अमेरिकामा नेपाली पुरुषद्वारा श्रीमती र छोरीको हत्या, प्रहरीको गोलीबाट उनी पनि मारिए – Naya Bikalpa
February 24, 2026, Tuesday      Epaper

अमेरिकामा नेपाली पुरुषद्वारा श्रीमती र छोरीको हत्या, प्रहरीको गोलीबाट उनी पनि मारिए

काठमाडौं : अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टी सोमबार बिहान एकाएक सन्नाटामा डुब्यो । मान्टुआ क्षेत्रको एउटा अपार्टमेन्टभित्र परिवारकै सदस्यबीच भएको हिंसात्मक आक्रमणले दुई महिलाको ज्यान लियो, एक पुरुष गम्भीर घाइते भए भने आक्रमणकारी प्रहरीको गोलीबाट मारिए ।

घटना बिहान करिब ५ बजेतिर पर्सिमोन ड्राइभस्थित मार्गेट म्यानर अपार्टमेन्टमा भएको हो । प्रहरीका अनुसार उदयपुरका ५० वर्षीय छत्रबहादुर थापाले आफ्नी ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापामाथि करिब १० इन्च लामो धारिलो हतियार प्रहार गरेका थिए । दुवैलाई अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भयो ।

त्यतिबेला घरबाहिर हिउँ पन्छाइरहेका ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार बस्नेतले घरभित्रबाट चिच्याहट सुने । उनी हतारिँदै भित्र पसे र त्यहाँ देखेको दृश्य उनका लागि जीवनकै सबैभन्दा भयावह क्षण बन्यो । श्रीमती रगतले लतपतिएको अवस्थामा ढलेकी थिइन्, ससुरा अझै सासूमाथि धारिलो हतियार प्रहार गरिरहेका थिए । ससुराले उनलाई पनि आक्रमण गरे । गम्भीर घाइते अवस्थामा रहेका बस्नेतको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

नजिकैका छिमेकीले ९११ मा फोन गरेपछि प्रहरी केही मिनेटमै घटनास्थल पुगेको थियो । फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसका अनुसार प्रहरी पुग्दा आक्रमणकारी ज्वाइँमाथि नै हतियार प्रहार गरिरहेका थिए । पटक–पटक हतियार भुइँमा राख्न चेतावनी दिइए पनि नमानेपछि प्रहरीले गोली चलायो । गोली लागेपछि थापालाई तत्काल सिपिआर दिइए पनि घटनास्थलमै मृत्यु भएको घोषणा गरिएको थियो ।

अपार्टमेन्टभित्र एक वर्षको शिशु पनि थिए । उनलाई कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ । हाल बाल संरक्षण सेवाको संरक्षणमा राखिएको र आफन्तसँग समन्वय भइरहेको बताइएको छ ।

विदेशी भूमिमा बसेको नेपाली समुदायलाई स्तब्ध बनाउने यो घटनाले परिवारभित्रको अदृश्य तनाव कति खतरनाक मोड लिन सक्छ भन्ने प्रश्न उठाएको छ । अहिले प्रहरीले घटनाको कारणबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

कांग्रेस महामन्त्री पौडेलको आह्वानः चुपचाप हैन गर्वका साथ रूखमा छाप
कांग्रेस महामन्त्री पौडेलको आह्वानः चुपचाप हैन गर्वका साथ रूखमा छाप
  • २०८२ फाल्गुन १२, १२: ४९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा निर्वाचन काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले बहस बिना नै...

रास्वपा छाडेका बागमती प्रदेश उपसभापति हुमागाईं कांग्रेसमा प्रवेश
रास्वपा छाडेका बागमती प्रदेश उपसभापति हुमागाईं कांग्रेसमा प्रवेश
  • २०८२ फाल्गुन १२, १२: ४९

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई...

सर्लाही–३ मा राष्ट्रिय मुक्तिका दाहालले लिए उम्मेद्वारी फिर्ता, कांग्रेसका खनाललाई समर्थन
सर्लाही–३ मा राष्ट्रिय मुक्तिका दाहालले लिए उम्मेद्वारी फिर्ता, कांग्रेसका खनाललाई समर्थन
  • २०८२ फाल्गुन १२, १२: ४९

सर्लाही । राष्ट्रिय मुक्ति पार्टी नेपालबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका महेशराज दाहालले उम्मेदवारी फिर्ता लिएका छन् । सर्लाही क्षेत्र...