बंगलादेशको चुनावी सन्देश – Naya Bikalpa
April 15, 2026, Wednesday      Epaper

बंगलादेशको चुनावी सन्देश

छिमेकी मित्रराष्ट्र बंगलादेशमा बिहीबार सम्पन्न निर्वाचन परिणामले दक्षिण एसियाली राजनीतिमा एउटा सन्देश दिएको छ । सन् २०२४ को चर्चित मनसुन क्रान्तिको झण्डै डेढ वर्षपछि भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री खालिदा जियाको दल बंगलादेश नेशनलिस्ट पाटी (बिएनपी) ले दुई–तिहाइ बहुमत पाएको छ । ३०० सिटका लागि भएको निर्वाचनमा बिएनपीले २१२ सिटमा जित हात पारेको छ । यो जितपछि पूर्व राष्टपति जियाउर रहमान र पूर्व प्रधानमन्त्री खालिदाजियाका छोरा तारिक रहमानलाई वंगलादेशको प्रधानमन्त्री हुने बाटो खुला भएको छ ।

यस पटकको निर्वाचनमा गत मनसुनी क्रान्तिको अगुवाई गरेका विद्यार्थी र युवाहरूको नेतृत्वमा बनेका नयाँ राजनीतिक दलहरू चुनावी मैदानमा नराम्ररी पराजित हुन पुगेका छन् । विद्यार्थी आन्दोलनको नेतृत्व गरेर केन्द्रबिन्दुमा रहेको नेशनल सिटिजन्स पार्टी (एनसीपी) ले ६ सिटमा चित्त बुझाउनु परेको छ ।

यसबाट के कुरा प्रष्ट भएको छ भने आन्दोलनको राप र तापले सत्ता परिवर्तन गरेता पनि जनमतले अन्ततः पुराना र स्थापित दलहरूलाई नै शासनको बागडोर सुम्पिएका छन् । वंगलादेशको यो चुनावी परिणामको परिदृश्यलाई दुई सातापछि हुने नेपालको निर्वाचनसंग जोडेर हेर्न सकिन्छ । अर्थात् नेपालको वर्तमान राजनीतिक अवस्था र नयाँ भनिएका शक्तिहरूका लागि वंगलादेशको निर्वाचन परिणाम एउटा पाठ बन्न सक्छ । त्यो भनेको सडकमा लहडका भरमा निस्केका प्रदर्शनकारीहरुको ताली पाउनु र मतपत्रमा प्रकट हुने मत फरक विषय हुन् । भावनाको आवेगमा गरिएको विद्रोह र सुझबुझपूर्ण राजनीतिमा निकै ठूलो अन्तर छ । नेपालको सन्दर्भमा हेर्दा विगत केही समयदेखि पुराना दलहरूप्रति निराशा र नयाँ शक्तिहरूप्रति आकर्षण बढेको देखिन्छ । पुराना दलकाप्रतिको निराशा अरु कुनै कारणबाट नभई तिनको कार्यशैलीका कारण हो । त्यसकारण ‘नयाँ’ हुनु मात्रै जनविश्वास जित्ने आधार पक्कै होइन । किनभने नेपालको सन्दर्भमा हेर्दा नयाँ दलहरूसँग न स्पष्ट विचारधारा छ, न तिनको देशव्यापी संगठन छ, न त शासन चलाउने परिपक्वता नै छ । जुन कुरा विगतका सरकारमा भएको तिनको प्रतिनिधित्वले नै पुष्टि गरिसकेको छ ।

त्यसकारण आम मतदाताले संकटको घडीमा मत दिने भनेकै चिनिएका र खारिएका पुराना शक्तिहरूलाई नै हो भन्ने उदाहरण वंगलादेशका मतदाताले देखाएका छन् । बंगलादेशमा विद्यार्थीहरूले ल्याएको परिवर्तन संस्थागत हुन नसक्नुका पछाडिको प्रमुख कारण भनेको उनीहरूको फितलो संगठन र अस्पष्ट विचारधारा नै हो । ठीक त्यसैगरी नेपालमा पनि नयाँ भनिएका दलहरूले सामाजिक सञ्जालको लोकप्रीयतालाई शक्तिको मापन गर्दै आएका छन् । जसले आम मतदाताका आधारभूत समस्या, आर्थिक सुधार र सुशासनको भरपर्दो मार्गचित्र दिन सकेका छैनन् ।

यस्तो अवस्थामा बंगलादेशको चुनावी नतिजाले स्थापित दलहरूलाई हिजोका कमिकमजोरी दोहोरिन नदिने र आगामी दिनमा सुध्रिएर अघि बढ्नुपर्छ भन्ने एउटा गतिलो सन्देश दिएको छ । त्यसलाई उनीहरुले गम्भीरतापूर्वक लिनैपर्छ ।

सम्बन्धित समाचार

भतभेद छाडेर मिल्नु नै अबको विकल्प
भतभेद छाडेर मिल्नु नै अबको विकल्प
  • २०८२ फाल्गुन ४, १६: २३

काठमाडौं । पछिल्लो समय विकसित आन्तरिक मतभेदका कारण नेपालको सबैभन्दा पुरानो र लोकतन्त्रको पर्यायवाची मानिने दल नेपाली कांग्रेसमा यतिबेला इतिहासकै...

नेपाली कांग्रेसको छवि जोगाउने प्रश्न र संविधान संशोधनको प्रयास
नेपाली कांग्रेसको छवि जोगाउने प्रश्न र संविधान संशोधनको प्रयास
  • २०८२ फाल्गुन ४, १६: २३

१. नेपाली कांग्रेसमा संसदीय दलको नेता नेपाली कांग्रेसको प्रतिनिधि सभामा २०७९सालको संख्यामा आधाभन्दा घटी सांसदहरु अहिले प्रतिनिधि सभामा छन् ।...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०८२ फाल्गुन ४, १६: २३

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...