिक माहौल सृजना गर्ने अठोट गरेको पाइन्छ । राजनेताहरुले आफ्नो स्वनिर्वासन त्यागी स्वेच्छाले स्वदेश प्रवेश गर्दा पनि कहिलेकाहीँ त्यो निर्णय राजनीतिकरुपमा जनआन्दोलनमा रुपान्तरित हुँदोरहेछ र त्यसले शान्त समुद्रमा ज्वार भाटा आएपछि देखिने आधारभूत राजनीतिको धार नै परिवर्तन गर्दोरहेछ भन्ने कुराको आधार त्यस दिनलाई लिन सकिन्छ जुन दिनलाई बीपी कोइराला, गणेशमानजीले राष्ट्रभित्र नै मेलमिलाप गर्नका लागि राजनीतिको नयाँ रुप प्रस्तुत गर्नुभएको थियो ।
४.भारत, बेलायत, अमेरिका र चीनलाई रिझाउन उनीहरुका चासो सम्बोधन गर्न माहिर राजतन्त्रको घोषित तथा अघोषित नीति भए पनि पुस्ता पुस्ता राजा हुनका लागि नेपाल राज्य चाहिने अन्तर्य बुझ्नु भएका बीपीले बरु राष्ट्रियता जोगाउनका लागि राजासँग मिलेर भए पनि कमजोर राष्ट्रियतालाई सबल बनाउने रणनीति तय गरेको बुझ्न सकिन्छ तर प्रजातन्त्रविनाको राष्ट्रियता खोक्रो नारामात्र साबित हुने भएकोले न संघर्ष , न समर्पणको नीतिलाई अवलम्बन गरिएको थियो भन्दा राष्ट्रिय मेलमिलापको सही विश्लेषण हुन सक्छ ।
५.प्रजातन्त्रका लागि समर्पण कोहीसँग होइन तर नेपालको हितका लागि जो सँग पनि सहकार्य गर्ने नीति थियो , प्रजातन्त्रका लागि कोहीसँग पनि सम्झौता नगरी प्रजातन्त्र पुनर्बहाली गराएरै छोड्ने नीति थियो बीपीको । प्रजातन्त्र बलियो हुनका लागि मुलुक एकढिक्का हुनु जरुरी थियो राष्ट्रियताको प्रश्नमा । आज कालापानी क्षेत्रको खुलासाले बीपीको त्यो शङ्कालाई बल पुगेको छ ।
तर उल्टै त्यो सचेत राजनेतालार्इँ भारतीय दलाल र अराष्ट्रिय तत्व भनेर कोकोहोलो गरिएको थियो कक्षा को पुस्तकदेखि एम ए सम्मको पढाइमा । पन्चायत भन्ने विषयको पढाइ हुन्थ्यो जसको एउटै लक्ष्य थियो बहुदलीय व्यवस्थाका विरुद्धमा सचेतना । बीपीलाई यो सबै थाहा थियो र पनि उहाँले राष्ट्र जोगाउन कसैले त जोखिम मोल्नै पर्ने हुनाले इतिहासले आफूलाई प्रजातन्त्र स्थापना, प्रवद्र्धन र पुनस्र्थापनाका लागि खटाएको ठानेर प्रजातन्त्र स्थापनाका लागि सबैसँग मेलमिलाप गर्ने नीति लिएको देखिन्छ ।
६.यसमा लौहपुरुष गणेशमानजी, अथक शान्तियोद्धा कृष्णप्रसाद भट्टराईजी, क्रान्ति नायक गिरिजाप्रसाद कोइराला, अथक प्रजातन्त्रका सेनानी महेन्द्रनारायण निधिजस्ता नेताहरुको बीपीलाई सदैब साथ थियो ।
७.यसो हेर्दा संविधानको कार्यान्वयन र प्रजातान्त्रिक प्रणाली सबैको अखानोमा परेको बेला छ र आफूलाई प्रजातन्त्रको सम्वाहक मान्ने नेपाली काँग्रेस आफैँ आन्तरिक प्रजातन्त्रका लागि संघर्षरत छ , दलका विभिन्न गुट उपगुटहरुका बीचमा मेलमिलाप कुरेर स्वयं नेपाली काँग्रेस बसेको अवस्था छ ।
८.बीपी, गणेशमानजीसहितका थुप्रै नेताहरुलाई फाँसीसमेतको माँग गरी नेपालका अदालतहरुमा मुद्दा चलाइएको अवस्थामा एकाएक स्वेच्छाले नेपाल प्रवेश गर्ने नीति तयार गरी सम्पूर्ण काँग्रेसहरु बाघको खोरमा मृग पसेजस्तै गरी राजाको प्रत्यक्ष शासनमा ग्वारग्वारती पस्दा नेपालको राजनीतिमा एउटा सशक्त तरङ्ग उत्पन्न भएको थियो र पञ्चायतलाई नै आफ्नो कब्जामा लिएर राजाभन्दा पनि ठूला राजावादी भएका घुसपैठवादीहरुका लागि त्यो तिलस्मी नीतिको रुपमा अथ्र्याइएको थियो ।
९.हजारौँ युवा नेताहरुको सक्षम नेतृत्व सदैव उहाँको प्रजातन्त्र प्राप्तिका पक्षमा थियो । नेपाली जनताको जनपक्षीय धारको नेतृत्व बीपीको नाममा मात्र विश्वभर विश्वसनीयरुपमा यसकारणले पनि परिचित थियो कि उहाँलाई राजाले २०१७ सालमा विनाकारण सैनिक बलमा अपदस्त गरेका थिए । त्यसपछि कुनै पनि नागरिकलाई कुनै पनि दलमा स्वेच्छाले लागेकोमा अपराधी घोषणा गरिएको थियो । एकदलीय र निरङ्कुश शासनको यो परिचय नै हो लोकतन्त्रका विरुद्धमा सदैव । आज पनि कतिपय देशमा यो सुन्न र देख्न पाइन्छ ।
१०.राजनीति सरल रेखामा हिँड्दैन । समयले त्यसलाई परिमार्जन र परिष्कृत गरेकै हुन्छ । तर त्यसको माध्यम त नेता वा नेतृत्व नै हुन्छ ।
त्यस्तै समयले मागेको नेतृत्वका रुपमा बीपी र गणेशमानजीमार्फत मेल मिलाप गर्ने गरी सुरु भएको २०३३साल पुस १६ पछि नेपालको राजनीतिले गुणात्मक परिवर्तन आत्मसात ग¥यो ।
त्यसको पछिल्लो क्रमागत उपलब्धि भनेको संविधानसभा हो र उपलब्धि भनेको नयाँ संविधानअनुसारको नयाँ नेपाल नै हो जहाँ लोकतन्त्र, गणतन्त्र, संघीय स्वरुप र समावेशी चरित्रको शासकीय स्वरुप छ ।
११.र अन्त्यमा चर्चा गराैं, मेलमिलापको अहिलेको सन्दर्भमा । मुलुकमा गठबन्धनको नेतृत्व गर्ने नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको बहुमतको सरकार छ । र पनि सरकारको काम हेर्दा काम चलाउ जस्तै छ ।
कतिपय प्रश्नमा सरकार अनिर्णय र अपरिपक्वताले मुलुक अझै अनिर्णयको बन्दी कतिसम्म हुने हो , भन्न सकिँदैन । दण्डविहीनता मौलाएको छ । भ्रष्टाचार सदाचार भएको छ ।
दलहरुका बिचमा आपसी र दलीय विवाद आन्तरिक रुपमा कायम छन् । दलहरुका बिचमा नै मेलमिलाप आवश्यकता छ । त्यसैले दलहरु प्रति जनतामा नैराश्यता छ र पनि दलहरु नै लोकतन्त्रका वाहक र उपभोक्ता दुवै रहेको अवस्था छ । सवै दलहरु मिल्नु बाहेक कुनै अर्को विकल्प बाँकी छैन । बीपीले भन्नु भएको बेलामा जस्तो जटिल अवस्थामा मात्र देश छैन ।
मियो विनाको दाइँ भइरहेको अवस्था छ । दलहरुका बिचमा विश्वासको सङ्कट छ । कसैको पनि कसैसँग विश्वास छैन र पनि नेपाल भन्ने देशको अस्तित्व छँदैछ , रहिरहनु पर्छ पनि ।
दलहरु आपसमा मिलेर नेपालको भावी अवस्थाको खाका कोर्नु नै बीपीप्रतिको श्रद्धा हुनेछ र नेपाली राष्ट्रियता र प्रजातन्त्रमा कुनै खतरा आउने छैन ।
-हरिविनोद अधिकारी (नयाँ विकल्प साप्ताहिकबाट)
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...