अष्ट्रेलियामा नेपाली डायस्पोराले के गर्दैछन् ? : अवसर, चुनौती र मातृत्व प्रतिको कर्तव्यबोध ! – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

अष्ट्रेलियामा नेपाली डायस्पोराले के गर्दैछन् ? : अवसर, चुनौती र मातृत्व प्रतिको कर्तव्यबोध !

काठमाडौं : पछिल्लो एक दशकदेखि नेपाली युवा–युवतीहरूमा देखिएको विदेश मोहले उनीहरूलाई उच्च अध्ययनका अवसरहरू प्राप्त भए पनि डिग्री हासिल गरेपछि नेपाल फर्किने संख्या न्यून देखिन्छ। किनभने अमेरिका पछि विद्यार्थी युवाहरूको आकर्षण मुलुक अष्ट्रेलिया हुनुको प्रमुख कारण स्थायी बसोबासका लागि चाँडै पीआर प्राप्त हुने सम्भावना, दीर्घकालीन व्यापार–व्यवसायका लागि सुरक्षित गन्तव्य हुनु, र प्रभावशाली आप्रवासी समुदायको स्थापना हो भन्ने अध्ययनहरूले देखाएका छन्।

उच्च शिक्षाको उद्देश्यले अष्ट्रेलिया पुगेका नेपालीहरू अहिले रोजगार, व्यवसाय र दीर्घकालीन बसोबासतर्फ उन्मुख हुँदै सशक्त आर्थिक समुदायको रूपमा स्थापित हुँदै गएका छन्। साथै, उच्च शिक्षाका लागि गएका युवाहरूका परिवारलाई पनि सजिलै एक वर्षसम्मको भिसा अनुमति पाउनुले सामाजिक र सांस्कृतिक जीवनशैलीमा सहजता आएको छ। त्यसैले २०११ देखि २०२१ सम्म करिब १ लाख ३० हजार रहेको नेपाली समुदाय अहिले पाँच गुणा बढेको अनुमान गरिएको छ।

शिक्षित समुदाय भएकाले सूचना प्रविधि, स्वास्थ्य सेवा, इञ्जिनियरिङ, ठूला होटल व्यवस्थापन तथा प्रशासनिक क्षेत्रमा रोजगारीका अवसरहरू प्राप्त भएका छन्। यसले स्थायी रोजगारी र नियमित आम्दानीमार्फत उनीहरूलाई अष्ट्रेलियाली मध्यमवर्गीय जीवनशैलीतर्फ उन्मुख गराएको छ। आर्थिक रूपमा सशक्त बनेका नेपालीहरूले सामाजिक परिवेशलाई पनि अगाडि बढाइरहेका छन्। विश्वासिलो श्रमशक्ति प्रदान गरेका कारण शिक्षित नेपालीहरूले उच्च स्तरमा रोजगारीका अवसर पाएका छन्।

अधिकांश युवा नेपालीहरूले पूर्णकालीन काममा संलग्न हुने अवसर पाएका कारण आत्मनिर्भर र आर्थिक रूपमा सम्पन्न बनेका छन्। यसले गर्दा नेपाल फर्कने सम्भावना निकै कम भएको तथ्याङ्कले देखाउँछ। आर्थिक दृष्टिले हेर्दा, नेपाली डायस्पोराले अष्ट्रेलियामा घरजग्गा र वित्तीय क्षेत्रमा ठूलो मात्रामा लगानी बढाएका छन्। तर नेपालमै लगानी गर्ने चासो रहँदै आए पनि प्रशासनिक जटिलता, नीतिगत अस्थिरता र कानुनी प्रक्रियाले उनीहरूको उत्साहमा अवरोध पुर्‍याएको छ।

मातृभूमिसँग भावनात्मक र सांस्कृतिक रूपमा जोडिएका नेपालीहरूले नेपालमा दैवी प्रकोप वा आपतकालीन अवस्थामा सहयोग रकम पठाउने, सांस्कृतिक गतिविधिमा सहभागी हुने, लामो छुट्टी मिलाएर नेपाल फर्कने, र गाउँ–गाउँमा समाजसेवाका काम गर्ने परम्परा कायम राखेका छन्।

त्यसैले, यदि दोहोरो नागरिकता सम्बन्धी नीति अवलम्बन गर्न सकियो भने नेपाली डायस्पोरा र नेपालबीचको सम्बन्ध अझ बलियो बन्ने सम्भावना छ। नीतिगत सुधारहरू प्रभावकारी रूपमा कार्यान्वयन भएमा यो समुदायले नेपालमा लगानी, ज्ञान हस्तान्तरण र दीर्घकालीन आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ।

यसरी हेर्दा, अष्ट्रेलियामा रहेका नेपाली डायस्पोरा केवल आप्रवासी समुदाय मात्र नभई नेपाल र अष्ट्रेलियाबीचको आर्थिक, सामाजिक र मातृभूमिप्रतिको कर्तव्य पूरा गराउने पुलको रूपमा स्थापित हुँदै गएका छन्। वास्तवमा, विदेशिएका नेपालीहरू “सधैं नेपाली” भन्ने नारामा मात्र सीमित नभई भरपर्दाे र विश्वासिलो आत्मीय सम्बन्ध वृद्धि गरिरहेका छन् भन्ने अध्ययनले पुष्टि गरेको छ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०८३ जेष्ठ ८, १५: ०२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०८३ जेष्ठ ८, १५: ०२

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०८३ जेष्ठ ८, १५: ०२

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...