निर्वाचनको अवस्थामा सुरक्षामा गर्नुपर्ने काम – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

निर्वाचनको अवस्थामा सुरक्षामा गर्नुपर्ने काम

१.निर्वाचनको अवस्थामा सुरक्षामा गर्नुपर्ने काम
२०८२साल भदौ २३र २४ गते भएका अप्रत्याशित घटनाहरुको परिणामस्वरुप भदौ २७गते गठित संसद बाहिरको पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रित्वमा गठित सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन मौजुदा प्रतिनिधि सभा विघटन गरी २०८२साल फागुन २१ गते नयाँ प्रतिनिधि सभाको निर्वाचनका लागि दिन तोकिएबमोजिम यही फागुनको २१गते निर्वाचनको सम्पूर्ण तयारी हुन थालेको देखिन्छ । यी हरफ लेख्दासम्म समानुपातिक तर्फको मतपत्र र प्रत्यक्षतर्फको मतपत्र छपाइ पूरा हुनै लागेको बताइएको छ र कतिपय जिल्लामा मतमत्र ढुवानीसमेत भएको बताइएको छ । सुरक्षाको प्रबन्ध चुस्त रहेको भनेर गृहमन्त्रालयले आश्वस्त पारिरहेको छ ।

नेपाल प्रहरी, सशस्त्त प्रहरी र अनुसन्धान विभागसमेतको नेतृत्व एकीकृत सुरक्षाको रुपमा नेपाली सेनाले गर्ने तर नेपाली सेना मतदान स्थलभन्दा अलिपर बसेर सुरक्षाको कबच दिने बताइएको छ जुन पहिले पनि यस्तै हुन्थ्यो । तर यसपटकको अचानक गर्नुपरेको आम निर्वाचनका लागि भने सुरक्षाको अलि बढी नै चिन्ता मतदाताहरुले लिएका छन् किनभने हजारौँ बन्दीहरु २४गते जेलबाट भागेर गएका छन् र कतिपय फर्केका पनि छैनन्, कतिपयलाई पक्राउ गर्न पनि सकिएको छैन । हतियार पनि चोरिएका छन् र तिनको प्रयोग निर्वाचन भाँड्न हुने हो कि भन्ने त्रास रहेको छ । सायद त्यसैलाई ध्यानमा राखी सुरक्षा प्रमुखहरुले आफ्ना खटिने सुरक्षाकर्मीहरुलाई सजग रहन र निर्वाचनमा सुरक्षा प्रदान गर्न कुनै कमी नहोस् भनेर अह्राएको बुझ्न सकिन्छ । भनिन्छ, यसपटक प्रहरीहरुमा अझै मनोबल वृद्धि हुन सकेको छैन तर उनीहरुले आफ्नो ज्यानको बाजी राखेर पनि प्रजातान्त्रिक प्रणालीलाई जीवित राख्न लागेको इतिहास छ र सेनाले पनि मुलुकमा देखापर्ने बेथितिलाई जसरी पनि समाधान गर्न लागेको इतिहास छ ।

त्यसैले मतदान अघि , मतदानका दिन र त्यसपछि हार जितको रापतापमा पनि सुरक्षाको प्रबन्ध बलियो आवश्यक पर्छ । नेपाल सरकार सुरक्षाको प्रत्याभूति दिइरहेको छ, गृहमन्त्रालयले सरकारको धारणाबमोजिम सुरक्षाको प्रबन्ध छ भनेर आश्वस्त पारिरहेको छ र पनि मतदाताहरुमा एउटा अव्यक्त भय देखिन्छ भन्ने राजनीतिक पर्यवेक्षकको धारणा छ । यसो हुनुमा यता केही दिनदेखि देखिने आपराधिक प्रवृत्तिमा भागेका अपराधीहरु बढी देखिएका छन् र कति त पक्राउ परे पनि कति बाहिर नै रहेकाले भयमिश्रित अवस्था रहेको हो ।

२. र अन्त्यमा, जनताको पनि मनोबल बढाउनु पर्छ र सामाजिक सञ्जालको उपद्रो रोक्नसक्नुपर्छ
प्रहरीको मात्र मनोबल बढाएर हुँदैन, जनताको पनि मनोबल बढाउन निर्वाचन निष्पक्ष हुन्छ, भयरहित हुन्छ र विना पक्षपात सम्पन्न हुन्छ भन्ने धारणा बनाउन सक्नुपर्छ । मतदाता निरीह हुन्छन् तर शक्तिशाली हुन्छन् किनभने उनीहरुको मतले कोही जित्ने, कोही हार्ने हुन्छ । अनि जसलाई जसरी पनि जित्नु छ,उसले गर्ने तिकडमलाई मनोवैज्ञानिक तरिकाले बुझ्न सक्नुपर्छ, अनिमात्र भयरहित निर्वाचन सम्पन्न हुनसक्छ ।

अहिले सामाजिक सञ्जालको दुरुपयोग अत्यधिक भएको छ । हुन त सामाजिक सञ्जाले निर्वाचनको अवस्था केलाउन पनि सकिन्छ तर झुठा समाचार र तथ्यजस्तै गरी दिइने समाचार, विचार र विश्लेषणको रापतापमा निर्वाचन बिथोलिन पनि सक्छ । यसबारेमा शतप्रतिशत नियन्त्रण हुन्छ भन्ने त हुँदैन तर हामीले गलत र ठिक थाहा पाएका छौँ भन्ने अनुगमनकर्ताहरुको विश्लेषण र आवश्यक परे कार्बाहीको समाचारले पनि गलत समाचारको बाढी नियन्त्रण गर्न सकिन्छ । भनिन्छ नयाँ पुस्तामा त्यो सिप छ जसले समाचार सत्य हो वा होइन भनेर तथ्य पत्ता लगाउन सक्छन्। सरकारले क्षमतावान युवाहरुको सहयोग लिएर भए पनि, विज्ञहरुको विज्ञताको असल प्रयोग गरेर भए पनि जनताका अधिकारको प्रयोगलाई प्रत्याभूत गर्नुपर्छ । मनोबल गिरेको जनता, दिग्भ्रमित दलहरु र गलत सूचना प्रबाह गर्न लुकेर प्रचार गर्नेसँग जनताको केही लाग्दैन अनि गलत सूचनाका आधारमा मतदान हुने या नहुने हुन्छ । त्यसैले मनोबल बढेको र सशक्त जनताले मात्र सही मतको प्रयोग गरेर सही मानिसलाई चुन्न सक्छ ।

सम्बन्धित समाचार

बुलेटबाट आएको माओवादी र ब्यालेटबाट आएको रास्वपामा फरक
बुलेटबाट आएको माओवादी र ब्यालेटबाट आएको रास्वपामा फरक
  • २०८२ फाल्गुन ४, १६: २१

यही फागुन २१ गते भएको आम निर्वाचनमा रास्वपालाई बहुमत मात्रै होइन दुइतिहाइ नजिक पु¥याउँदै छ । यद्यपी नेपालमा उग्रवामपन्थी कम्युनिष्टहरुलाई...

रास्वपा दुईतिहाइ नजिक पुग्दा बालेन प्रधानमन्त्री बन्दै
रास्वपा दुईतिहाइ नजिक पुग्दा बालेन प्रधानमन्त्री बन्दै
  • २०८२ फाल्गुन ४, १६: २१

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बन्न पुगेको...

शान्तिपूर्ण निर्वाचन, रास्वपालाई प्रचण्ड वहुमत र नयाँ सरकारबाट अपेक्षा
शान्तिपूर्ण निर्वाचन, रास्वपालाई प्रचण्ड वहुमत र नयाँ सरकारबाट अपेक्षा
  • २०८२ फाल्गुन ४, १६: २१

१. आम निर्वाचन २०८२ सम्पन्न भयो अप्रत्याशितरुपमा घोषित आम निर्वाचन २०८२ यही फागुन २१ गते शान्तिपूर्ण वातावरणमा एकैदिन सम्पन्न भएको...