लोकपप गायनमा अब्बल अर्जुनको रोचक जीवनगाथा – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

लोकपप गायनमा अब्बल अर्जुनको रोचक जीवनगाथा

  • उत्तम कार्की

भिरको बाटोमा मोटर जाने भयो रे
गैरा गाउँकी कान्छी लाने भयो रे…।
……………………………………….
हिमचुलीमा घाम लाग्यो घमाइलो
आफ्नो गाउँ, आफ्नै ठाउँ लाग्छ नि रमाइलो…।

केही समयअघि सार्वजनिक भएका ‘भिरको बाटो’ र ‘मनकी रानी चौतारी–२’ एल्बममा समेटिएका यी बोलको निकै लोकप्रिय गीत लोभलाग्दो श्रव्यदृश्यसहित गाउँ–सहरमा घन्कियो भने केहीलाई त कौतुहलले सताउँछ– यो कर्णप्रिय आवाज कसको होला भनेर । तर, धेरैलाई हेक्का छ र आत्मीयता पनि । त्यसैले, जोकोहीले मुक्तकण्ठले प्रशंसा गर्छन्– गीतको शब्द, लय, स्वर, संगीत र अभिनय सबै उत्कृष्ट छन् । यतिमात्रै होइन– मायाप्रीति, मौलिक संस्कृति, भेषभूषा, भूगोल तथा राष्ट्रप्रेम आदि विविध विधाले भरिएका अन्य थुप्रै गीत छन्– उहाँको शब्द, लय, स्वर र संगीतमा सजिएका । कतै नेपाली सांगीतिक आकाशमा पृथक् शैलीको उज्यालो थप्नकै लागि उहाँको जन्म भएको त होइन भन्ने लाग्छ । कला अनि गलाका धनी उहाँलाई प्रतिभासम्पन्न भन्दा अत्युक्ति नहोला । नेपाली लोकपप गीतका प्रखर गायक तथा होनहार संगीतकार अर्जुन लोहागुन कौशलको संघर्षमय जीवनगाथा हो यो ।


उसो त भनिन्छ– जहाँ इच्छा, त्यहाँ उपाय । हुन पनि आफ्नो इच्छाअनुरूप सोच बनाएर अघि बढ्यो भने परिणामसमेत राम्रै निस्कन्छ । अर्जुनको हकमा यस्तै भयो । उहाँको बाल्यकालदेखिकै सोच, हाउभाउ र गतिविधिले समेत भावी दिनको पेशा निर्धारणको संकेत गरिसकेको हो । र त सोही बाटो पहिल्याएर अन्ततः जम्न सफल हुनुभयो । अर्जुनको जन्म विक्रम सम्वत् २०३६ चैत १ गते पश्चिम नेपालको पाल्पा जिल्लाको अर्गेली गाउँ पञ्चायत–३ (हाल तानसेन नगरपालिका–१४) मा अष्टमान विक र श्यामकलीका सुपुत्रको रूपमा भएको हो । गाउँको निम्नमवर्गीय परिवारमा जन्मनुभएका अर्जुनको बाल्यकाल निकै संघर्षमय रह्यो । त्यतिबेला परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण उहाँलाई गुल्मीको लिम्घास्थित मावलीघर पु¥याइयो । अर्जुनको आधारभूत बाल्यकाल त्यहाँ नै बित्यो । ‘हुने बिरूवाको चिल्लो पात’ भनेझैं सानैदेखि तीक्ष्ण बुद्धि र मिलनसार स्वभावका उहाँलाई त्यस्तै ४÷५ वर्षको उमेरमा नजिकैको श्री त्रिभुवन माध्यमिक विद्यालय भर्ना गरियो । त्यहाँ उहाँले प्राथमिक तहसम्मको अध्ययन गर्नुभयो । त्यसपछि भने घर नै फर्कनुभयो ।


अब भने अर्जुनको दैनिकीमा एकाएक परिवर्तन आयो, गाउँका कृष्ण काकाको साथ लागेर उहाँ भारतको दिल्ली जानुभयो । त्यहाँ पुगेर चिया पसलमा काम गर्दै पढ्दै गर्न थाल्नुभयो । यो क्रम तीन वर्षजति चल्यो । त्यसपछि मोटर ग्यारेजमा तीन वर्ष काम गर्नुभयो । त्यसो त अर्जुनको बुबाका पाँच दाजुभाइ– पुर्खबहादुर, सन्तबहादुर, अष्टमान, हरिलाल र लालबहादुर । उहाँहरूमध्ये अधिकांश दिल्लीमा नै । कोही होटल व्यवसाय गर्ने त कोही नोकरी । यस्तैमा एक दिन ठूलो बुबा र कान्छा काकाले भन्नुभयो– ‘अर्जुन हेर्, तँ यहाँ यसरी नबस्, बरु गाउँ जा उतै केही गर् ।’ त्यसपछि अर्जुन आज्ञाकारी भएर घर फर्कनुभयो । घर केही दिन बसेपश्चात् बुटवल पुग्नुभयो र आफूले जानेको सिप राजु मोटर वर्कशपमा काम थाल्नुभयो । तर, रोचक पक्ष कलाकार बन्ने उहाँको सानैदेखिको ‘हुटहुटी’ले भने छोडेको थिएन । ‘लिम्घा हुँदा खप्टीरुखा विद्यालयमा हरेक शुक्रवार दानबहादुर राना (हाल वडाध्यक्ष) र पदमपानी सरले साँस्कृतिक कार्यक्रम गर्ने–गराउने, प्रतिष्पर्धामा सहभागी पार्ने गर्नुहुन्थ्यो’ अर्जुन विगत स्मरण गर्नुहुन्छ– ‘गीतसंगीतको जग नै त्यसरी बसेपछि म झनै उत्साहित भएँ, विभिन्न प्रतियोगितामा भाग लिएर थुप्रै पुरस्कार जितेको छु मैले त्यतिबेलै ।’ यस अर्थमा त उहाँ बुटवलमा पनि वर्कशपको रोजगारीसँगै वागेश्वरी संगीतालयमा भर्ना भएर सुरेश सेञ्चुरीसँग संगीतको प्रशिक्षण लिन पुग्नुभयो । यसरी करिब दुई वर्ष बित्यो ।

प्रसंग २०५२–५४ को हो, सांगीतिक कोसेली पस्किने क्रममा बुटवल–काठमाडौं, काठमाडौं–बुटवल गर्दैमा अर्जुनको दुई वर्ष बित्यो । अनि ०५५÷५६ मा आयो– पहिलो एल्बम ‘आउने दसैंमा’ । त्यसपछि अर्जुनले क्रमशः ०५८ मा ‘चौतारी’, ०५९÷६० मा चौतारी भाग–२ ‘मनकी रानी’, ०६१ मा चौतारी भाग–३ ‘मायाको चिनो’, ०६२ मा चौतारी भाग–४ ‘मायाको चिनो’ र ०६३ मा चौतारी भाग–५ ‘म त कालीपारि’ ल्याउनुभयो । यहाँसम्म आइपुग्दा उहाँमा उत्साहमात्रै होइन– ऊर्जा नै थपियो । कारण गीतको सफलता नै हो । त्यसपछि ०६४ मा ‘भिरको बाटो’ अनि ०६५ मा ‘लाहुरे’, ‘लाहुरे–२’, ‘गोर्खाली पल्टन’ पस्किनुभयो । यी एल्बममा अर्जुनकै शब्द, स्वर र संगीतबद्ध ८÷८ वटा गीत समेटिएका छन् । अब त अर्जुनको गति झनै बढ्यो । यसैको प्रतिफल उहाँले ०६६ मा ‘मनै त हो’, ‘भिरको बाटो–२’, ०६७ मा ‘कहाँ छ्यौ कहाँ’, ०६८÷६९ मा ‘भूकम्प’, ‘भिरको बाटो–३’, ०७०÷७१ मा ‘घुमिघुमि नाचिदेऊ सोल्टिनी’, ०७३ मा ‘मस्तमगन’, ०७४ मा ‘आँखा लोभी मन पापी’ र ०७५ मा ‘डम्फु मादल’ गीत ल्याउनुभयो । बिडम्बना यही सेरोफेरोमा विश्व महामारीको रूप लिएको कोरोना भाइरसको विभिन्न स्वरूपको संक्रमण र बन्दाबन्दीका कारण जनचेतनामूलक गीतमा नै केन्द्रित रहन बाध्य हुनुप¥यो ।

हालसम्मको सांगीतिक यात्रामा अर्जुनले तीन सयभन्दा बढी गीतमा शब्द÷संगीत दिनु्भएको छ भने सयौं गीत गाउनुभएको छ । महोत्सवलगायत विभिन्न स्थानमा हुने लोकपप साँस्कृतिक कार्यक्रममा उहाँको उपस्थिति अनिवार्यजस्तै रहन्छ । आफ्नो मुख्य विधा लोकपप भए पनि अन्य लय र भाकाको गीत गाउन तथा संगीत भर्नसमेत उत्तिकै माहिर हुनुहुन्छ अर्जुन । ०५६ मा नै रेडियो नेपाल, प्रादेशिक प्रसारण कार्यालय पोखरामा ‘टेप लाइब्रेरीमा दर्ता भई कार्य सुरु गर्नुभएका उहाँ ०६९ मा रेडियो नेपालबाट गरिएको स्वर परीक्षणमा उत्कृष्ट ठहरिनुभएको छ । यतिमात्रै होइन– एकल आवाजमा सबैभन्दा बढी गीत रेकर्ड भएको भन्दै सन २०१८ फेब्रुअरीमा अर्जुनले ‘गिनिज वल्र्ड रेकर्ड’को प्रशंसा प्रमाणपत्र पनि पाउनुभएको छ । संगीत उद्योग संघको सदस्य, प्रस्तोता समाजको सदस्य, रोयल्टी संकलक समाजको सदस्य, लोकदोहोरी प्रतिष्ठान नेपालको आजीवन सदस्य अर्जुन यस अर्थमा त धेरैपटक अभिनन्दित, पुरस्कृत र अवार्डसहित सम्मानित हुनुभएको छ ।

मिर्गौला पीडित निर्मला रञ्जनको स्वास्थ्य उपचारको सहयोगार्थ विविध साँस्कृतिक कार्यक्रम–२०६८, दोभान उच्च माध्यमिक विद्यालय स्वर्ण महोत्सव–२०६८ पाल्पा, प्रथम गुल्मी महोत्सव–२०६८, भगत सर्वजित स्मृति प्रतिष्ठान–२०७०, रेडियो कपुरकोट सल्यान सातौं वार्षिकोत्सव–२०७४, कर्णाली साँस्कृतिक कार्यक्रम–२०७४, संयुक्त दलित संघर्ष समिति, धादिङ साँस्कृतिक कार्यक्रम–२०७३, मध्यपश्चिमाञ्चल क्षेत्रीय महोत्सव सुर्खेत–२०६७, पयर्टन, व्यापार तथा साँस्कृतिक खरिगैरा मेला, सुर्खेत–२०७५ यसैको उदाहरण हुन् । यसका अतिरिक्त ‘नेशनल पावर न्युज म्युजिक अवार्ड–२०१८’, ‘अमिन नेशनल म्युजिक अवार्ड–२०१९’, ‘रारा राष्ट्रिय म्युजिक अवार्ड–२०७९’, ‘पाँचौं राप्ती म्युजिक अवार्ड–२०७३’ आदि यसैको ज्वलन्त उदाहरण हुन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीले सन २०२० अक्टोवरमा आयोजना गरेको सातौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७५ मा निर्णायक, एपीवान टेलिभिजनले सन २०२० सेप्टेम्बरमा प्रसारित नेपाल आइडल सिजन–२ रियालिटी शोमा भैरहवा एडिसनको निर्णायक, सगरमाथा डान्स सेन्टरले सन २०२० सेप्टेम्बरमा आयोजित ‘राइज योर भ्वाइस सिंगिङ कम्पिटिशन’ लगायतको निर्णायक हुनुहन्छ अर्जुन । केही वर्षअघिबाट काठमाडौंको अनामनगरमा एस स्टुडियो प्रालि अन्तर्गत एस अडियो रेकर्डिङ स्टुडियो र रेम्बो म्युजिक पनि सञ्चालनमा ल्याउनुभएको छ अर्जुनले । यस अर्थमा पनि नेपाली कला र मनोरञ्जन जगत्को उत्थान, संरक्षण, सवद्र्धन, प्रवद्र्धन अनि विकासमा अर्जुनको अमूल्य योगदान रहेको छ ।

सम्बन्धित समाचार

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०८२ बैशाख २९, १५: ००

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...

सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहोराले प्रधानमन्त्रीलाई भेटे
सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहोराले प्रधानमन्त्रीलाई भेटे
  • २०८२ बैशाख २९, १५: ००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री निवास,...

तामाकोशी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
तामाकोशी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
  • २०८२ बैशाख २९, १५: ००

मन्थली : जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा...