
काठमाडौं : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफ्नो निवासमा भेटिएको भनिएको रकमसम्बन्धी सामाजिक सञ्जालमा फैलिएका भिडियोहरू ‘एआईबाट बनाइएको’ हुनसक्ने बताएका छन् ।
जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिँदै देउवाले उक्त सामग्रीप्रति आपत्ति जनाउँदै आफूमाथि नितान्त षड्यन्त्र गरिएको दाबी गरेका हुन् ।
जनआस्था साप्ताहिकको सौजन्यमा प्राप्त प्रतिवेदनमा देउवाले २०८२ भदौ २३ गते आफू बूढानीलकण्ठ–२, बासुकी मार्गस्थित आफ्नै निवासमा रहेको बताएका छन् । सोही साँझ बालुवाटार पुगेर सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेको र तत्कालीन प्रधानमन्त्रीले सो प्रतिबन्ध हटाएको उनले बताएका छन् । यद्यपि, उक्त दिन आफू कुनै औपचारिक बैठकमा सहभागी नभएको उनको भनाइ छ ।
भदौ २४ गते बिहान करिब १० बजे प्रदर्शनकारीहरू आफ्नै निवासमा भेला भई नाराबाजी गर्दा सुरक्षाकर्मीले रोक्ने प्रयास गरेको, त्यसक्रममा झडप भएको र केही जेनजी समूहका युवाहरूले आफूलाई जोगाएको देउवाले उल्लेख गरेका छन् । त्यसपछि राति करिब १० बजेतिर आफूहरू सुरक्षित स्थानमा पुगेको उनले बताएका छन् ।
निवासमा भेटिएको भनिएको रकमबारे नेपाल प्रहरीले वडा अध्यक्षको रोहबरमा मुचुल्का तयार पारेको भए पनि ठुलो परिमाणको रकम नभएको देउवाको दाबी छ । सामाजिक सञ्जालमा देखाइएका विवरणहरू भ्रामक रहेको र ‘एआईमार्फत तयार गरिएको’ हुनसक्ने उनको भनाइ छ । उक्त विषयमा आफूले कुनै प्रहरी कार्यालयमा उजुरी नगरेको समेत उनले बताएका छन् ।
देउवाले आफ्नो निवासमा भएको तोडफोड, आगजनी र लुटपाटबारे प्रहरी अनुसन्धान भइरहेको उल्लेख गर्दै कारबाहीबारे आफूलाई जानकारी नभएको बताएका छन् । साथै, २३–२४ भदौका घटनामा राजनीतिक हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै उनले प्रहरीको मूल्यांकनमा हस्तक्षेप नभएको जिकिर गरेका छन् ।
उनले लोकतन्त्रमा ट्रेड युनियन अधिकारलाई सम्मान गर्नुपर्ने, विद्यार्थी संगठनहरू पनि बृहत्तर हितमा सक्रिय हुनुपर्ने र गैर–राजनीतिक संस्थामा राजनीतिकीकरण हुन नहुने धारणा व्यक्त गरेका छन् । हिंसात्मक गतिविधिमा संलग्न जो–कोहीलाई कारबाही गर्नुपर्ने र युवाहरूको भावना समेट्दै नीतिगत तथा संस्थागत सुधार आवश्यक रहेको उनको भनाइ छ ।
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५...
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । राखेपको कार्यकारी समितिको मिति...
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।शुक्रबार मध्याह्न १२:३४...