काठमाडौं जिल्ला प्रदेशसभा क्षेत्रका बहुमत सभापतिहरू विशेष महाधिवेशनको पक्षमा खुले – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

काठमाडौं जिल्ला प्रदेशसभा क्षेत्रका बहुमत सभापतिहरू विशेष महाधिवेशनको पक्षमा खुले


काठमाडौं : नेपाली कांग्रेस काठमाडौं जिल्ला अन्तर्गतका प्रदेशसभा क्षेत्रीय सभापतिहरूले पार्टीको विशेष महाधिवेशनलाई समर्थन गर्दै एकमत देखाएका छन्। जिल्ला भित्रका बहुमत प्रदेशसभा क्षेत्रीय सभापतिहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको औपचारिक स्वागत गरेका हुन्।

विज्ञप्तिमा २०८२ भदौ २३ र २४ गते सम्पन्न ‘जेन्जी आन्दोलन’पछि मुलुक जटिल राजनीतिक अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि नेपाली कांग्रेसको विशेष महाधिवेशन अपरिहार्य बनेको दाबी गरिएको छ। पार्टीका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरका आधारमा विधानसम्मत रूपमा आह्वान गरिएको विशेष महाधिवेशनलाई आफूहरूले पूर्ण समर्थन गर्ने उनीहरूको भनाइ छ।

प्रदेशसभा क्षेत्रीय सभापतिहरूले नेपाली कांग्रेसले वर्तमान परिस्थितिमा वैचारिक स्पष्टता, संगठनात्मक एकता र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै समसामयिक राजनीतिक चुनौतीहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। विज्ञप्तिमा पार्टीलाई पुनः परिवर्तनशील, गतिशील र जनउत्तरदायी बनाउने अवसर विशेष महाधिवेशनले प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

‘सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूको सक्रिय र अर्थपूर्ण सहभागिताबाट मात्र पार्टीले स्पष्ट दिशा र नयाँ गति लिन सक्छ,’ विज्ञप्तिमा उल्लेख छ। विशेष महाधिवेशनमार्फत नेपाली कांग्रेसलाई वर्तमान संकटबाट बाहिर निकाल्दै लोकतान्त्रिक आन्दोलनको अग्रपंक्तिमा पुनः स्थापित गर्न सकिने उनीहरूको ठहर छ।

यसै सन्दर्भमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को दफा १७(२) अनुसार आगामी २०८२ पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनमा सहभागी हुन सबै महाधिवेशन प्रतिनिधिहरूलाई उनीहरूले आह्वान गरेका छन्।

संयुक्त विज्ञप्तिमा प्रदेशसभा क्षेत्र नं. १ख, २क, ४क, ४ख, ५क, ५ख, ६क, ७ख, ८ख, ९क र ९ख का सभापति तथा क्षेत्रीय उपसभापतिहरूको नाम उल्लेख गरिएको छ। विज्ञप्तिमा प्रह्लाद कार्की, ध्रुव केसी, विमल होडा, रामप्रसाद लुइँटेल, रमेश डंगोल, राज खड्का, ख्याम तिवारी, बासुदेव लामा, शिवकुमार खनाल, मोहनकुमार बस्नेत र राजेन्द्र भट्टराईलगायतका नेताहरूको हस्ताक्षर रहेको छ।

उनीहरूले पार्टीभित्र देखिएका मतभेदलाई संवाद र लोकतान्त्रिक प्रक्रियामार्फत समाधान गर्दै कांग्रेसलाई जनताको भरोसाको पार्टीका रूपमा पुनः स्थापित गर्न विशेष महाधिवेशन निर्णायक हुने विश्वास व्यक्त गरेका छन्।

यसैबीच, नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिले पनि विशेष महाधिवेशनलाई ऐतिहासिक र निर्णायक अवसरको रूपमा व्याख्या गर्दै समर्थन जनाएको छ। नगर कार्यसमिति नागार्जुन, काठमाडौंले ‘हार्दिक अपिल’ शीर्षकमा विज्ञप्ति जारी गर्दै पार्टीको संगठनात्मक सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र राष्ट्रको समग्र राजनीतिक दिशानिर्देशनमा कांग्रेसको भूमिका सशक्त बनाउने उद्देश्यले विशेष महाधिवेशन आयोजना गरिएको उल्लेख गरेको छ।

नागार्जुन नगर कार्यसमितिका अनुसार, विशेष महाधिवेशनले पार्टीभित्र विचार, नीति र नेतृत्वको पुनर्मूल्यांकन गर्दै समसामयिक राजनीतिक चुनौतीहरूको सामना गर्न सक्षम, समावेशी र जनउत्तरदायी कांग्रेस निर्माणको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ। देश, जनता र लोकतन्त्रप्रतिको जिम्मेवारीलाई अझ मजबुत बनाउने यो अवसरमा पार्टीका सबै तहका नेता–कार्यकर्ता, महाधिवेशन प्रतिनिधि र शुभेच्छुकहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको विज्ञप्तिमा उल्लेख छ।

नगर कार्यसमितिले नागार्जुन नगरपालिका भित्रका सबै तहका सम्माननीय नेता, क्रियाशील कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा जिम्मेवार, सक्रिय र गरिमामय रूपमा सहभागी हुन पुनः आह्वान गरेको छ। यस सहभागिताले पार्टीको एकता, अनुशासन र सशक्त भविष्य निर्माणमा निर्णायक योगदान पुग्ने विश्वास पनि व्यक्त गरिएको छ।

सम्बन्धित समाचार

प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
  • २०८२ पुष २६, ११: ४७

 काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०८२ पुष २६, ११: ४७

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...

कांग्रेसले टुंग्यायो विचिन्न जिल्लाको टिकट (सूचीसहित)
कांग्रेसले टुंग्यायो विचिन्न जिल्लाको टिकट (सूचीसहित)
  • २०८२ पुष २६, ११: ४७

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले ३२ क्षेत्रका लागि उम्मेदवारको...