सुशासनको साँचो प्रजातान्त्रिक संस्कारको विकास – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

सुशासनको साँचो प्रजातान्त्रिक संस्कारको विकास

१.हामी कस्तो राजनीतिक संस्कारको विकास गरिरहेका छौँ ? संविधानले एकथोक इंगित गरेको हुन्छ, त्यसलाई सही तरिकाले व्याख्या गर्न र कार्यान्वयन गर्नका आवश्यक पर्ने कानुनको व्यवस्थापन भएको हुँदैन र संविधानको मर्मलाई कता कता फालेर हामी सके त मौखिक आदेशले काम गरिरहेका हुन्छौँ या परिपत्रबाट प्रशासन चलाई रहेका हुन्छौँ । यसो हुनुमा को बढी जिम्मेवार हो ? सायद यही जिम्मेवारीको खोज तलास नै सुशाासनको पहिलो कदम हो ।

२.प्रजातन्त्रको पहिलो आवश्यकता नै शासनको विविधीकरण हो । शासनको विविधीकरणले जनताका आवश्यकताहरुको श्रेणी विभाजन गर्नेछ र प्रारम्भिक आवश्यकताको परिपूर्ति गर्नका लागि सम्पूर्ण शासनको ध्यान जानेछ ।

३.अहिले हामीसँग तीन तहको सरकार छ । तीन तहको सरकारका कामहरुको विभाजन संविधानले नै गरेको छ । कतिपय अधिकारहरुमा दोहोरो तेहेरोपन देखिन्छ । तर कर्तव्यमा भने त्यस्तो विविधीकृत अवस्था छैन । त्यसो हुनुमा सायद आर्थिक श्रोतको निश्चितता नभएर नै हो ।

४. प्रदेश सरकार र स्थानीय सरकारमा तत्कालै जनताका आवश्यकता पूरा गर्ने गरी अधिकार र कर्तव्य राखिएकोे पाइन्छ । अझ स्थानीय तह त जनताको घर अाँगनको सरकार भइहाल्यो । तर आम्दानीको निश्चित श्रोत किटान गर्न सकिएको अवस्था छैन । प्रदेश सरकारको अवस्था अत्यन्तै नाजुक देखिएको छ । केन्द्रीय सत्ताको छायाको रुपमा प्रमाणित भएको पाइन्छ ।

५. प्रदेश सरकारको बारेमा धेरै प्रश्न उठेका छन् । संघीय संरचनाको खासै आधारमा रहेको प्रदेश सरकारका बारेमा उठेका प्रश्नहरुका जबाफमा स्वयं प्रदेशले बोल्न सकेको छैन । बोल्न सकोस् पनि कसरी ? केन्द्रमा सत्ता परिवर्तन भइरहँदा प्रदेशमा स्वतः परिवर्तन भएका प्रमाणहरु छन् जवकि संविधानले प्रदेश सरकारलाई बेग्लै एकाइको रुपमा स्वीकार गरेको छ । सरकारको नयाँ एकाइ नै हो । सरकार बनाउने, सरकार हटाउने, मध्यावधि निर्वाचन गर्ने गराउने जिम्मेवारीका संवैधानिक आधारहरुले नै त्यसको स्वतन्त्र अस्तित्व देखाएको बुझ्न सकिन्छ तर आर्थिक आधार सुनिश्चित नहुँदा केन्द्रको मुख ताक्नु परेको यथार्थ बिर्सन सकिँदैन । त्यसैले पनि स्थानीय सरकार र केन्द्र सरकारको बिचमा अल्झनु परेकोले आफ्नो स्वतन्त्र अस्तित्व देखाउन सकेको छैन । त्यसले बनाउने कानुनहरुको प्रभावकारिताको पनि खासै लेखाजोखा भएको छैन जवकि अधिकारको अवस्था संघीय संसदहरुको अधिकार एकल सदनले नै मज्जाले प्रयोग गरेको पाइन्छ ।

६.जनताको आवश्यकता भनेको आधारभूत आवश्यकता पूरा हुनुपर्छ । भोकले मर्नु नपरोस्, ओखतीमुलोको कमीले पनि मर्नु नपरोस्, लुगाका कमीले जाडोमा मर्नु नपरोस्, आवासको कमीले आकाशको छानोमा सुत्नु नपरोस् । विद्यालय र शिक्षकको कमीले पढाइमा बाधा नपरोस् र सिकेका कुराहरुको प्रयोग गर्न आफैँले पाइयोस् भन्ने जनताको चाहना पूरा गर्ने , त्यसको अनुगमन गर्ने र परिपूरक व्यवस्था गर्ने पनि स्थानीय र प्रदेश सरकारले नै हो । तर सत्ताको केन्द्रीकरण , आर्थिक श्रोतको विविधीकरण नभई केन्द्रीकृत नै रहेको पाइन्छ ।

७. कृषि प्रधान देश भनेर भन्ने गथ्र्यौँ तर अरबौको खाद्यान्न बर्सेनि आयात गर्नुपर्ने अवस्था छ जवकि हजारौ रोपनी जग्गा बालीविहीन सुख्खा रहेका छन् । युवा जनशक्ति विदेश कामका लागि , पढ्नका लागि पलायन भएका छन् । साँच्चै नै मुलुक वृद्धहरुको र नाबालिगहरुको साझा निबास भएको भनिन थालेको छ । कृषिमा विकल्पसहितको विविधीकरण हुन सकेको छैन जवकि हजारौँ कृषि वैज्ञानिकहरु पनि विदेश पलायन भएका छन् या आफ्ना सिपअनुसारको काम पाएका छैनन् । लागेको थियो, प्रादेशिक र पालिकास्तरको सरकारले कृषिमा विकल्पसहितको उत्पादनमुखी व्यवस्था लागू गर्नेछ । सपना विपनामा परिणत हुन सकेन भन्दा दिक्क मान्नुपर्ने अवस्था छैन । मौसमी फलफूलको शीतभण्डारको उपयुक्त व्यवस्था गर्न नसक्दा केही दिनमा नै नेपालमा समाप्त हुने तर विदेशी आयातले झन महङ्गोमा बजार ओगट्ने गरेको छ , त्यसबारेमा चिन्ता कसले लिने जवकि जनता महङ्गीको मारमा पिल्सिएका छन् तर क्रयशक्ति बढ्न सक्ने अवस्था छैन । विदेशबाट पठाएको कमाइ त स्थायी समाधान होइन तर त्यसैको भरमा आम्दानी निश्चित गरेको पाइन्छ ।

८.खासमा जनताको खाना, नाना, छाना, ओखतीमुलो र शिक्षामा तीन तहकै सरकारको केन्द्रीय भावना रहनु पर्ने हो । सुरक्षाको कुरा त भन्नै परेन । सुरक्षाको आधार भनेको उपयुक्त सुरक्षा नीति हो जसको आधारमा अनुशासनसहितको प्रहरी र सेनाको आधार रहन्छ । प्रहरी र सेनाको घ्राण भनेको सुरक्षाका लागि गरिने चियोचर्चो हो । त्यसमा पनि अनुशासन देखिँदैन । सुशासनको कमीले होला, हाम्रो देशमा प्रहरी र सेनाको समेत कुशासनको चर्चा बाक्लै आउँछ । कहाँ कमी भएको हो, त्यसको सकारात्मक र विवेचनात्मक तरिकाले खोजी गरेर सुधार गर्नु आवश्यक छ ।

९. र अन्त्यमा, राज्यका तीन मुख्य अवयव व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा नै धेरै प्रश्न उठेका छन् । त्यहाँ सुधारको आवश्यकता छ । तर त्यसबारेमा ध्यान दिइएको पाइँदैन । ढिलो होला, सुशासनको चाहना राख्दाराख्दै दिन बित्ला । हाम्रो निष्क्रियता र कुशासनका कारणले मुलुक खतराको अवस्थामा पुगेको अनुभूति हुँदैछ । दोष कसैलाई दिनुभन्दा आफ्ना आफ्ना कर्तव्य र अधिकारको सदुपयोग गर्न सक्यौँ भने आफैँ सुधार सुरु हुनेछ । अनि सुशासनको थालनी आफैँ हुनेछ भन्ने भनाइ छ । त्यसका लागि संस्कारको विकास जरुरी छ । प्रजातान्त्रिक संस्कारको विकास जरुरी छ अनिमात्र सुशासनको चाहना पूरा हुनेछ । (नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

नेपाली कांग्रेसमा फुट भयो भने के सन्देश जानेछ ?
नेपाली कांग्रेसमा फुट भयो भने के सन्देश जानेछ ?
  • २०८१ माघ २८, १७: ०७

१. नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु भयो विशेष अधिवेशनबाट निर्वाचित समितिले यही असोज १६—१९मा गर्ने भनिएको नेपाली कांग्रेसको १५आँै महाधिवेशनको...

मीन विश्वकर्मासहित देउवा समूह छाडेर नयाँ समीकरणमा मिसिनुभएका कांग्रेस नेताहरुलाई खुलापत्र
मीन विश्वकर्मासहित देउवा समूह छाडेर नयाँ समीकरणमा मिसिनुभएका कांग्रेस नेताहरुलाई खुलापत्र
  • २०८१ माघ २८, १७: ०७

-शुकदेव दाहाल, नुवाकोट नेपाली कांग्रेसभित्र पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले एउटा गम्भीर प्रश्न जन्माएको छ—राजनीतिक समीकरण परिवर्तनसँगै नेताहरूले आफ्नो विगत...

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०८१ माघ २८, १७: ०७

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...