
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील अद्यावधिकको अन्तिम घडीमा आइपुग्दा वर्तमान संस्थापन इतर पक्षका नेता डा. प्रकाश शरण महतले पार्टीभित्र बढ्दो मतभेद र अन्योल अन्त्य गर्दै बृहत्तर एकता कायम गर्न तीन महत्वपूर्ण प्रस्ताव अघि सारेका छन्। उनले १५औं महाधिवेशनको निष्पक्षता सुनिश्चित गर्ने, क्रियाशील सदस्यता व्यवस्थापनमा सहमति जुटाउने र विधान संशोधनका विषयमा साझा धारणा बनाउने गरी सहमतिमा आधारित संयन्त्र गठन गर्नुपर्ने बताएका छन्।
बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. महतले पार्टीभित्र देखिएको अविश्वासको वातावरण अन्त्य गर्न १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति र गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट बनेको कार्यसमितिबीच समन्वय आवश्यक रहेको बताए। उनका अनुसार दुवै पक्षको सहभागितामा छोटो अवधिका लागि साझा संयन्त्र निर्माण गर्न सके पार्टीभित्रको अन्योल अन्त्य हुने र आगामी महाधिवेशनप्रति विश्वास बढ्नेछ।
महतले आफू पार्टीको बृहत्तर एकताको पक्षमा रहेको स्पष्ट पार्दै त्यसका लागि सभापति गगन थापाले अग्रसरता लिनुपर्ने बताए। बाहिरी भेटघाट र अनौपचारिक संवादले मात्र एकताको वातावरण निर्माण नहुने भन्दै उनले दुवै पक्ष तत्काल एउटै टेबलमा बसेर गम्भीर छलफल सुरु गर्नुपर्नेमा जोड दिए।
“हामी कुनै पदको भागबण्डा खोजिरहेका छैनौँ। हाम्रो चासो १५औं महाधिवेशन निष्पक्ष, पारदर्शी र सबैको स्वामित्व हुने वातावरण निर्माणमा केन्द्रित छ,” उनले भने।
महतले पार्टीभित्र तत्काल समाधान खोज्न तीनवटा विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। पहिलो विषयका रूपमा उनले १५औँ महाधिवेशनको निष्पक्षता, पारदर्शिता, सहभागिता र स्वामित्व सुनिश्चित गर्नुपर्ने बताए। महाधिवेशन निष्पक्ष हुने घोषणा मात्र पर्याप्त नहुने भन्दै त्यसप्रति नेता–कार्यकर्तामा विश्वास जगाउने वातावरण निर्माण आवश्यक रहेको उनको भनाइ थियो।
उनले दुवै पक्षबीच केही दिनभित्रै समझदारी कायम गरी महाधिवेशनको सम्पूर्ण प्रक्रिया सहमतिका आधारमा अघि बढाउन साझा संयन्त्र गठन गर्नुपर्ने प्रस्ताव राखे। यस्तो संयन्त्रले महाधिवेशनप्रति देखिएका आशंका र अविश्वास हटाउन मद्दत गर्ने उनको विश्वास छ।
दोस्रो प्रस्तावका रूपमा महतले क्रियाशील सदस्यता व्यवस्थापनको विषय उठाए। गत पुससम्म वितरण तथा नवीकरण भएका सदस्यताको अद्यावधिक प्रक्रियामा सबै पक्षको समान सहभागिता हुन नसकेको उल्लेख गर्दै उनले यस विषयलाई संवादमार्फत टुंग्याउनुपर्ने बताए।
उनका अनुसार मृत्यु भएका, अन्य दलमा प्रवेश गरेका वा विभिन्न कारणले सक्रिय नरहेका सदस्यहरूको विवरण जिल्लाबाट संकलन गरी केन्द्रले डिजिटल प्रणालीमार्फत अद्यावधिक गर्न सक्छ। तर लामो समयदेखि पार्टीमा सक्रिय रहे पनि अद्यावधिक प्रक्रियामा सहभागी हुन नसकेका कार्यकर्तालाई महाधिवेशनबाट वञ्चित गरिनु उचित नहुने उनको धारणा थियो।
“क्रियाशील सदस्यता अद्यावधिकको विपक्षमा हामी छैनौं, तर अद्यावधिक गर्न नसकेको आधारमा वर्षौंदेखि पार्टीमा योगदान दिएका व्यक्तिहरूलाई महाधिवेशनमा सहभागी हुन नदिने अवस्था सिर्जना हुनु हुँदैन,” उनले भने।
तेस्रो विषयका रूपमा उनले पार्टी विधान संशोधनलाई अघि सारे। विधान संशोधन जस्तो संवेदनशील विषयमा पनि एकपक्षीय निर्णय नभई दुवै पक्षबीच पर्याप्त छलफल र सहमतिका आधारमा अघि बढ्नुपर्ने उनको जोड थियो।
महतले यी तीनवटै विषयमा निकास निकाल्न १४औं महाधिवेशन र विशेष महाधिवेशनबाट बनेका संरचनालाई समायोजन गर्ने वा सीमित आकारको साझा संयन्त्र गठन गर्ने विकल्प अघि सारे। उनका अनुसार यस्तो संयन्त्रले पार्टीभित्र विश्वासको वातावरण निर्माण गर्नुका साथै निष्पक्ष महाधिवेशनका लागि आवश्यक आधार तयार गर्नेछ।
उनले पार्टीभित्रको मतभेद लम्बिँदा नेता तथा कार्यकर्तामा निराशा बढेको र कतिपयले पार्टी छाड्ने अवस्थासमेत सिर्जना भएको बताए। त्यसैले तत्काल बृहत् एकताको प्रयास आवश्यक रहेको उनको भनाइ थियो।
महतले पार्टीका उपसभापति विश्वप्रकाश शर्माले आफूलाई केही प्रस्तावहरू ह्वाट्सएपमार्फत पठाएको जानकारी दिँदै कांग्रेसलाई कमजोर बनाउने, विभाजन गर्ने वा अलग धारमा लैजाने कुनै उद्देश्य आफूहरूको नभएको स्पष्ट पारे।
उनले पार्टीको शक्ति जोगाउन र आगामी महाधिवेशनलाई सर्वस्वीकार्य बनाउन सबै पक्षबीच संवाद, सहमति र सहकार्यको वातावरण निर्माण गर्नु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गरे। महतको भनाइले कांग्रेसभित्र पछिल्लो समय चर्किएको आन्तरिक विवाद समाधानका लागि साझा संयन्त्रमार्फत अघि बढ्नुपर्ने बहसलाई थप बल दिएको छ।
काठमाडौं : उच्च अदालत पाटनमा व्यवसायी दीपक भट्टसहित चार जना व्यवसायीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले...
काठमाडौँ : प्रतिनिधि सभाको आजको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत...
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले आज पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल...