कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत – Naya Bikalpa
August 15, 2026, Saturday      Epaper

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा जारी बैठकले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ। बैठकले लोकतान्त्रिक आन्दोलन र कांग्रेसको इतिहास निर्माणमा देउवाले खेलेको भूमिकाको सम्मान गर्दै पार्टीमा भएको वैधानिक परिवर्तनलाई संस्थागत गर्न अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

बैठकले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको मध्यरातमा भएको गिरफ्तारी, पत्रिकाको कार्यालयमा गरिएको खानतलासी तथा अदालतमा उपस्थित गराउँदा हत्कडी लगाइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। कांग्रेसले कानुनविपरीत कार्य भए अनुसन्धान र कारबाही हुन सक्ने भए पनि संवैधानिक विधि र स्थापित प्रक्रियालाई पन्छाएर पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको कार्यालयमा खानतलासी गर्ने तथा हत्कडी लगाउने कार्य गलत र अवाञ्छित भएको जनाएको छ।

कांग्रेसले उक्त घटनालाई स्वतन्त्र प्रेसमाथि मनोवैज्ञानिक त्रास सिर्जना गर्ने र नागरिकको सुसूचित हुने मौलिक अधिकारलाई कुण्ठित गर्ने प्रयासका रूपमा लिएको जनाएको छ। राज्य संयन्त्रले पूर्वाग्रह वा प्रतिशोधका आधारमा व्यवहार गर्नु स्वीकार्य नहुने पार्टीको भनाइ छ।

त्यस्तै, बैठकले सार्वजनिक लेखा समितिमा सत्तारुढ दलका सांसदहरूले देखाएको भनिएको अमर्यादित तथा असंसदीय व्यवहारप्रति असहमति जनाएको छ। संसद् र संसदीय समितिलाई लोकतन्त्रका महत्वपूर्ण संस्थाका रूपमा उल्लेख गर्दै कांग्रेसले जनप्रतिनिधिले प्रयोग गर्ने भाषा, शैली र व्यवहार अनुशासित, शिष्ट र मर्यादित हुनुपर्नेमा जोड दिएको छ।

कांग्रेसले आफ्ना सांसदहरूलाई पनि संसदीय मर्यादा कायम राख्दै सुशासन, पारदर्शिता, जनजीविका र नागरिक अधिकारका विषयमा तथ्यमा आधारित भएर जिम्मेवार रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ। राजनीतिक संरक्षणका आधारमा उन्मुक्ति दिने तथा पूर्वाग्रहका आधारमा चरित्रहत्या गर्ने दुवै प्रवृत्ति लोकतान्त्रिक मूल्यविपरीत रहेको पार्टीको निष्कर्ष छ।

यसैबीच, रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबाडामा अविरल वर्षापछि गएको पहिरोमा परी सात जनाको मृत्यु भएको घटनाप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ। बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपद्मा परेका परिवारलाई उचित राहत तथा पुनर्वासको व्यवस्था गर्न, घाइतेको उपचार गर्न र बेपत्ताको खोजी कार्य तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ।

बैठकमा आज १८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्। छलफल जारी रहेकाले केन्द्रीय कार्यसमितिको अर्को बैठक २०८३ श्रावण २९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

May be an image of text

May be an image of text

सम्बन्धित समाचार

दूतावासमा मनाइयो भारतको ८०औं स्वतन्त्रता दिवस
दूतावासमा मनाइयो भारतको ८०औं स्वतन्त्रता दिवस
  • २०८३ श्रावण २८, १९: २०

काठमाडौं : काठमाडौंस्थित भारतीय राजदूतावासले शनिबार भारतको ८०औं स्वतन्त्रता दिवस मनाएको छ। लैनचौरस्थित दूतावास परिसरमा विभिन्न कार्यक्रमको आयोजना गरी स्वतन्त्रता...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ श्रावण २८, १९: २०

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ श्रावण २८, १९: २०

काठमाडौं : हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर...